Sajhamanch Archive

‘गरीबसँग दशैं कार्यक्रम यसैवर्ष सुरु गर्दैछौं’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह by .

झापाको बिर्तामोडस्थित महानन्द चोकबाट उत्तर तथा कप्तानबारीको दक्षिणी भागमा पर्ने अर्जुनभारा नगरपालिकाको ६ नम्बर वडा भौगोलिक रुपमा निकै राम्रो क्षेत्र मानिन्छ ।

गत स्थानीय चुनावमा सो वडामा अध्यक्ष पदका लागि चारजना उम्मेदवार मैदानमा थिए । नेकपा एमालेबाट लोकनाथ गौतम, नेपाली कांग्रेसबाट रमेशकुमार काफ्ले, माओवादीबाट मेघराज आचार्य र स्वतन्त्र उम्मेदवार हरिश्चन्द्र बाँस्तोला मैदानमा थिए ।

चार जनामध्ये सबैभन्दा धेरै ८८७ मत ल्याएर नेकपा ऐमालेका उम्मेदवार गौतम विजय भएका थिए । कांग्रेसका काफ्लेको ६३०, बाँस्तोलाको ४२२ तथा माओवादीका आचार्यले २६० मत प्राप्त गरेका थिए ।

स्थानीय चुनावमा उत्कृष्ट जनमत प्राप्त गरेर जनसेवक बनेका तत्कालीन एमालेबाट विजयी गौतमले यो एक वर्षको अवधि के कस्ता काम गरेर बिताए ? जनप्रतिनिधि हुँदाको अनुभव एवम् जिम्मेवारीका बारेमा आज हामीले गौतमसँग कुराकानी गरेका छौं ।

तपाईं अर्जुनधारा वडा न. ६ को वडाध्यक्ष बन्नु भएको एक वर्ष बितेको छ । यो अवधिमा जनप्रतिनिधि भएको कस्तो अनुभूत गर्दै कार्य सम्पादन गर्नु भयो ?

दैनिक प्रशासनिक र जनसरोकारका काम अनि मुद्धा मामलामा सहजीकरण गरेर यो वर्ष बितेको छ । २० वर्ष पछि स्थानीय चुनाव भएका कारण थुप्रै कामहरु अस्तव्यत थिए । एक वर्षे अवधिमा विगत वर्षहरुमा भेलबाढीले भत्काएका संरचनाको पुनः निर्माण गरियो । वडाभित्रका दुईवटा पूल बाढीका कारण भत्किएका थिए, तिनको निर्माण गरियो । वडाभित्र ११ सय मिटर बाटो कालोपत्रे गरियो । वडालाई खुल्ला दिसामुक्त बनाइयो । गाउँघर क्लिनिकको व्यवस्था गरियो । बृद्धबृद्धाहरुलाई देशदर्शनमा लगियो । यस्तै यस्तै कार्य सम्पन्न गरिएको छ ।

तपाईंले चुनावमा जारी गर्नुभएको घोषणपत्रमा उल्लेख गरेका कुन कुन कार्यहरु पूरा गरेँजस्तो लाग्छ ?

हामीले घोषणापत्रमा उल्लेख गरेका सडकमा बत्ती बाल्ने योजना पूरा गरेका छौं । देश दर्शनको कार्य पूरा गरेका छौं । भत्किएका संरचनाको पुनः निर्माण गर्ने तथा बाटो फराकिलो बनाउने, स्तरोन्नति गर्ने कार्य सम्पादन गर्दैछौं ।

उच्च शिक्षा अन्तरगत स्नातक तहमा गरीब परिवारका छोराछोरी पढ्नबाट बञ्चित हुन नदिन छात्रवृत्तिको कार्यक्रम यसपालीबाट ल्याएका छौं । स्वस्च्छ खानेपानी वितरणको कार्यक्रम सञ्चालन पनि यस वर्षदेखि सुचारु हुँदैछ । भइरहेका छन् र हुँदै–गरिँदै जानेछन्, मेरो कार्यकालभरमा घोषणपत्रमा उल्लेख गरिएका सबै काम सम्पादन गर्ने जमर्को गर्नेछु ।

वडाध्यक्ष भनेका स्थानीय सरकारका मन्त्रीहरु हुन् । तपाईंले पालिका सरकारबाट केही जिम्मेवारी पाउनु भएको छ कि ?

स्थानीय सरकारबाट अतिरिक्त जिम्मेवारी त्यस्तो केही तोकिएको छैन । तर आफू जननिर्वाचित प्रतिनिधि भएकाले सबैभन्दा पहिले आफ्नो वडाभित्रको सामाजिक कार्य, सामान्य मुद्धा मामिला तथा वडाको विकास निर्माणका लागि तल्लीन भएर लाग्ने गरेको छु । कानूनतः हामी वडाध्यक्षहरु गाउँका मन्त्री भएकाले जनताले आवश्यकता ठानेका काम गर्ने गरेका छौं ।

यो आर्थिक वर्ष २०७५/०७६ का लागि तय गरिएका योजनाहरु के के छन् ?

नगरभित्र रहेका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षास्तर उन्नति गर्न तथा छात्रवृत्ति र विद्यालयको अतिरिक्त शैक्षिक सामग्री खरिदका लागि यो आर्थिक वर्षमा ५ लाख रुपयाँको बजेट विनियोजन गरेका छौं । युवा युवतीका लागि प्रजनन स्वास्थ्य, कानूनी, सामाजिक एवम् नैतिक शिक्षा कार्यक्रम सञ्चालन गर्नेछौ ।

अति नै गरीब र विपन्न परिवारलाई लक्षित गरी ‘गरीबसँग दशैँ कार्यक्रम’को थालनी गरी उनीहरुलाई दशैंका लागि खाद्यान्न सामग्री प्रदान गर्ने, युवामाझ खेलकुद कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम अघि सारेका छौं ।

स्थानीय सरकार गठन भएपछि जनताले कस्तो राहत महसुुस गरेका छन् कि नकारात्मक टिप्पणी हुँदैछ ?

अहिलेसम्म कुनै पनि खालको कसैबाट नकरात्मक प्रतिक्रिया आएको छैन । जनताको मन जितेर काम गरेको छु । सबैलाई समान व्यवहार गरेको छु । त्यस्तो नराम्रो केही पाएको छैन ।

प्रतिपक्षी दलहरुबाट कस्तो व्यवहार पाउनु भएको छ ?

मलाई लाग्छ, मेरो कोही पनि प्रतिपक्षी थिएन जस्तो अनुभव छ । किनकि हिजो प्रतिस्पर्धामा रहनु भएका नेपाली कांगे्रसका उम्मेदवार रमेशकुमार काफ्ले सो पार्टी परित्याग गरी आम निर्वाचनताका एमालेमा प्रवेश गर्नु भएको छ । हिजोको माओवादी पार्टी आज एउटै ने क पामा गाभिएका छौं । सबैलाई समेटेर लगेर होला सबैलाई एकै व्यवहार गरेर होला, अन्य पार्टीबाट पनि सोचेभन्दा राम्रो साथ पाएको छु ।

प्रस्तुतिः ज्ञानु घिमिरे

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *