Sajhamanch Archive

प्रदेश १ को कोभिड जनसुरक्षा कोषमा साना किसानको साढे ४ लाख सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज, सहकारी by .

बिराटनगर । प्रदेश १ मा क्रियाशील साना किसान कृषि सहकारीहरु तथा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कोभिड जनसुरक्षा कोषमा मंगलबार चार लाख ५७ हजार रुपैयाँ जम्मा गरिएको छ । प्रस्तावित प्रदेश कृषि सहकारी संघ मार्फत तीन लाख ५७ हजार रुपैयाँ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश इलाका कार्यालयको तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिएको बिर्तामोड इलाका कार्यालयका प्रबन्धक सुभाष गौतमले जानकारी दिएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सातै प्रदेशको कोरोना जनसुरक्षा कोषमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १–१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुरुप प्रदेश १ मा क्रियाशील वित्तीय संस्थाका दुईवटा इलाका कार्यालयहरुको तर्फबाट कोभिड जनसुरक्षा कोषमा एक लाख रुपैयाँ सहयोग गरेको इलाका प्रबन्धक गौतमले जानकारी दिए ।

उक्त रकम बराबरको चेक बिर्तामोड इलाका कार्यालयका प्रबन्धक गौतमले मुख्य मन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । प्रदेश १ मा बिर्तामोड र इटहरीमा गरी संस्थाका दुईवटा इलाका कार्यालयहरू सञ्चालित छन् । कोभिड–१९ को व्यवस्थापनका लागि लघुवित्त वित्तीय संस्थाले संघीय सरकारको कोषमा १० लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

त्यसैगरी प्रदेश १ का साना किसान कृषि सहकारी संस्थाहरूले प्रस्तावित प्रदेश कृषि सहकारी संघमार्फत तीन लाख ५७ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल केन्द्रीय कृषि सहकारी संघका उपध्यक्ष तथा झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मीना ढकाल तथा प्रस्तावित प्रदेश कृषि सहकारी संघका अध्यक्ष खगेन्द्रराज भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उक्त दुवै सहयोग राशी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको हो । चेक तथा नगद राशी ग्रहण गरेपछि मुख्यमन्त्री राइले प्रदेश सरकारलाई संकटको घडीमा आर्थिक सहयेग गर्ने संघ–संस्था तथा मानवीयताका धनीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *