ज्वाला संग्रौलाले दिइन् ६० विपन्न परिवारलाई एक एक बोरा चामल
Published:
by .बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९)को महामारीको सन्त्रासमा रहेका विपन्न वर्गले खाद्यान्न अभावबाट ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले एक महिलाले बिर्तामोड नगरपालिका वडा नं. ३ र १० का ६० विपन्न परिवारलाई चामल प्रदान गरेकी छन् ।
अध्ययनका लागि केही वर्षदेखि जापानमा रहेकी बिर्तामोडकी ज्वाला सङ्ग्रौलाले परिवारका अग्रजहरुको माध्यमबाट स्थानीय विपन्न परिवारलाई राहतस्वरुप प्रतिपरिवार २० केजीका दरले चामल प्रदान गरेको पत्रकार लीला अनमोलले जानकारी दिएकी छन् ।
बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला र बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको उपस्तिथिमा खाद्यान्न वितरण गरिएको हो । बिराट सरोबर टोल विकास सस्थाका अध्यक्ष एवम् नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती (ठाकुर) र सिद्दिबिनायक टोल विकास संस्थाका अध्यक्ष बेनु पाठकको संयोजनमा खाद्यान्न वितरण कार्यक्रम सम्पादन गरिएको हो।
स्थानीय शान्तिराम सङ्ग्रौला र बिराट समाबेशी ज्योतिर्लिङ्ग कीर्तन मन्डलीका अध्यक्ष मनप्रसाद उप्रेतीले दुवै वडाका विपन्न परिवार पहिचान गरी कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याएका पत्रकार अनमोलले बताएकी छन् ।
भौतिक दुरीलाइ कायम गरी आयोजित विशेष कार्यक्रममार्फत् राहत सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा समाजका अगुवा ध्रुब सिवाकोटी, इन्द्रप्रसद प्रसाईं, टिकेन्द्र थापा, गीता भन्डारी, पुनम प्रसाईं आदिको सक्रिय सहभागिता थियो।
दाता संग्रौलाले बिर्तामोडमा मात्र होइन नेपालका विभिन्न जिल्लाहरुमा लकडाउनका बेला खाद्यान्न अभाव भएर भोकै बसिरहेका मानिसहरुका निम्ति खाद्यान्न प्रदान गरिरहेको पत्रकार अनमोल बताउँछिन् । अहिले मात्र होइन अफ्ट्यारामा परेका हरेक नेपालीहरुलाई विदेशी भूमिमा बसेर पनि उनले सहयोग गर्दै आइरहेकी छन् ।
Comments