Sajhamanch Archive

२ वर्षमा बनाइसक्न ठेक्का लागेको जिपी भवन ५ वर्षमा पनि बनेन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । मृत शहरको उपमाले चिन्न थालिएको भद्रपुर नगरलाई चलायमान बनाउने उद्देश्यले चन्द्रगढीमा निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन)को निर्माण कार्य ५ वर्ष बित्नलाग्दा आधाभन्दा अगाडि बढ्न सकेको छैन ।

बितेका दुई आर्थिक वर्षको वजेट निकासामा सरकारले आनाकानी गर्दा निर्माण कार्य ठप्प भएको तथा चालू आर्थिक वर्षमा पनि समयमा बजेट नआउँदा काम थालनी नै नभई रोकिन पुगेको जानकारहरु बताउँछन् । कोरोना संक्रमण त्रासका कारण यसवर्ष भवन निर्माण सुचारू नहुने प्रष्ट भएपछि निर्माण ठेकेदारले रेखदेखका लागि खटाएका कामदारसमेत घर फिर्ता गरिदिएको पाइएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वि. स. २०७२ असार २८ गते सो भवनको शिलान्यास गरेका थिए । यस्तै नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र तत्कालीन नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेलको समुपस्थितिमा भवन निर्माण सुरु भएको हो ।

अत्याधुनिक एवम् अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीबाट काम सम्पन्न गर्नेगरी १२ करोड ७२ लाख ६९ हजार रुपैयाँ लागतम जिपी भवनको निर्माण ठेक्का लगाइएको थियो । शिलान्यास गरेको दुई वर्षभित्र निर्माण कार्य पूरागर्ने गरी प्रेरा–शाह जेभी निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माणधिन भवनको लम्बाई ५३ मिटर र चौडाई ३४ मिटर रहेको छ । सो भवनको पहिलो तलामा ब्यवसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । यस्तै, दोस्रो तलामा दुई वा तीनवटा बैंक अटाउने फ्लाट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने छ । सम्भवतः पूर्वमा सरकारीस्तरबाट यति बलियो भवन पहिलोपटक बन्न लागेको छ । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् ।

ठेकेदार कम्पनीले समयमा भुक्तानी नपाएकोले निर्माण सामग्रीसमेत खरिद गर्न नसक्दा काममा ढिलाई भइरहेको प्राविधिक पक्षको नियामक कार्यालयको भनाई छ । भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफू दिनरात नभनी काम गरिरहे पनि केही प्राविधिक कारणले भवन निर्माणमा ढिलाई भएको जिकिर गरेका छन् । सुरुमै जिल्ला समन्वय समितिले बजेट निकासा गर्न र जग्गा खाली गराउन गरेको ढिलाईले समयमा काम सुरु गर्न नसकी बिना कारण खर्च भएको उनको भनाई छ ।

निर्माण अवधि पूरा भइसकेको तथा पटकपटक म्याद थप गरेपनि सरकारले भुक्तानी रोकेपछि काम सम्पन्न हुन नसकेको उनको भनाई छ । बजेट निकासा भएमा एक वर्षको अवधिमा निर्माण सम्पन्न गरी सरकारलाई भवन हस्तान्तरण गर्न आफू तयार रहेको कम्पनी सञ्चालक साहको दावी छ । यसवर्ष कामको मुख्य सिजनमा लकडाउन हुनु र बजेट निकासा नआउनुले निर्माण रोकिएको ठेकेदार साहले बताए ।

जिपी भवनको निर्माण पूरा भई सञ्चालनमा ल्याइएपछि भद्रपुर नगरलाई नै बाह्य पर्यटनको केन्द्र बनाउन सहयोग पुग्ने स्थानीयको विश्वास छ । भवनसंँगै जोडिएर रहेको मेची रंगशाला र महेन्द्र पार्क नजिकै भएकोले थप आकर्षणका लागि भवन वरपर घेराबारा हुनुपर्ने आवश्यकता देखिन्छ । महेन्द्र पार्कलाई थप सुन्दर बनाउनु पर्ने, फरक ढंगका केही मौलिक संरचना बनाउन राज्यका तर्फबाट थप बजेटको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल गिरिजाप्रसाद स्मृति सभागृह निर्माणका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले खेलेको भूमिका बिर्सन नहुने बताउँछन् । तर दुई वर्षदेखि बजेट रोकेर सरकारले अन्याय गरेको आरोप लगाउँदै पोखरेलले झापाकै सांसद प्रधानमन्त्री रहँदा झापा चिनाउने आयोजना अलपत्र पर्नु बिडम्वना भएको गुनासो गरेका छन् ।

विकासमा राजनीति गरेर आरोप प्रत्यारोप गर्ने परम्पराको अन्त्य हुनुपर्ने सन्देश दिने भन्दै निर्माण थालिएको सो स्मृति भवन जतिसक्दो छिटो निर्माण पूरा गर्नु श्रेयस्कर हुन्छ । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा शहीद भएका सुरज विश्वास र राजन गिरीको शाहदतस्थल नजिकै निर्माणाधिन सो भवनले उनीहरुको शाहदतको पनि स्मरण गराउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *