Sajhamanch Archive

नेपाल–भारत दशगजामा अलपत्र बनेका १२ सय नेपालीलाई मेचीनगरले उद्धार गर्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

मेचीनगर । विश्वभर नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण एवम् सन्त्रासका कारण आतंकित भइरहेको समयमा भारत सरकारले सम्झौता उल्लंघन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको मेचीनगरका प्रमुख बिमल आचार्यले आरोप लगाएका छन् ।

‘जो जहाँ छ त्यही देशको क्वारेन्टिनमा राख्ने नेपालसँगको सम्झौता भएको थियो’ शुक्रबार पत्रकार सम्मलेन गर्दै नगरप्रमुख आचायर्यले भनेका छन् ‘अहिले भारतले एकतर्फीरुपमा सम्झौेता तोडेर अमानवीय ढंगले १२ सय नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर भोकभोकै बस्न बाध्य बनाएको छ ।’

भारतले बोर्डरमा भोकभोकै बनाएपछि बाध्य भएर नेपालले आफ्ना नागरिकलाई उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको नगरप्रमुख आचार्यको भनाई छ । उनले लकडाउनका बेला पनि भारतीय क्षेत्रबाट आएर दशगजामा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

दशगजामा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फर्काएर क्वारेन्टिनमा राख्नका लागि आदर्श माध्यमिक विद्यालय आयाबारी, रामघाट दिव्यधामको भवन, राधास्वामी भवन तथा मेचीनगर ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्रमा व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा नगरप्रमुुख आचार्यले जानकारी दिए ।

नगरप्रमुख आचार्यले मेचीनगरबासी जो अहिले भारतसहित अन्य मुलुकमा रोजगारी गरिरहेका छन् उनीहरुलाई स्वदेश फर्काएर उनीहरुको सीपलाई नेपालमै उपयोग गरी रोजगारको अवसर प्रदान गर्ने आश्वासन पनि दिएका छन् ।

पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकरभिट्टा आसपासमा १२ सय नेपाली नेपाल आउन तयार रहेको हुँदा तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर शनिबार झापाका १५ वटै पालिकाका प्रमुखहरुसँग प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग निर्णायक छलफल हुने नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

काँकरभिट्टाबाट भित्रिने नेपालीहरुमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टिनमा राखिने र नगरक्षेत्र बाहिरका मानिसलाई काँकरभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाउने तयारी रहेको उपप्रमुख मीना उप्रेतीको भनाई छ ।

नगर बाहिरकालाई राख्नै पर्ने अवस्था आए बढीमा डेढ सयसम्मलाई धुलाबारीको राधास्वामी भवन र रामघाट दिब्यधाम भवनमा क्वारेन्टिनका लागि राखिने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *