कोभिड–१९ प्रलय जत्तिकै भयावह छ
Published: (Updated: )
by .मौन बसेको निकै भएछ। केही लेखौं बोलौं जस्तो लाग्यो । अहिले विज्ञ र विश्लेशकहरूको मात्र बोली बिक्ने समय छ। हाम्रा होचा आवाजहरू कसले सुन्ला र ? तर पनि चन्चलता रोक्न सकिन।
कोभिड–१९ को महामारी चलिरहेछ। दुनियाँमा सत्ता र ब्यापारका दाउपेचहरू सक्रिय छन् । घरमा, शहरमा आगो लाग्दा पनि मुरली बजाएर बस्ने ‘निरोहरू’ मरिसकेका छैनन् । अहिले पनि बजाइरहेछन् । दूर्योधन, दुशासन, रावण र कंशहरू मार्दैमा शोषण, भ्रष्टचार र अत्याचारको अन्त्य भएको छैन । अहिले पनि भइरहेको छ । यो आसुरी, दानवी प्रबृत्ति मानव मनभित्र रहेको लोभ, दम्भ र अहंकार हो ।
ठूलठूला महामारीले संसारमा चलेको धर्मसत्ता र राजनीति नष्ट गरेको इतिहास कमैले मात्र पढेका छन्, सुनेका छन् र महसुस गरेका छन् । यो हैजा, महामारीले ल्याएको फुर्सद, रेला र रमाइलो गर्ने अवसर होइन । सतर्क र संयम हुने, जोगिएर बस्ने बेला हो । सत्तामा हुनेहरू जनताको सेवा र कर्तव्यमा भन्दा सत्ताको षड्यन्त्र र चालबाजीमा ब्यस्त भइरहेको देख्दा कोभिड–१९ कतै रेला हल्ला पो हो कि जस्तो भइरहेछ । तर होइन। आफ्नै टाउकोमा बन्चरो नबज्रेसम्म बन्चराले काट्छ भनेर नपत्याउनेहरू समाजमा धेरै हुन्छन् । यस्तैहरूबाट धर्म र सत्ता टिकाएर बाँचेका नाइकेहरू सधैं आफूलाई योग्य र अजम्बरी सम्झेर शोषण र अत्याचार गरिरहेका हुन्छन् ।
जन्मेपछि बाँच्नु मानिसको पहिलो लक्ष्य र उद्देश्य हो। मरेपछिको पिण्ड दानले कसैलाई केही हुनेवाला छैन। बेला बितेपछिको होसले घरमा लागेको आगो निभ्दैन । रोग लागिसके पछिको पश्चातापले मात्र रोग निको हुँदैन । यसर्थ सबैका राम्रा कुरा सुनौं । होसियार भएर बसौँ । सधैं सचेत रहौँ। अहिलेको समयमा जोगिएर बाँच्नु नै मुख्य कुरा हो।
अहिले पनि देश र समाजमा जनतालाई थामथुम पारेर सत्ता र राजनीतिमा नेता हुन चाहानेहरू सक्रिय छन् । धार्मिक अन्धविश्वासीहरू र सत्ताका लोलुपहरू आफ्नो जाल फालिरहेछन् । निमुखा, निम्जा, गरिब र अनपढ जनताहरूलाई भ्रमित पारेर, बाध्य पारेर आफ्नो जमात बढाउने चलखेल र षड्यन्त्र गरिरहेछन् । बाँचिएछ भने यस्ताहरूलाई चिनेर हामीले मौकामा लखेट्नै पर्छ, सजाय दिनैपर्छ ।
आजको महामारी रेला रमाइलो गर्ने क्षण होइन ।भोज, भतेर, मिठाई, मिष्ठान्न खाने अवसर होइन । पढाइ र परीक्षाको चिन्ता गर्ने समय पनि होइन । ब्यापारमा नाफा घाटाको हिसाब गर्ने फुर्सद पनि होइन। आपतमा परेका मानिसहरूलाई ठगेर ढाँटेर धन कमाउने अवसर आएको पनि होइन । यो त आफ्नो जीवन जोगाउने, परिवार र समाज जोगाउने अत्यन्तै जोखिमपूर्ण बेला हो । यसबेला सबभन्दा महत्वपूर्ण कुरा खाद्यान्न र औषधिको जोहो गरेर, उत्पादन गरेर जीवन बचाउने र धान्ने समय हो । महमारी र अनिकालमा कसरी बाँच्ने भनेर सिक्ने सिकाउने बेला हो । यो कुरा हामी सबैले बुझौं ।
उहिले उहिले पनि यस्तै महामारी र हैंजाले अनेक महासाम्राज्यहरू नष्ट भएका, अनेक महासामन्तहरू बिलाएका, कतिपय देशका नक्साहरू मेटिएका र धर्महरू बिलाएर गएका इतिहास छन् । यो कोभिड–१९ लगभग प्रलय जत्तिकै भयावह छ । आफैं बुझ्ने कोसिस गरौं, प्रयास गरौं । ठिक्क बुझौं, आतंकित नबनौं । अरूले बुझाउन आउन्जेलमा ढिलो हुन सक्छ।
मानवजाति आफैँमा देवता हो र राक्षस पनि हो । मानव सभ्यताको विकास र विनास स्वयं उसकै कारणले हुनेगर्छ । यस्तो बेलामा अरूलाई दोष दिएर पन्छिने छुट कसैलाई छैन । पृथ्वी मानिसको मात्र होइन सम्पूर्ण वनस्पति र प्राणीको साझा घर हो । सृष्टि र प्रकृतिका नियमहरू बुझेर, मिलेर बाँच्न सिकौँ । यसैमा हामी मानव जातिको कल्याण छ ।
मेचीनगर, धुलाबारी, झापा
Comments