Sajhamanch Archive

कोरोनालाई जितेर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं l कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् ।

लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका छन् ।

उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैैँ काम गर्न थाल्ने बताएका हुन् ।

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा ३ रात बिताएका थिए । त्यसपछि १ हप्ता सामान्य शय्यामा बसेका थिए ।

सघन उपचार कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा याे महामारीबाट अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ ।

बेलायतभन्दा अगाडि अमेरिका, इटाली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २ हप्तामा बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *