Sajhamanch Archive

नगरबासीको घर घरमा मेची उद्योग बाणिज्य संघको खाद्य वस्तु र हरियो सागसब्जी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न असहज परिस्थितिमा सर्वसाधारणको दैनिकी सहज बनाउन मेची उद्योग बाणिज्य संघ मेचीनगरले हरेक दिन अत्यावश्यक खाद्य वस्तु र हरियो सागसब्जी नगरबासीको घर घरमा पुर्याउन थालेको छ ।

उपभोक्ताहरुलाई खाद्यन्नको अभाव नहोस् र विचौलियाबाट ठगिनु नपरोस् भन्ने उद्देश्यले लकडाउन शुरु भएदेखि नै सुलभ मूल्यमा छिटो छरितो ढंगले सामग्री उपलब्ध गराउदैं आएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिँदै आएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ’ अध्यक्ष तिम्सिनाले भने ‘यस्तो अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यन्न तथा सागसब्जी आपूर्ति एवम् ढुवानी कार्यमा आम उपभोक्ताहरुको सहजताका लागि दैनिकजसो हामी बिहान, दिउँसो साँझ प्रत्येक टोलमा पुग्ने गरेका छौ ।’

संघले सञ्चालन गरेको यस्तो कार्यक्रममा सहजीकरण गर्न तथा समन्वयका लागि नगरका विभिन्न वडाहरुमा जिम्मेवार पदाधिकारीहरुलाई सम्पर्क व्यक्तिकारुपमा तोकेको उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए । क्षेत्रीका अनुसार नगरको वडा नम्बर १ देखि ४ सम्म संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, सचिव रविचन्द्र नेपाल र कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेलाई सम्पर्क व्यक्तिका रुपमा निर्णय गरी जिम्मेवार प्रदान गरेको छ ।

यसैगरी, वडानम्बर ५ र ६ मा महिला उपाध्यक्ष बिना तामाङ, कार्यकारिणी सदस्य अञ्जु थापा, विपेन्द्र लामा, उषा नेपाली श्रेष्ठ, टोलबहादुर सुनुवार र गणेश मैनालीलाई जिम्मेवारी प्रदान गरिएको सचिव रविचन्द्र नेपालले बताए । कार्यकारिणी सदस्यहरु भूमि पौडेल र संदिप ओलीलाई ७, ८ र १५ नम्बर वडामा, कार्यकारिणी सदस्यहरु राजुकुमार पोद्घार, झुनादेवी बानियाँलाई नगरको वडानम्बर ९ मा सहजीकरण एवम् समन्वयका लागि सम्पर्क व्यक्तिकारुपमा पठाएको सचिव नेपालले जानकारी दिए ।

संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिल, वाणिज्य उपाध्यक्ष कल्याण खड्का र महासचिव ध्रुब कनालले वडानम्बर १० र ११ मा र वडानम्बर १२ र १३ मा कार्यकारिणी सदस्य धनबहादुर तामाङ तथा वडानम्बर १४ मा कार्यकारिणी सदस्य उमेश सुवेदी तथा संघका सहायक निर्देशक गणेश गिरीले जिम्मेवारी प्राप्त गरेका छन् ।

लकडाउनका कारण अहिले पसलहरु बन्द छन् । यस्तो अवस्थामा उपभोक्ताहरुले खोजेका मालवस्तु नपाउने भएकाले यो समस्याबाट हरेक उपभोक्ता मुक्त हुन् भन्ने चाहना संघको रहेको सचिव नेपालको भनाई छ । लकडाउनको फाइदा उठाएर व्यापारीले कृतिम अभाव देखाएर उपभोक्ता ठग्न खोज्ने प्रयास गर्छन् । त्यसतर्फ पनि संघ चनाखो रहेको छ भने छड्के अनुगमनलाई समेत मेचीनगर नगरपालिकाको नगरस्तरीय बजार अनुगमन समितिसँग समन्वय गरी अनुगमनलाई तीव्रता दिने गरेको छ ।

सचिव नेपाल भन्छन् ‘कुनै पनि उपभोक्ता विचौलियाको फन्दामा पर्नु नपरोस्, सस्तो र सुलभ मूल्यमा आफूले खोजेको खाद्यवस्तु उपभोक्तालाई घर घरमा उपलब्ध गराउनु संघको दायित्व पनि हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *