Sajhamanch Archive

कोभिड–१९, शिक्षा र प्रविधि

Published: in विचार/ब्लग, समाज, स्वास्थ्य, by .

कोभिड–१९ को कहरबाट सारा विश्वनै आक्रान्त छ । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा यसको प्रभावबाट सायदै कोही बन्चित होला । म एक रेसिडेन्ट चिकित्सक, कसरी अछुतो रहन सक्छु । बिरामी जाँच्दाको त्रासदेखि आफ्नो पढाइमा आएको उथलपुथलले दैनिकी कठिन बनेको छ । बेलामौकामा अनलाइन कक्षामा भने उपस्थित हुँदैछुु। तर जतिपटक म मेरो कम्प्युटरको अगाडि बस्छु, मेरो दिमागमा एउटा प्रश्न आउने गर्छ । के सबै नेपाली विद्यार्थीको पहुँच भित्रको विषय हो यो ?

ईश्वरको कृपाले यस लकडाउनको बेलामा पनि बिहान बेलुका हात जोर्न गाह्रो छैैन मलाई । तर सबै नेपाली जनता त्यति भाग्यमानी कहाँ छन् र ! भोककै कारण ज्यान गुमाएका पनि समाचार पढियो । बिहान बेलुका हातमुख जोर्न नसक्नेलाई के को ईन्टरनेट, के को कम्प्युटर ? अनि अनलाइन कक्षाको त कुरै छोडौं । निम्न वर्गीय परिवारमा हुर्केका विध्यार्थीहरु अरु बेलै त बेलामौकामा मात्र विद्यालय जान्थे । एकदिन भए पनि ज्याला मजदूरी गरेर पेट भर्न पाइन्छ भन्ने हुन्छ उनीहरुलाई । हो खानु लाउनु नै मानिसको जीवनको पहिलो प्राथमिकता हो ।

अर्कोतिर शिक्षकका आफ्नै समस्या । अलि अगाडिको पुस्ताले जसोतसो सामाजिक सञ्जाल फेसबुक चलाए पनि कक्षा नै सन्चालन गर्न भने गाह्रो छ । स्वभाभिक कुरा हो, उहाँहरुको जमानामा प्रविधीले मानव जीवनलाई त्यति गाँजेको थिएन । अहिले आएर समयसंगै पाइला सार्नु उहाँहरुको निम्ति एउटा चुनौती थपिदिएको छ ।

मेरो आमाबाबा दुवैजना प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ । दश महिनामा सेवाबाट अवकाश लिनुहुने मेरो बाबा बिहान बेलुकी मसँँग जूम चलाउन सिक्नु हुन्छ । दिउँसो भर्चुअल क्लासमा पढाउन बस्नुहुन्छ । ६० जनाको कक्षामा ४ जनाको उपस्थिति हुन्छ । कसैको मोबाइल छैन त कसैको इन्टरनेट । कसैको गाउँमा नेट टिप्दैन त कसैको बत्ती नै छैन भन्ने कुरा सुनिन्छ । ती विद्यार्थी स्वयम्ले कति सही वा गलत भने त्यो उनीहरुलाई नै छाडिदिने हो भने पनि यथार्थ कुराचाहिँ धेरैजनाले भर्चुअल क्लास (अनलाइन) लिन सम्भव छैन ।

उसोभए कसका लागि त यो अनलाइन शिक्षा ? सधैंजस्तै हुनेखाने र समाजका ठूलाबडा भनाउँदाहरुलाई । उनीहरुका छोराछोरीसंग आइफोन छ, आइप्याड छ अनि म्याकबुक पनि छ । यी विध्यार्थी अवस्य पनि महँगा निजी विध्यालयका विध्यार्थी हुन् । सरकारी विद्यालय र बिश्वबिद्धालयका विध्यार्थी त यस लकडाउनका बेला खाली पेट सुत्न बाध्य छन् । चाहे देशमा गणतन्त्र आएको वर्षौं किन नहोस् । विकासित मुलुकहरूले त प्रभावकारी रुपमा अनलाइन कक्षा सन्चालन गर्न नसकेको स्थितिमा हाम्रो देशमा यसको थालनी गर्नुमात्र होइन भर पनि पर्नु कत्तिको सम्भव होला ?

गरिबीको चपेटामा रहेका विद्यार्थी, दक्षता नभएका शिक्षक । यसो हेर्दा अहिलेको अवस्थामा यो एउटा महत्वाकांक्षा जस्तोमात्र देखिन्छ । तर यसको आशय अनलाइन कक्षा नै नगरौं भन्ने चाहिँ पटक्कै होइन । नेपालको सन्दर्भमा, यो अवधारणा एउटा नवजात शिशुको अवस्थामा छ। यसलाई अलि बढ्न, हुर्कन र फस्टाउन दिनु उपयुुक्त हुन्छ ।

प्रविधि धनी गरिब सबैको हातमा पुर्याऔं । अनि बिस्तारै अघि बढौँ । यसोगर्दा सबैलाई शिक्षाको समान अधिकार् सुनिश्चित होला, संरक्षण होला । नभए, यसले हुनेखाने र हुँदाखानेबीचको खाडललाई झन् बढाउने काम बाहेक केही गर्दैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *