Sajhamanch Archive

कोरोनाको सन्त्रासमा रेडियोकर्मीहरु झन् जिम्मेवार हुनुपर्ने

Published: in विचार/ब्लग, by .

नेपाललगायत विश्वका २१० वटा मुलुक कोभिड १९ कोरोना भाईरसबाट ग्रसित छन् । कोभिड १९ को महामारीले विश्वका शक्तिशाली मानिएका र भनिएका देशहरु भयभित छन् । विश्वका शक्तिशाली देश आफ्ना नागरिकलाई कसरी यो महामारीबाट जोगाउने र कमभन्दा कम क्षति होस् भनेर योजना बनाइरहेका छन् । विश्वका अधिकांश देशहरु स्वास्थ्य संकट र लकडाउनको अवस्थामा छन् । अधिकांश शक्तिशाली राष्ट्रहरुमा पनि आर्थिक गतिविध ठप्प प्राय छ ।

नेपालमा पनि कोभिड १९ को प्रकोप निणन्त्रण तथा रोकथाम गर्न सरकारले अघिल्लो वर्षको चैत्र ११ गतेदेखि लकडाउन शुरु गरेको हो, जुन आजसम्म जारी छ । विश्वमा २ लाख ८८ हजार हाराहारी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ। संक्रमित हुनेको संख्या दिनमा २ गुणा र रातमा चौगुणा दरमा छ । यो तथ्याङ्क हेर्दा लाग्छ महामारी तत्काल रोकिनेवाला छैन र यसले धेरै समय विश्वलाई आक्रान्त पार्नेछ ।

द्वन्द्व या प्राकृतिक प्रकोपको समय होस् वा परिवर्तनको मुख्य बिन्दूमा संचार माध्ययमको भूमिका निकै महत्वपूर्ण मानिन्छ । विश्वको सन्दर्भमा प्रविधिले निक्कै फड्को मारिसकेको छ ।संचार माध्यमको हिसाबले नेपालको भरपर्दो र सूचना सम्प्रेषणको क्षेत्रमा रेडियो नै मुख्य मानिँदै आएको छ । पछिल्लो समय अनलाइन मिडिया अग्रभागमा भए पनि सबैको पहुँच र सर्वसुलभ माध्यम रेडियो नै हो । संचार क्षेत्रमा कार्यरत संचारकर्मीले जस्तोसुकै परिस्थितिमा पनि अग्रभागमा उभिएर आफ्नो व्यवसायिक धर्म पूरा गरेका छन् । महामारीको यो बेला रेडियो स्टेशनहरुको भूमिका कस्तो हुनुपर्दछ ? र, यस्तो बेलामा उनीहरुलाई आईपर्नसक्ने चुनौतीलाई समाधान गर्दै कसरी रेडियो प्रसारणलाई कसरी उपयोगी बनाउन सकिन्छ भन्ने सन्दर्भमा केही कुरा यहाँ उल्लेख गरिएको छ ।

                      सरोज पौडेल

नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजै रेडियोको प्रसारण पुगेको हो । आजको मितिमा पनि संचारका माध्ययमहरु मध्ये रेडियो नै सबैभन्दा बढी लोकप्रिय छन् र रेडियो सबैको पहुँचमा पनि छ । रेडियोमा नागरिकहरुको सहज पहुँच भएका कारण नै रेडियोप्रतिको विश्वास पनि नागरिकमा उतिकै छ । त्यसकारण यस्तो महामारीका बेलामा रेडियोको भूमिका निकै प्रभावकारी मानिन्छ ।

नेपालमा कोरोना प्रकोपसँगै लकडाउन सुरु भएपछि जुन किसिमले जनताको सहज पहुँचमा रहेका रेडियोहरुले भूमिका खेल्नु पर्दथ्यो त्यस्तो पाइएको छैन । यहाँ सबैलाई त्यसो भन्न खोजिएको होइन, केही रेडियोहरुले अत्यन्तै राम्रा काम गरेको उदाहरण पनि छन् । उनीहरुले नागरिकलाई सचेतना गराउने, चेतनामुलक रेडियो कार्यक्रमहरु संचालन गर्ने, स्थानीय तहलाई निरन्तर खबरदारी गर्ने काम पनि गरेका छन् । यो प्रशंशनीय छ ।

तर धेरैवटा रेडियोको प्रसारण भने यस्तो बेलामा कर्मकाण्डी मात्रै बनेका छन् । केन्द्रीय नेटवर्कबाट प्रसारण भएका समाचार बुलेटिन र कार्यक्रमहरु बजाईदिने अनि आफूचाहिँ हाईसन्चो सुत्ने प्रवृति झापाका रेडियोहरुमा महामारीका दौरान पनि देखिएका छन् । यस्तो हुनुमा थुप्रै अप्ठ्यारा र चुनौतीहरु होलान् । त्यसलाई नकार्न सकिँदैन तर यस्तै बेलामा नागरिकले स्थानीय रेडियोको अब्बल भूमिका खोजिरहेका हुन्छन् । स्थानीय रुपमा संचालनमा रहेको एफएम स्टेशनहरुबाट उनीहरु आफ्नै गाउँ ठाउँका समाचारहरु र आफ्नै ठाउँका मान्छेका कुराहरु सुन्न खोजिरहेका हुन्छन् ।

यो कोरोनाको महामारीका सन्दर्भमा विश्वभर स्थानीय रुपमा खुलेका रेडियोहरुको भूमिका कस्तो हुनुपर्छ ? उनीहरुको उत्पादन यो बेला कस्तो हुनुपर्छ ? प्रसारणको शैली कस्तो हुनुपर्छ ? भन्ने विषयमा व्यापक बहस चलिरहेको छ । तर दुःखका साथ भन्नुपर्छ हाम्रा स्थानीय रेडियो संचालकहरु यो कुराबाट बेखबर छन् । उनीहरु उही पुरानै शैलीमा रमाइरहेका छन् । उही काठमाडौंमा नेटवर्कले तयार पारिदिएको समाचार र कार्यक्रम बजाएर आफ्नो दायित्व र कर्तव्य पूरा गरेको मानिरहेका छन् । रेडियो प्रसारकहरुको सञ्जालका नेता कै रेडियोको हविगत यस्तै देखिन्छ । तर त्यो आत्मरति मात्र हो । यस्तो बेलामा आफ्ना स्रोताहरुलाई अपनत्व महसुस गराउन नसक्नु भनेको कमजोरी हो । युद्धको सिपाही जस्तै बाधा व्यवधान र कठिनाई छिचोल्दै कमान्डरले जसरी हौसला दिन्छ त्यसरी नि संचारकर्मीले आम नागरिकलाई हौसला दिन आवश्यक छ ।

समस्या र चुनौतीलाई देखाएर रेडियो स्टेशनले पूरा गर्ने आफ्नो दायित्वबाट पछि हट्न पाइँदैन, हुँदैन । व्यवसायिक रेडियोले म व्यवसायिक हुँ त्यसकारण जोखिम मोल्दिन बन्द गरेर बस्छु भन्न पाउँदैन, मिल्दैन । यसकारण यस्तो बेलामा रेडियो स्टेशनहरु जति संवेदनशिल भएर काम गर्नुपर्ने हो त्यो देखिएको छैन । कतिपय अवस्थामा सिधा काठमाडौमा तयार भएका नेटवर्क बजाउने बाँकी आफू तातोभुत्लो केही नगरी बस्ने रेडियो स्टेशन पनि भेटिएका छन् । कतिपय रेडियोकर्मी साथीहरू ह्या सिङ्गो देश लागिरहेको छ, हामी मात्र के नै गर्न सक्छौ र छँदैछ पछि गरौंला न भन्ने प्रसस्त मात्रामा छन् । यस्तो कुराले हाम्रो व्यावसायिक धर्म पूरा भयो त ?

एउटा उदाहरण भनौं, साबुन पानीले हात धोऔं, मास्क लगाऔं भन्ने कुरा काठमाडौंको कुनै मान्छेले भनेको भन्दा आफ्नै गाउँठाउँको सधै देखिरहने मान्छेले रेडियोबाट भन्यो भने त्यो बढी प्रभावकारी हुन्छ । यो नै हो स्थानीय रेडियोहरुको विशेषता । लाखौं खर्च गरेर पढेको डाक्टरले उपचार गर्दिन भन्यो भने, रास्ट्रसेवक प्रहरीले बर्दी छोडेर हिंड्यो भने कस्तो होला अवस्था ? कल्पना पनि गर्न सकिन्न ।

स्रोतसाधन, जनशक्ति, लकडाउन, पारिश्रमिक दिन नसक्ने कुरा यावत्, तर यसो भनेर यो महामारीका बेलामा उम्कन मिल्दैन, पाइँदैन । जिम्मेवार बन्न सक्नु पर्यो मिडिया हाउस । उनीहरुको सुरक्षा र अवस्थाको बारेमा कमाइको आधारमा होइन कामको आधारमा पारिश्रमिक दिने व्यवस्था गरिनु पर्यो । यो अवस्थामा संचारकर्मीलाई प्रोत्साहन गर्नु उनीहरु नैतिक जिम्मेवारी पनि हो । किनभने यस्तो बेलामा जनतालाई निरन्तर साथ दिनु स्थानीय रेडियोको कर्तव्य हो । यो कर्तव्यबाट पछि हट्न मिल्दैन। भएका अप्ठ्यारा र चुनौतीहरको सामना गरेर भएपनि यो बेलामा रेडियो सामाग्रीहरुको गुणस्तरमा कमी गर्न पाइँदैन । अझ यस्तोबेलामा त साविकभन्दा बढी खट्नु पर्छ । यसका लागि सुरक्षाका सबै उपायहरु अबलम्बन गर्नुपर्ने कुरामा विशेष ख्याल गर्न पनि आवश्यक छ ।

रेडियोहरुका छाता संस्थाहरुको पनि यो बेलामा रेडियो स्टेशनहरुलाई गर्ने सपोर्टमा खासै केही गरेको देखिँदैन । महामारीकै कारण प्रसारण गर्न नसक्ने वा आंशिक प्रसारण गर्न पर्ने वा अन्य समस्याहरु छन् भने त्यसको समाधान गर्न छाता संस्थाले पहल गर्नुपर्छ । तर छाता संस्था भएको अनुभव यो बेलामा रेडियो स्टेशनहरुले गरेका छैनन् । यो अर्को दुर्भाग्य हो । झापामा १५ वटाभन्दा बढी एफएम रेडियो संचालनमा छन् । हुन त क्षेत्र र भूगोल अनुसार सबैको भूमिका आआफ्नो ठाउँमा सम्मान योग्य छ। यो महामारीको बेलामा पत्रकारलाई सहयोग गर्नु सत्य तथ्य सूचना दिनु सबैको क्षेत्रगत धर्म पनि हो । हाल जनताले यस्ता रेडियोलाई मन पराएका छन् जुनले वर्तमान अवस्थाको चियोचर्चा गर्दै सुसुचित गराएका छन् ।

कृही रेडियोबाट कोरोना सम्बन्धी विशेष बुलेटिन तथा परिस्थिति जन्य सामग्री सम्प्रेषण गर्दै स्रोताको मन जित्न पाएका छन् । पछिलो समय रेडियोको भूमिका र आवश्यकताको विसयमा विभिन्न विचार विमर्श हुँदै आएपनि यतिबेला भने रेडियोको महत्त्व अनुकरणीय बनेको छ । अनावश्यक रुपमा संचालनमा आएका केही अनलाइन र युटुब च्यानलले आम संचार माध्यम र विश्वसनियता माथि नै प्रश्न चिन्न खडा गराउँदै पनि आएको छ। नेपाली समाज विभिन्न धर्म, भाष, वर्ण र भूगोलका बीच एकता कायम रहेर निर्माण भएको छ । यो अवस्थामा स्थानीय रेडियोको अर्को महत्वपूर्ण पाटो भनेको स्थानीय भाषामा कार्यक्रमहरु प्रसारण गर्नु हो । स्थानीय समुदायले बोल्ने भाषामा यो महामारीका बेलामा सन्देशहरु, सूचनाहरु, समाचारहरु, कार्यक्रमहरु दिन सकियो भने त्यो निकै प्रभावकारी हुन्छ ।

के हामीले यसो गरिरहेका छौं त ? होइन, केही बाहेक सबैले अहिले यो संकटका बेलामा अधिकांश स्थानीय रुपमा खुलेका रेडियो स्टेशनहरु काठमाडौंका नेटवर्कका रिले स्टेशन मात्र भएका छन् । यस्तो बेलामा हामीले स्थानीय स्तरमा बोल्ने भाषाहरुमा सूचना सन्देशहरु समाचारहरु प्रसारण गर्न जरुरी छ । यसले स्रोताहरुमा अपनत्व महसुस गराउँदछ र त्यसको प्रभाव उनिहरुमा पर्दछ । यसले बल्ल हामीले गरेको प्रसारणको अर्थ हुन्छ ।

कतिपय रेडियोले समाचार वुलेटिनहरु घटाएका छन् । तर यसको ठिक विपरित यस्तो अवस्थामा समाचार बुलेटिनको संख्या बढाउन आवश्यक हुन्छ। किनकी धेरैभन्दा धेरै जानकारी ति बुलेटिन मार्फत दिन आवश्यक हुन्छ । यस्तो अवस्थामा अरु विषयवस्तुहरु कम प्राथमिकतामा पर्ने भएकोले कोरोना भाइरससँग समबन्धित रेडियो सामग्रीहरुलाई बढी स्थान दिई प्रमुख प्राथमिकताका साथ प्रसारण गर्न आवश्यक छ । के हामी यो गरिरहेका छौं ? रेडियो संचालक, व्यवस्थापक र रेडियोकर्मीहरुले यो बेला गम्भिर भएर सोच्न आवश्यक छ । काठमाडौ र मन्त्री केन्द्रित होइन स्थानीय सुरक्षा, स्वास्थकर्मी, स्वास्थसँग जोडिएका ब्यक्तिहरुको बाइट श्रोताको लागि विश्वासिलो हुन्छ ।
समाजको अगुवा र सूचनाको सम्बाहक रेडियोकर्मी तर्सने बेला हैोइन यो । आफू सुरक्षित रहँदै आफ्नो जिम्मेवारी पूरा गरौं ।

भोकाएका तिर्खाएकाहरुका लागि संचारमाध्यम पूलको रुपमा उभिन सक्नुपर्छ । सत्ता पल्टाउने र सुरक्षित राख्ने, दम राख्ने संचारमाध्यम र हामी सत्यतथ्य सूचना सम्प्रेषण गर्न युद्धको सिपाही झै गल्नु र स्वास्थकर्मी थाक्नु हुन्न । मानव जीवन रक्षाको यो लडाइँमा हाम्रा सूचना गलत हुनुहुँदैन ।

संकटको बेला सही सूचना प्रवाह गरेर नेपालको रेडियोहरुले कयौं नागरिकको ज्यान तथा स्वास्थ्य जोगाएको ताजा इतिहास हामीमाझ छर्लङ्ग छ । चाहे जनआन्दोनका बेलामा रेडियोहरुले खेलेको भूमिका होस् चाहे त्यो २०७२ सालको बिनासकारी भुकम्पको बेला सूचना सन्देश प्रवाह गरेर किन नहोस । यो पटक पनि रेडियोहरु चुक्नु हुँदैन । त्यसकारण गरिरहेका छौं, अझै प्रभावकारी गरौं । गरेका छैनौ आजै देखि लागौं । जस्तो सुकै बन्द हट्ताल होस् सुचना दिनु संचारकर्मीको पहिलो धर्म हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *