कोभिड १९ रोकथामः मेचीनगरमा २०९ जनाको आरडीटी र १९ जनाको पीसीआर परीक्षण
Published:
by .मेचीनगर । मेचीनगरमा बिहीबारसम्म २०९ जनाको नोवल कोरोना भाइरस (कोभिड–१९) को एन्टीबडी परीक्षण गरिएको छ ।
नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरसको संक्रमण बढ्दै संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे हो । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले प्रदेश सरकारको स्वास्थ्य टोलीले ७० र नगरपालिकाको स्वास्थ्य टोलीले १२० गरी १९० जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।
यसैगरी १९ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । समाचार स्रोतका अनुसार उनीहरु सवैको परिणाम नेगेटिभ आएको छ ।
शाखा संयोजक राईका अनुसार प्रदेश स्तरीय स्वास्थ्यकर्मीको टोलीले नगरका १२ जनाको थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरेको थियो भने विहीबारमात्र नगरपालिकाको स्वास्थ्य टोलीले वडानम्बर २ मा ३, तथा १३ र १४ नम्बर वडाका २÷२ जनागरी ७ जनाको थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाएको छ ।
२ महिला र ५ पुरुषको नमूना संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको हो । उनीहरु सवै दुवई, कतार अमेरिकाबाट नेपाल आएर सुरक्षितरुपमा होम क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य शाखाले पठाएको नमूनाको परीक्षणको नतिजा आउन बाँकी छ ।
शाखा संयोजक राईको नेतृत्वमा ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले थ्रोड स्वाब संकलन गरेको बताइएको छ ।
Comments