Sajhamanch Archive

झापाका नगर प्रमुख–उपप्रमुखहरुले जुटाए कोरोनासँग लड्ने साझा सहमति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by .

काँकरभिट्टा । झापाका आठवटा नगरपालिकाका नगरप्रमुखहरुले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड—१९ अर्थात् नोवल कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट उत्पन्न परिस्थितिका बारेमा एकताबद्घरुपमा अघि बढ्ने गरी १४ बुँदै साझा सहमति गरेका छन् ।

आज मेचीनगर नगरपालिकाको संयोजनमा नगरपालिकामा भएको भेलाले नेपाल सरकारबाट २०७६ साल चैत ११ गतेदेखि लकडाउनको घोषणा भई कार्यान्वयनमा रहेको अवस्थामा कोरोना भाइरसको सम्भाव्य संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न आ–आफ्ना नगरपालिकाको अवस्था समीक्षा गरी सकेसम्म एकरुपता हुनेगरी कार्यान्वयन गर्न सहमति गरेका छन् ।

नगर प्रमुखहरुले लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न तथा सागसब्जी पसल खोल्ने समय तालिका अझ व्यावहारिक बनाउने, सबै पालिकाभित्र खाद्यान्न अभाव हुन नदिन नगरपालिकाभित्र रहेको खाद्य उद्योग सञ्चालनको लागि मापदण्ड तयार गरी उद्योग सञ्चालनका लागि सहजीकरण गर्ने निश्कर्ष निकालेका छन् । यसरी नै लामो समयसम्म लकडाउन जारी रहेमा खाद्य संकट सिर्जना हुनसक्ने भएकोतर्फ सचेत रही खाद्यन्न बालीको लागि इन्धन, मल र विऊको व्यवस्थापन गर्न तथा नगदे बाली चिया बगान र उद्योग सञ्चालनको मापदण्ड तयार गरी सञ्चालन गर्न सहजीकरण र समन्वय गरिनेछ । कृषकहरुलाई आवश्यकताअनुसार कृषि मल उपलब्ध गराउन साल्ट ट्रेडिङ्ग र नेशनल ट्रेडिङ्ग लिमिटेडसँग समन्वय गरी मागको आधारमा आपूर्ति व्यवस्था मिलाउने र सोको व्यवस्थापनको लागि १ नं. प्रदेश सरकारलाई अनुरोध गर्ने साझा सहमति भएको छ ।

यसैगरी, स्वास्थ्यकर्मीको लागि पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री खरिद व्यवस्था गर्न कठिनाइ भइरहेकोमा व्यवस्थापनको लागि प्रदेश तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने, आरटिडी तथा पीसीआरको समेत पर्याप्त व्यवस्थापन गर्न सहयोगको लागि सबैले सम्बद्ध निकायमा सामुहिकरुपमा पहल गर्ने, आपतकालीन राहत वितरणको कार्यलाई व्यवस्थापन गर्न एकद्वार वितरण प्रणाली अपनाउने, गाउँवस्तीसम्म अत्यावश्यक खाद्य सामग्री बिक्री वितरण गर्न निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने निश्कर्ष निकालिएको छ । भेलाले आपतकालीन अवस्थामा खाद्य सामग्री वडा तथा टोलबस्तीमा स्थानीय स्तरमै व्यवस्थापन गर्न वडासमिति र टोल विकास संस्थाहरुलाई प्रेरित गर्ने, काठमाडौ लगायत देशका विभिन्न स्थानबाट आफ्ना नगरबासीको उद्घार गरी आआफ्ना पालिकामा ल्याउने सम्बन्धमा आगामी २०७७ वैशाख १६ गते बिर्तामोड नगरपालिकामा बस्ने बैठकमा निर्णय गरिने उल्लेख छ ।

दमक, काँकरभिट्टा लगायतका झापा प्रवेश गर्ने नाकाबाट आउने सम्भाव्य संक्रमित सवारी साधन र मानिसहरुको प्रवेशमा सम्बद्ध पालिकाले उच्च सतर्कता अपनाउने, कोरोनाभाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रणको काममा पालिकाहरुबाट सम्पादन भइरहेको कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भाव्य संक्रमण रोकथाम तथा नियन्त्रणको काममा संलग्न सुरक्षकर्मी तथा सञ्चारकर्मीको आवश्यक सुरक्षा सामग्री व्यवस्थापन हुन १ नम्बर प्रदेश सरकार र नेपाल सरकार समक्ष अनुरोध गर्ने र झापा जिल्लाभरिका स्थानीय तहहरुबीच हालको कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रणको कार्यमा प्रभावकारी तवरले एकरुपता कायम हुनेगरी व्यवस्थापन गर्न पारस्परिक सहकार्य र समन्वयको कार्यलाई निरन्तरता दिने नगर प्रमुखहरुको भेलाले निर्णय गरेको छ ।

भेलामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिकका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *