Sajhamanch Archive

बर्खा सुरु नहुँदै कचनकवलको फूलबारी बस्ती डुवानमा, स्थानीय ससंकित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

भद्रपुर । झापाको पूर्वी दक्षिणी कचनकवल गाउँपालिका वडा नं. ५ स्थित साविकको पाठामारी फुलबारी बस्ती नजिकै निर्माणाधिन बाँध तथा झोडा पूलका कारण बर्खा शुरु नहुँदै दर्जनौं घर डुवानमा परेका छन् ।

तीन वर्ष अगाडि साविक जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पूल वारिपारी सडकसँग जोड्न गत वर्षबाट थालिएको बाँध निर्माणले फूलबारी बस्ती डुबानमा परेको हो । प्राविधिकले पानीको निकास दिनेगरी खोलाको बहाव क्षेत्र समेट्न नसक्ने नक्साङ्कन गरिदिएका कारण बस्तीमा डुवान समस्या आएको हो ।

पीडित स्थानीय रविना खातुनका अनुसार बाँध निर्माण थालिए पछि गत वर्षदेखि वर्षातमा हजारौं विगाह जमिन डुवानमा पर्न थालेको हो । यसवर्ष पनि पानीको निकास बन्द भएकै कारण बस्ती डुबानमा पर्न थालिसकेको छ ।

धानको बिऊ राख्ने समयमै खेतका गह्रा पानीले भरिएपछि धान रोप्न बिऊको समस्या हुने आशंका गरिएको छ । यस्तै पानीको निकास सहज बनाउन नसकिए रोपो कुहिएर धानबालीमा नोक्सानी हुने खातुनको गुनासो छ ।

स्थानीय जैमुद्धिन मियाँ भने आफ्नो जग्गा काटेर बाँध बनाउन गाउँपालिका अध्यक्षले ठाडो निर्देशन दिएको कारण आफू अन्यायमा परेको गुनासो गर्छन् । उनका अनुसार मेची नदीको पश्चिमी भंगालोबाट बग्ने पानी पनि झिङ खोलामा पस्ने कारण वर्षादमा खोलो भरिएर आसपास जमिनमा पस्ने गरेको छ ।

तर, खोलाको बहाव क्षेत्र खुम्चने गरी गाउँपालिकाले प्रदेश सरकारलाई इष्टमेट पठाएको भन्दै नवनिर्मित पूल वरपर प्रदेश सरकारबाट प्राप्त २४ लाख रुपैयाँले बनाउन थालिएको बाँधले बस्ती र खेतीयोग्य जमिन डुब्ने अवस्था आएको मियाँले आरोप लगाए ।

यता बाँध निर्माण स्थलमा भेटिएका निर्माण ठेकेदार कम्पनी गजबक्रम सापकोटा कन्स्ट्रक्सनका सञ्चालक दिलिप सापकोटा भने बाँध निर्माणमा पटकपटक जैमुद्धिन मियाले अवरोध गरेका कारण सम्पन्न गर्न नसकिएको बताउँछन् । उनले यस विवाद मिलाउन गाउँपालिकाले भूमिका नखेलेकै कारण समस्या आएको प्रष्ट पारे ।

सापकोटाका अनुसार प्रदेश सरकार मार्फत आएको २४ लाख ९८ हजार रूपैयाँमा पूलको पूर्व–पश्चिम सडकसँग जोड्ने लिङ्क निर्माण तथा उत्तर दक्षिण बाँध निर्माणको काम हुनेछ ।

निर्माण कम्पनीले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको स्थानीयको आरोपसमेत छ । निर्माणस्थल पुग्दा पुरानो बाँधबाटै ढुंगा, जाली निकालेर निर्माण कम्पनीले प्रयोग गर्दै गरेको पाइएको थियो ।

यस विषयमा जिज्ञासा राख्दा ठेकेदार कम्पनीका सञ्चालक सापकोटा पुरानो पूलको पिलर तथा बाँध हटाउनु पर्ने भएकोले भत्काइएको बताउँछन् ।

कचनकवल ५ का वडाध्यक्ष महेशलाल गणेशका अनुसार बाँध निर्माण विवाद वडाको पहलमा गाउँपालिकाले समाधान गरेको थियो । बस्ती डुबान रोक्न कुनै कसर बाँकी नराख्ने सहमति भएको थियो । तर, पछिल्लो पटकको विवादवारे आफू जानकार नरहेको भन्दै केहीदिन पछि निर्माणस्थलमा गएर निर्माणाधिन काम बारेमा बुझ्ने बताउँछन् ।

यता पटकपटक मोवाइल सम्पर्क गर्न खोज्दा पनि गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले फोन नउठाएका कारण गाउँपालिकाको विवाद समाधानको भूमिका बारे धारणा लिन सकिएन ।

नेपालको भारतीय सीमा क्षेत्रसित जोडिएको सिमान्त बस्तीका रूपमा रहेको सो क्षेत्रका भित्री सडकमा पानीको निकास दिन ह्युमपाइपको उचित व्यवस्थासमेत नभएका कारण डुबान हुने गरेको पीडित स्थानीय गुनासो गर्ने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *