बिर्ताबजारमा दुर्गा मन्दिरको शिलान्यास (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । झापाको पुरानोमध्येको एक शक्तिपीठ बिर्ताबजारमा रहेको दुर्गा मन्दिर पुनः प्रतिस्थापनका लागि आज शिलान्यास गरिएको छ ।बुद्ध जयन्तीको दिन आज बिहान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका हुन् ।
बिर्तामोड–भद्रपुर चारलेनको सडक निर्माणका क्रममा सडककै बीचमा मन्दिर परेपछि हालको मन्दिरभन्दा केही मिटर पूर्व मन्दिर प्रतिस्थापन गर्न लागिएको हो । नगरपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने गरी मन्दिर निर्माण गरिने नगरप्रमुख शिवाकोटीले बताएका छन् । नगरपालिकाले करिब ४५ लाख रुपैयाँको अनुमान गरेको छ तर उपभोक्ता समितिले सोभन्दा कम खर्चमा मन्दिर निर्माण गरिसक्ने बताएको छ ।
मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम सिटौलाले भोलिबाट नियमित काम सुरु गरी दुई–अढाई महिनामा मन्दिरको भौतिक निर्माण कार्य सकिने जानकारी दिएका छन् । उनका अनुसार मन्दिरको नाप नक्सा, स्वरुपसहित आर्किटेक्च सकिएको र भोलिबाट लकडाउन पनि केही खुकुलो हुने भएकाले निर्माण कार्यले गति लिने अपेक्षा छ ।
दुर्गा मन्दिर बाटोको बीचमा पर्ने भएपछि बाटो निर्माण कार्य निक्कै लामो समयदेखि रोकिएको छ भने सर्वदलीय, सर्वपक्षीय बैठकहरु गरेर निचोड निकाल्न समय खर्चनु परेको थियो । हाल मन्दिर रहेको स्थानमा सडकको पूर्वतर्फको किनारा र ड्रेनको भाग रहने भएकाले शीघ्रातिशीघ्र दुर्गा मन्दिरका मूर्तिलाई अन्यत्र प्रतिस्थापन गरी सडक निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने समितिसँग दायित्व रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सिटौलाले बताए । झापामा रहेका पुराना शक्तिपीठहरुमध्ये बिर्ताबजारको दुर्गा मन्दिर पनि एक रहेको छ ।
शिलान्यास विधिसहित नगरप्रमुख शिवाकोटी र निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम सिटौलासँगको कुराकानी हेर्न तलको लिङ्क दिइएको छ ।
झापाकाे बिर्ताबजारमा रहेकाे दुर्गा मन्दिर पुनः निर्माणका लागि बुद्ध जयन्तीकाे दिन अाज वैशाख २५ गते बिहान नगरप्रमुख ध्रुवकुमार शिवाकाेटी र उपप्रमुख पवित्रा महतरा प्रसाइले शिलान्यास गरेका छन् । मन्दिर कस्ताे बनाइनेछ, कति लागतमा बनाइनेछ अनि स्थानीयबासीबाट नगरपालिकालाई के कस्ताे सहयाेग भयाे भन्ने सम्बनधमा नगरप्रमुख शिवाकाेटी र निर्माण उपभोक्ता समितिका संयाेजक पर्शुराम सिटाैलासँगकाे कुराकानीसहित ।
Posted by SajhaManch.com on Wednesday, 6 May 2020
Comments