Sajhamanch Archive

दक्षिणी झापामा भारतीयको दादागिरी, प्रहरीको गोली चल्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. १ मा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतीयहरुले नेपाली सुरक्षाकर्मीमाथि बल प्रयोग गरी जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि गोली चलेको छ ।

झापा प्रहरीले दिएको जानकारी अनुसार सयजना भन्दा बढी भारतीय नागरिकले नेपाली सुरक्षाकर्मी र अस्थायी पोस्टमा आक्रमणको प्रयाससहित नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् ।

कचनकवल १ स्थित घेराबारीमा रहेको १२५÷१० नम्बरको सीमा पिलर नजिकै खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका हुन् ।

प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि २०० जना भारतीयहरुको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।

‘भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेका छौं’ प्रहरी उपरीक्षक कोइरालाले आज बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘साँझमा घटना भएकाले आज आइतबार यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्ने तय भएको छ ।’

दक्षिणी सीमा क्षेत्रमा केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीयलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरू फेरि आएको हुनसक्ने अनुमान गरिएको छ ।

वैशाख २२ गते झापा गाउँपालिका ४ स्थित सुकुम्बासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलर क्षेत्रमा रहेको अस्थायी पोष्टमाथिको आक्रमण प्रयास भएपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको घटना सेलाउन नपाउँदै पूर्वी दक्षिणी सिमाना घेराबारी क्षेत्रमा भारतीयको दादागिरी देखिएको हो ।

यसअघि दुईजना भारतीयलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीयहरु आएर आक्रमणका प्रयास गरेका थिए । त्यसको भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीयहरूले गल्ती स्वीकार्दै माफी मागेका थिए । तर, भारतीयको मिचाह प्रवृत्ति सच्चिन सकेको छैन । गल्ती गर्ने र माफीको नाटक गर्ने प्रबृत्ति नरोकिएको प्रति सुरक्षा चिन्ता बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *