स्टेजबाट मेरो भाषण
Published:
by .सभापति महोदय,
मञ्चमा आसिन प्रमुख अतिथि तथा विशिष्ट महानुभावहरू। यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय समुदाय । सबैमा नमस्कारसहित अभिवादन ।
मेरो भाषण कहाँबाट सुरू गरौँ ? आजको विषयमा केन्द्रित रहेर बोलौँ कि, मेरो निजी विचारमा केन्द्रित रहेर बोलौँ । मैले जानेको विषयमा बोलौँ कि नजानेको भए पनि गतिलै कुरामा बोलेर बाठो हुने प्रयास गरौँ । म अझै पनि अन्योलमा छु । तर तपाईहरू भने मलाई सुन्न आतुर हुनुहुन्छ । किन कि म नयाँ वक्ता हुँ।
मेरो भाषण मेरो इज्जत र अभिमानको लागि हो कि तपाईहरूको उत्साह र प्रेरणाका लागि हो ? मभित्र अझै अन्योल बाँकी छ । मैले तपाईहरूको इच्छा, आवश्यक्ता हेरेर बुझेर बोल्न सके हुन्थ्यो जस्तो लाग्छ। तपाईहरू केही न केही नयाँ राम्रा कुरा सुन्न र सिक्न उत्सुक हुनुहुन्छ जस्तो लाग्छ मलाई । तर म तपाईहरूले चाहेजस्तो भाषण गर्न सकुँला नसकूँला ! मैले पहिल्यै आजको विषयमा म केही जान्दिन, यसर्थ बोल्दिन पनि भन्न सकिन । पाएको अवसरमा अरू सबैले जसरी केही बोल्न र विद्वता प्रदर्शन गर्न मन लागिहाल्यो। अब मञ्चमा आएर म आफैँ अल्मलिएँ, कस्तो भाषण गर्ने भनेर । म देखिरहेछु, तपाईहरू मलाई सुन्न उत्सुकताले पर्खिरहनु भएकोछ ।
म डायसमा (भाषण गर्ने ठाउँमा) उभिएर तपाईहरूको इच्छा र आवश्यक्ता बुझेर बोल्न सके मेरो भाषण ध्यान दिएर सुन्नु हुन्थ्यो होला भन्ने पनि सोच्दैछु । तपाईहरूको जीवनमा काम लाग्ने ,प्रोत्साहन हुने उर्जाशील भाषण गर्न पाए हुन्थ्यो जस्तो पनि सोच्दैछु । तर विषय छनौट गर्न कठिन भइरहेछ । भाषण सुन्ने तपाईहरू सबैजनाको समान योग्यता र कुरा बुझ्ने समान क्षमता नहुन पनि सक्छ । कसैको लागि मेरो भाषण बुझ्न कठिन हुनसक्छ भने कसैका लागि सामान्य लाग्न सक्छ ।
आज मलाई तपाईहरूलाई साबुन पानीले हात धुने तरिका सिकाउन मन छ । हात त हामीले पुस्तौं पुस्तादेखि धोएर आइरहेका छौं । के सिक्नु, के सिकाउनु ? तर पनि मैले तपाईहरू केही जान्नु हुन्न भन्ने ठानेर हात धुने तरिका नै सिकाउन चाहेँ भने म भाषण गर्न योग्य ठहर्छु कि ठहर्दिन ? (यो कुरो मलाई पछि भन्नू होला)।
कुरो सामान्य छ । हात धुन, घर बढार्न, दाँत माझ्न, नुहाउन, नङ् काट्न, लुगा धुन इत्यादि सफाइको काम जे जस्तो रूपमा होस् सबैले गर्दै आइरहेका छौं । यस्मा सिक्ने सिकाउने कुरा नै के छ र ? आर्थिक स्थिति राम्रो भए भाँती पारेर बाँच्न त जानिहालिन्छ नि होइन र ! तर पनि हामी यस्तै विषयमा घण्टौं भाषण गर्छौं । तालिम, सेमिनार, गोष्ठी चलाउँछौं । तपाईहरू पनि जतिपटक बोलाए पनि आएर यस्तै कुरा सुनेर बस्न बाध्य हुनुहुन्छ । हामी यस्तै कुरालाई चेतना फैलाउने, सचेत पार्ने भन्दै सामाजिक अभियन्ता र तालिमे (ट्रेनर) भएर हिडिरहन्छौं । हिजोआज यस्तै यस्तै कुराहरूको अभियान नै चलेको छ । मानौ समाजको ठूलो समुदाय जो सधैँ मिहेनत र परिश्रम गरेर बाँचेको छ, ऊ केही जान्दैन । तर एकाध ब्यक्ति जो केही किताब पढेर आफूलाई बाठो भएको महसुस गर्छ । तर शारीरिक परिश्रम र मिहेनत गर्दैन, ऊ सधैँ अरूलाई सिकाएर हिँड्छ । ऊ कुनै कुरा पनि जीवनमा, व्यवहारमा, माटोमा प्रयोग गर्दैन ।
किताबी ज्ञानलाई नै ज्ञान मान्ने अज्ञानीहरूको कारण आज समाज निकम्मा र अल्छे भइरहेछ । ऊ गाई बस्तु पाल्दैन तर पशुपालनको तालिम दिइहिँड्छ । ऊ फलफूल, अन्नबाली, तरकारी रोप्दैन तर कृषि तालिम दिइहिँड्छ । उस्ले दिएको तालिम र शिक्षाले किसानको उन्नति होस् कि, नोक्सानी होस् उसलाई कुनै मतलब हुँदैन। बस्, ऊ किताब पढाएर जागीर खान्छ । ऊ गरिब छ, धनी हुने तालिम दिँदै हिँड्छ । ऊ लुते, रोगी छ, स्वश्थ्य र बलियो हुने तालिम दिँदै हिँड्छ। उ बर्सेनी सन्तान जन्माउँछ, अरूलाई ब्रह्मचर्यमा बस्न सिकाउँछ । ऊ सधैँ गुट्का, चुरोट, रक्सी खान्छ तर अरूलाई आहार बिहार शुद्ध राख्न सिकाउँछ । यस्तै यस्तै खाले भाषण मैले पनि गरें भने तपाईहरू के भन्नु हुन्छ ? घिन मान्दै भए पनि सुन्न बाध्य भएकोमा पछुताउनु हुन्छ होला, होइन त ! तर यस्ता कुराहरू सुन्न तपाईहरू बानी पर्नु भएको छ । यस्तै मान्छेका भाषणहरूबाट तपाईहरूले धेरै तालिम लिइसक्नु भएकोछ । सुन्न र सहन सक्नुहुन्छ ।
मलाई अझै केही बोल्न मन छ । म तपाईहरूले छट्पट् गरेको देखिरहेछु । हल्ला गरेको सुनिरहेछु । तर पनि मलाई बोल्न मन लागिरहेछ किनकि मैले निकै दिनपछि यो मञ्च पाएकोछु । तपाईहरूको मन घरको समस्या, जीवनको दुःख र चिन्ताले छट्पट् भइरहेछ । घरमा साना नानीहरू, पगाहा लगाएका, बाँधेका गाईबस्तुहरू, बिरामी परिवार छाडेर आउनु भएको छ । घरमा साँझको जोहो छैन । टाडा पुग्नु छ, जाने साधन छैन । यो भाषणले के दिन्छ र ? तर पनि संघ, संगठन, समुदायको अनुरोधमा सुन्न बाध्य हुनुहुन्छ । कहिले काहीँ थोरै भत्ता र चिया खाजाको सुविधा पनि हुने गर्छ।
यति गरेपछि हामी भाषण गर्नेले देश दुनियाँका राजनैतिक, आर्थिक, सामाजिक कुराहरू जानी नजानी किन नभन्ने ? तपाईहरूको चेतना स्तर, इच्छा र आवश्यक्ता बुझेर बोल्ने काम मेरो होइन । मैले जानेको बोल्ने हो । सधैँ यस्तै यस्तै बोलेर प्रमुख अतिथि, विशिष्ट अतिथि भएकै छु । आयोजकहरूले पत्याएकै छन्, मानेकै छन् । तपाईं स्रोताहरूले मेरो यस्तो भाषणबाट लाभ लिनैपर्छ।
समय सकिएको सूचना आयो । अब म मेरो भाषण छोट्याउँदैछु । तपाइहरूलाई ज्ञान विज्ञान, आत्मा परमात्मा, जीव र जगतको बारेमा पनि सुन्न मन थियो होला । जीवन दर्शन र जीवन मूल्यका बारेमा पनि केही जान्ने मन थियो होला । जीविका सँगसँगै जीवन बाँच्ने कला पनि सुन्न सिक्न मन थियो होला । तर हिजोआज यस्ता विषयहरू महत्वहीन छन् । यस्ता कुराले भोट बढ्दैन । म त राजनीति गर्ने मान्छे सधैँ जनता फकाउने आश्वासनको भाषण गर्न मात्र जान्दछु । मेरो काम ठूलठूला विकास र परिवर्तनका कुरा गरेर नेता बनिरहने मात्र हो । तपाईहरूको चेतना र जीवन स्तर उकास्ने भाषण गर्ने काम मेरो होइन । तपाईहरूलाई मेरो कुरा मनपरे जस्तो छैन । ताली पटक्कै बजेन । तपाईहरू फाट्टफुट्ट उठ्न थालेको पनि देख्दैछु । अब भाषण सक्न मन लाग्यो । बोल्ने कुरा धेरै थियो । सबै कुरा भन्न भ्याइएन । म मेरा दुई शब्द यहीँ टुङ्याउँछु । बोल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ।
मेरो भाषण पढिदिनु भएकोमा तपाईहरूलाई पनि धन्यवाद । आज कतिपयले स्टेजमा यसरी नै भाषण गरेको देखिन्छ, सुनिन्छ । यो भाषणबाट तपाईंले केही नयाँ कुरा पनि पाउनु भयो कि समयमात्रै सकियो ? मलाई लेख्नुहोस्, मेरो भाषणप्रति तपाइको सुझाव केही पक्कै हुनेछन् । नमस्कार ।
Comments