Sajhamanch Archive

कोरोनाबाट जोगिन यसो गर्न मनोविद्को सुझाव

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्वास्थ्य, by .

कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। विशेष गरी धेरै मानिसमा तनावको समस्या देखिन थालेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको रणनीतिक पत्रमा महामारी विरुद्धको अभियानको क्रममा सबै देशलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था पनि गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर सेवा प्रदान गर्न अपिल गरेको छ ।

प्राकृतिक विपत्ति वा प्रकोप पर्दा, मानव सृजित घटनाहरू तथा कोरोना भाईरसजस्ता संक्रमणको कारणले रोग व्याधी फैलिँदा मनोसामाजिक समस्याको जोखिम बढेर जान्छ । शरीर र मन एक अर्काका परिपूरक हुन् । रोगको संक्रमण बढ्दा शारीरिक स्वास्थ्यमा असर पर्ने नै भयो, साथै मानसिक स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । शरीरमा रोग लाग्छ यसको असर मनमा पनि पर्छ । साथै मनमा समस्या आउँदा अर्थात् मानसिक वा मनोसामाजिक समस्या हुँदा शारीरिक लक्षणहरू पनि देखिन्छन् ।

लक डाउनको बेला सेल्फ क्वारेन्टाइन् वा सेल्फ आइसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्याउनु पर्छ । अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्याउँदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढ्छ । कोरोनाको प्रकोपले स्वभावैले मानिसहरूको मनमा पनि असर पुर्याएको छ । तनाव, डर, चिन्ता, अनिन्द्रा, छट्पट्टी, नैराश्यताजस्ता लक्षणहरू मनमा देखिन थालेका छन् । यसलाई असहज अवस्थामा देखिने स्वाभाविक प्रतिक्रियाको रूपमा लिईन्छ । धेरैको लागि यस्ता असरहरू अस्थाई हुन्छन् ।

समय बित्दै जाँदा ढिलोचाँडो प्रायः मानसिहरू आफै पूर्वावस्थामा फर्कन सक्छन् । केहीलाई भने पूर्वावस्थामा फर्कन गाह्रो पर्न पनि सक्छ। यस्तो हुँदा विज्ञको सहयोग पनि चाहिन सक्छ । कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्याहरू :

१. एन्जाईटी (विभिन्न किसिमका डर–चिन्ताजन्य समस्याहरू) ।

२. डिप्रेशन ( दिक्दारिपना तथा आत्महत्याको सोचाई वा प्रयास) ।

३. मानसिक आघात् (पीडादायी घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग) ।

४. प्यानिक अट्ट्याक (एक्कासी बिनाकारण उत्पन्न हुने अत्याधिक त्रास) ।

५. समायोजनको समस्या (परिस्थितिसँग जुध्न नसकिरहेको अवस्था) ।

६. अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर्स (एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरैपटक दोहोर्याई रहने मानसिक रोग) ।

७. जाँड, रक्सी , लागुप्रदार्थको लत ।

८. कन्भर्सन डिस्अर्डर्स (डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या) ।

९. एक्युट् स्टेट्स् डिस्अर्डर्स (तत्कालै देखापर्ने तनावजन्य समस्या) ।

संकटको बेला मनमा पर्ने असर भने व्यक्तिपिच्छे फरक–फरक हुनसक्छन् । कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिङ्ग, स्वयम् व्यक्तिको शारीरिक, मानसिक अवस्था, व्यक्तित्व, परिस्थितिसँग जुध्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाव व्यवस्थापनको तवर–तरीका, दैनिक जीवनशैली, व्यक्तिले प्राप्त गरेको सहयोगजस्ता कुरामा भर पर्दछन् ।

विपत्तिको बेला कतिपय मानिसले संयमता गुमाउन पनि सक्छन् । उनिहरूले समस्यासँग जुध्न गलत उपाय वा तरीका अप्नाइरहेका हुन पनि सक्छन् । नचाहँदा–नचाहँदै नकारात्मक क्रियाकलाप गरिरहेका हुन सक्छन् । विपत्तिमा सबैले आफूलाई सम्हाल्न सक्छन् भन्ने पनि हुँदैन। उनीहरूलाई सहयोगको जरुरत पर्दछ । प्रकोपको मानसिक असर लामो समयसम्म नरहोस् तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस् भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ । विपत्तिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छट्पट्टी, मानसिक अशान्ति, नैराश्यता र यसको कारण आउन सक्ने व्यावहारजन्य गड्बडीलाई व्यवस्थापन गर्न दिईने सबै प्रकारका व्यावहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।

प्राथमिक मनोवैज्ञानिक सहयोग पाउँदा व्यक्तिको मनमा शान्ति, स्थिरता आउँछ, तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ र दैनिक जीवनमा फर्किन सजिलो हुन्छ । कोरोनाको संक्रमण बढेको बेला स्वयम् व्यक्तिले आफ्नो शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहार–सुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई स्व–हेरचाह भनिन्छ । आफ्नो मनको स्याहार–सुसार कसरी गर्ने ?

१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरू अपनाउदा मन ढुक्क हुन्छ । यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ ।

२. फुर्सदको बेला मानसिक तनाव नहोस् भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोनासम्बन्धी कुरा खेल्न पाउँदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढ्न सक्छ ।

३. कोरोनाको जोखिमबाट जोगिन सत्यतथ्य जानकारी लिने तर अति सतर्क नहुने, चाहिनेभन्दा बढी जानकारी लिन खोज्ने, समाचार पटक–पटक हेरिरहने जस्ता व्यवहार गर्नुहुँदैन ।

४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्नेभन्दा आफ्नो रुचिको काम गरेर समय बिताउन सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्ने, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बद्र्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरायसी काममा समय दिन सकिन्छ ।

५. तनाव कम गर्न शारीरिक व्यायाम, योग, मेडिटेशन, श्वास–प्रश्वासको व्यायाम, ध्यान केन्द्रित गर्ने अभ्यास तथा अन्य आरामदायी अभ्यासले ठूलो मद्दत पुर्याउँछ । तनावको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनावको बेला सजिलैसँग पच्ने तथा पोषणयुक्त आहार खानुपर्छ । जाँड रक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाव बढाउँछ ।

आफ्नो स्व–हेरचाहका बावजुद पनि कोरोनाको प्रकोपले गर्दा मनोसामाजिक समस्या देखा परेमा विज्ञको सहयोग लिनुपर्छ । लक डाउनको अवधिभर मार्क नेपाल मनोसेवा केन्द्रले नि:शूल्क मनोपरामर्श सेवा प्रदान गरिरहेकोछ ।

(लेखक ढकाल मनोविद् हुन् । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत ढकाललाई ९८१३५२७७३२ मा फोन गरेर सम्पर्क गर्न सकिनेछ ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *