Sajhamanch Archive

लकडाउनमा विद्यार्थीः कोही प्रतिभा तिखार्दै, कोही डर, त्रास र अन्यौलमै

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by .

झापा । नोवल कोरोना भाइरस (कोभिड–१९ं)का कारण यतिबेला विश्व आक्रान्त बनेको छ । विश्व अर्थतन्त्रमा पनि ठूलो झट्का लागेको छ । आक्रान्त बनेका मुलुकहरु आत्मनिर्भर र प्रविधिमैत्री हँदाहुँदै पनि विकराल अवस्थालाई साम्य पार्न धौ–धौ परिरहेको छ । यस्तो विकराल अवस्थामा नेपाल पनि अछुतो रहेन, छैन । नेपालमा पनि कोरोनाबाट सङ्क्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि नेपाललाई पूर्णरुपमा लकडाउन गरेको छ । लकडाउनका कारणले नेपालमा उद्योग, व्यापार, व्यवसायदेखि शैक्षिक संस्थाहरु सबै ठप्प छन् । विद्यार्थीहरुका लागि चैत र वैशाखको समय भनेको परीक्षाको समय हो । त्यतिमात्र होइन, विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुने समय पनि हो । तर कोरोना कहरका कारण गत चैत ६ गतेदेखि नै विद्यालयहरु बन्द रहेका छन् । त्यतिमात्र नभएर अधिकांश विद्यालयका वार्षिक परीक्षा बीचमै अलपत्र परेका थिए । कोरोना सन्त्रासले चैत ६ गतेदेखि तय भएको एसईई परीक्षा सुरु हुनुभन्दा १५ घण्टामात्र अगाडि स्थगित हुन पुग्यो ।

कक्षा ११ र १२ को परीक्षा तालिका वैशाखका लागि निर्धारित थियो भने त्रिवि अन्तरगत स्नातक तह चौथो वर्ष र स्नातकोत्तरसम्मका परीक्षा पनि लकडाउनका कारण रोकिन पुगे । विद्यार्थीहरु अहिले कोरोना भाइरस जस्तो महामारीबाट जोगिन लकडाउनको पूर्ण पालना गर्दै घरमै बस्न बाध्य छन् । तर पनि कोही यसै हल्लिएर, सुतेर, खेलेर पक्कै समय बिताएको छैन होला भन्ने बारेमा संकटको यो बेलामा विद्यार्थीहरु के गर्दैछन् ? उनीहरुको घरायसी, पारिवारिक वातावरण कस्तो छ भन्ने बारेमा यो आलेखमा अनुभव र प्रतिक्रिया समेट्ने प्रयास गरेका छु ।

मनकामना कलेज बिर्तामोडमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत टीका चम्लागाईको लकडाउनको धेरै समय भान्सा कोठामा काम गरेरे बित्ने गरेको रहेछ । उनी सिनेमा हेरेर, सामाजिक सञ्जाल चलाएर मनोरञ्ना पनि लिइरहेकी छन् । आमाबुबालाई घरको काममा सहयोग गरेर उनको धेरै समय बित्ने गरेको छ । ‘जीवनमा जहिल्यै बाहिरी संसारमा घुम्दामात्र रमाइलो हुँदैन, घर परिवारसँगै बसेर समय बिताउँदै एउटै भाँडाको खाना सँगैबसेर खानुको मज्जा नै बेग्लै हुँदोरहेछ’ टीकाका एउटा मिठो र अविस्मरणीय अनुभव हो यो ।

लकडाउनले पढाइमा प्रत्यक्षरुपमा असर पुगेको छ तर पनि यस्तो समस्यालाई ध्यानमा राख्ने हो भने लकडाउनलाई जारी राखेर यसको नियन्त्रण गर्नु आजको पहिलो आवश्यकता पनि हो । हामी घरमै बसेर स्वअध्ययन गर्न सक्छौं । टीकाको विचारमा नेपालको परिप्रेक्षमा अनलाइन कक्षा (भर्चुअल क्लास) त्यति प्रभावकारी छ जस्तो लाग्दैन । यसअघि कलेजमा जे–जति पढेका छौं, त्यसलाई घरमा बसेर पढ्न सकिन्छ । कोरोना त्रास हटेपछि दशै, तिहार बर्खे हिउँदे विदा कटाएर पनि पढ्न सक्छौं । कोरोनाबाट बच्न हामी अत्यवाश्यक कामदेखि बाहेक अरुबेला घरबाट बाहिर जाँदैनौ, केही सामान लिन जाँदा भौतिक दूरी कायम गरेका छौं । समयसमयमा साबुन पानीले मिचीमिची हात धुने गरेका छौं । लकडाउनको पालना गर्दै घरमै बसेर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित हुने प्रयास गरेका छौं, मनकामना कलेज बिर्तामोडकी छात्रा टीका चम्लागाईले सचेतनासहितका आफ्नो दैनिकी सुनाइन् ।

मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मिराज पोखरेल स्ववियु सचिवसमेत हुन् । साहित्यमा पहिलेदेखि नै रुचि रहेका उनलाई अहिले प्रशस्त समय मिलेकाले साहित्य सिर्जना गर्न पाएको बताउँछन् । ‘नेतृत्व विकासको राष्ट्रिय प्रशिक्षक भएकाले घरभन्दा बाहिर नै धेरै रहनु पर्दा घरमा समय दिन पाएको थिइँन, अहिले प्रशस्त समय पाएको छु’ पोखरेल सुनाउँछन् ‘घर परिवारलाई त्यति समय दिन पाउँदिन थिएँ तर अहिले फुलटाइम घरमा बस्ने अवसर मिलेको छ ।’ आफ्नो लागि समय दिँदा धेरै राम्रो हुँदोरहेछ तर कोरोनाका कारणले पढाइलाई भने चौपट्ट पारेको पोखरेलको गुनासो छ ।

श्रेया ढुंगाना मनकामना माध्यमिक विद्यालय बिर्तामोडबाट यसवर्ष एसईई दिने विद्यार्थी हुन् । विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा गरिएको ‘लकडाउन’ उनका लागि पहिलो अनुभव हो रे ! नहोस् पनि कसरी उनका हजुरबुवाले समेत यस्तो महामारी सहनु परेको थिएन होला । २१औं शताब्दीमा आएर पनि मानव घरभित्रको बन्धनमा रहनु परेको अवस्था छ । यातायात, कलकारखाना विद्यालयहरु ठप्प छन् । एसईई सुरुहुने अघिल्लो दिन सरकारले परीक्षा स्थगित गरेको थियो । जसका कारण एसईई लेख्ने साथीहरुको लागि दुखद खबर बन्न पुगेको थियो । तिनै विद्यार्थीहरु मध्ये आफू पनि एक रहेको उनले सुनाइन् ।

पहिले हामी दिनहुुँ विद्यालय गएर शिक्षा लिने गथ्र्यौं भने यो लकडाउनको समयमा घरभित्रै बस्नु बाध्यता सँगसँगै सुनौलो अवसर भएको श्रेयाको बुझाई छ । विद्यार्थीहरुका लागि पहिले गृहकार्य गर्दा, पठनपाठनतिर ध्यान दिँदा समय बितेको पत्तो नै हुँदैनथ्यो, समयको धेरै खाँचो पथ्र्याे । श्रेया भन्छिन्, ‘तर हिजोआज यति प्रशस्त समय हुँदा पनि समयको सदुपयोग गर्न सकिरहेका छैनौं । म एसईई लेख्ने विद्यार्थीका लागि पठनपाठन मूलबाटो भए तापनि रहेको समयमा म आमा बुबाबाटै अनौपचारिक शिक्षा पनि हासिल गरिरहेको छु । लकडाउनको समयले मलाई व्यवहारिक रुपमा पनि सक्षम बनाएको छ ।’

श्रेया घरमा बसेर परिवारलाई मिठामिठा परिकारहरु बनाएर खुवाउन सक्ने भएकी छन् रे । उनका बुबाआमा दुवैजना शिक्षण पेसामा आवद्ध हुँदा अस्तिसम्म उहाँहरू आ–आफ्नै काममा व्यस्त रहनुहुन्थ्यो र बेलुकी पनि घरको कामले गर्दा उहाँहरुले प्रत्यक्ष रुपमा उनीहरुलाई समय दिन भ्याउनु हुन्नथ्यो । तर लकडाउनले मैले पनि मेरा परिवारसँग प्रत्यक्ष रुपमा क्रियाकलाप गरेर देखाउने मौका पाएकी छु श्रेया भन्छिन् ‘यो महामारीबाट बच्न केही अरु विकल्प नभएकाले म पनि सरकारले तोकेको लकडाउन पालना गरी घरमै बसेकी छु ।’ यदि हामीले लकडाउनको समयलाई सदुपयोग गर्न सक्यौं भने यो एउटा वरदान बन्ने श्रेयाको तर्क छ ।

अलका खतिवडा एरा एभरग्रीन माध्यमिक विद्यालय बुद्धशान्तिमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । उनले लकडाउनको समयलाई साहित्यिक रचना गर्दै, पढ्दै, लेख्दै, खेल्दै बिताएको सुनाउँछिन् । ‘लकडाउनले हामीलाई नयाँ कुराको खोज र अनुसन्धानतिर ध्यान लगाउन सिकाइरहेको छ’ अलका भन्छिन्, हामीलाई विभिन्न खालका साहित्यिक रचना गर्न, हात धोइ स्वास्थ्य रहन सिकायो त्यति मात्र नभएर छुट्टिएका परिवारलाई एकैठाँउमा जम्मागरी आफ्नो परिवारको परिचय पनि गरायो ।’
कोभिड १९ तीव्ररुपमा फैलिएको कारण सरकारले लकडाउन गरेको अवस्थाका कारण अलकाको पनि विद्यालय बन्द छ । ‘विद्यालयले अनलाइन कक्षा त सञ्चालन गरेको छैन तर पनि सरहरुले हामीलाई विभिन्न विषयका टिप्सहरु सामाजिक संजालमा पठाइ दिने गरेकाले तिनै अध्ययन गर्ने गरेकोले मेरो पढाइमा केही भएपनि राहत मिलेको महसुस गरेकी छु’ उनको भनाई छ ।

देवी क्याम्पस बितामोडमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सन्जिता ढुङ्गाना परीक्षा नजिकिइरहेको समयमा भएको लकडाउनलाई अध्ययन गर्ने सुवर्ण अवसरको रुपमा लिएको बताउँछिन् । ‘ग्रामीण बस्तीको बासिन्दा भएर होला कोरोना भाइरसको त्यति डर भएन । डर त त्यहाँ भयो जहाँ विश्वले दर्दनाक मृत्युको सामना गरिरहँदा कतै नेपालले पनि त्यो परिणाम भोग्नु पर्ने त होइन भनेर ।’ नेपालको परिप्रेक्ष्यमा र आफ्नो गाउँको सेरोफेरोमा रहेर कुरा गर्दा कोरोना भाइरसको भन्दा पनि बढी त्रास र आतंक हल्लाले मच्चायो । यस्ता महामारी प्राकृतिक गतिविधि हुन्, विगतमा पनि थिए अनि भविष्यमा पनि आउन सक्छ्न । आफ्नो मन बलियो बनाएर अभावलाई अवसर बनाउन सक्नुपर्छ भन्ने ढुङ्गानाको सुझाव छ ।

शिखा सुवेदी, मोहनमाया माध्यमिक विद्यालय चारेपानेमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । उनी लकडाउनको बेला घरभित्रै बसेर नयाँ कुराहरु सिक्दै, किताब पढेर, कविता वाचन गरेको सुन्दै, नयाँ आइटमका खानेकुरा बनाउँदै, चित्रहरु कोर्दै समय बिताउँदै गरेको बताउँछिन् । ‘लकडाउनको बेला सफा सुग्घर भएर घरमा सुरक्षित बसेकी छु’ सुवेदी भन्छिन्, ‘परिवारमा सबैजना स्वास्थ्यलाई फाइदा हुने किसिमका खानेकुरा खाएर बसेका छौँ ।’ कोरोनाको कहरले पढाइमा असर अवश्य पुर्याएको छ भन्दै शिखा भन्छिन् ‘नयाँ शैक्षिक सत्र सुरु हुने समयमा विद्यालयहरु लकडाउनका कारणले गर्दा रहेकाले आफू पनि साथीहरुसँग समन्वय गरेर पुरानो पुस्तकको सहारा लिँदै घरमै बसेर अध्ययन गर्न थालेकी छु ।’

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा बागबानी विषयमा चौथो सेमेस्टरमा अध्ययनरत छन् रश्मि काफ्ले । लकडाउनको समय सदुपयोग बारेमा रश्मिको अलिक फरक धारणा छ । भन्छिन्, ‘हाम्रो दैनिक कार्य बाहेक कृषिलाई प्राथमिकता दिनु जरुरी रहेको र हामीले सधैं पौष्टिक र सफा खाना खानुपर्छ भनी सबैलाई सिकाउँदै आएकी छु ।’ लकडाउनको समय भएपनि बेलाबेला पाठ्यपुस्तकलाई समय दिने गरेको उनले बताइन् । घर परिवारसँगै बसेर रमाइलो गर्नुको मज्जा छुट्टै रहेको सुनाउँदै उनले आफू र आफ्नो परिवारलाई कोरोनाबाट टाढै रहने उपायहरु खोजिरहेको जिकिर गर्छिन् ।

विमल तिम्सिना अमृत साइन्स क्याम्पस काठमाडौंमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । लकडाउन उनका लागि निकै हितकर भइरहेको विमलको तर्क छ । बाकसका पुराना फोटाहरुले मलाई बोलाइ रहेकाथिए । लकडाउनले गर्दा ती फोटामा लागेको धुलो सफा गर्न पाएँ । पुस्तक पढेर ज्ञानको क्षितिजलाई अझ फराकिलो पार्ने अवसर मिलिरहेको छ । लकडाउनले गर्दा आफूसँग समय बिताउन पाइएको साथै आफूले आफूलाई चिन्ने अवसर मिलेको बिमलको अनुभव छ । घरायसी काममा सरिक भई व्यवहारिक सिपको पनि विकास त भयो नै साथमा परिवारसँग समय बिताउने अवसर पनि मिलेको विमलको भनाई छ ।

अनुस्का अधिकारी देवी माध्यमिक विद्यालय बिर्तामोडमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । उनी नयाँनयाँ कार्यक्रमहरु हेर्न, विभिन्न पुस्तकहरु पढ्न, मोबाइल चलाउँदै दिनहरु बिताउँदै गरेको सुनाउँछिन् । बाहिरी प्रकृतिमा घुलमिल हुन नपाई घरमै बस्नुको पीडा पनि महसुश हुन थालेको उनको गुनासो छ । अनलाइन कक्षामा उपस्थित हुन गाह्रो भएको उनको दुखेसो पनि छ । लकडाउनले नियम पालना गर्नुको साथै बाहिर जान आवश्यक परेमा मास्कको प्रयोग गर्नुपर्ने रहेछ भनेर सचेत गराएको छ ।

सन्ध्या रिजालले लकडाउनको समयलाई अलिक फरक तरिकाले सदुपयोग गर्दैछिन् रे ! उनी कनकाई कलेज बिर्तामोडमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । लकडाउनको समयमा उनले युट्युव हेरेर विभिन्न परिकार बनाएर खान सिकेको बताउँछिन् । ‘लकडाउन भन्ने के हो भनेर जीवनमा कहिले सुनेको थिएन, यसले हामीलाई घरमै बसाएन मात्र नयाँनयाँ कुरा सिक्ने र हामीलाई जीवनमा केही गर्नुपर्ने रहेछ भनेर सचेत पनि बनायो’ सन्ध्याको अनुभव छ ।

मनकामना मावि बिर्तामोडमा कक्षा १० मा अध्ययनरत दिक्षा गुरुङ लकडाउनको समय पृथक तरिकाले उपयोग गरेको बताउँछिन् । ‘लकडाउनको समयलाई घरमा सपरिवारको साथ सुरक्षित तरिका अपनाएर पुस्तक पढ्दै, नयाँनयाँ ज्ञानबद्र्धक चलचित्र हेर्दै, गीत सङ्गीत सुन्दै, खेल खेल्दै बिताउँदै छु ।’ विभिन्न खानेकुराका परिकारहरु बनाउन सिक्दै र विद्वान व्यक्तित्वहरुको जीवनी पढेर दिक्षाले समयको सदुपयोग गर्दै आएको बताउँछिन् ।

कुशल बस्नेत देवी मावि बिर्तामोडमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् । लकडाउनको यो समयमा आफैसँग भएको पुस्तक पढेर उनले दिनहरु कटाउँदै रहेछन् । लकडाउनले हामी आफैंमा आत्मनिर्भर हुनुपर्छ र म आफू को हो भन्ने कुरा बुझ्नु जरुरी रहेछ भन्ने सिकाएको उनको तर्क छ । परीक्षा नभए पछि पढ्न मन लाग्न छोडे पनि बेलाबेला पुस्तक हेर्ने उनले बताएका छन् ।

केशव भण्डारी मनकामना कलेज बिर्तामोडमा अध्ययनरत अर्का विद्यार्थी हुन् । जो गत वैशाख १७ गतेबाट सुरु हुने स्नातक तह चौथो वर्षको परीक्षार्थी समेत थिए । उनले घरमै बसेर केही फरक किसिमका क्रियाकलाप गरेर, गीत संगीतमा रमाउँदै, फिल्म हेर्दै लकडाउनको सदुपयोग गरिरहेको बताउँछन् । लकडाउनले प्रकृतिको पनि ख्याल गर्नु पर्दोरहेछ, खाली पैसा–पैसा भनेर कुद्नु मात्र होइन रहेछ, आफ्नो घर परिवारलाई समय दिनुपर्छ भनेर सिकाएको उनको बुझाई छ । ‘परीक्षाको लागि रुटिन प्रकाशन भएदेखि नै तयार गरिरहेको थिएँ तर परीक्षा नभए पछि अहिले किताबतिर मन जानै छोडेको’ भण्डारी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *