Sajhamanch Archive

अलैंची सूचना केन्द्रको दोस्रो तलाको छत ढलाई गरियो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल अलैंची ब्यवसायी महासंघले झापाको विर्तामोडमा निर्माण गरिरहेको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको दोस्रो तल्लाको आज बुधबार ढलाई गरिएको छ ।

अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा बिर्तामोडको हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जमिनमा निर्माण भइरहेको भवनमा नेपाल अलैंची व्यवसायी महासंघको सचिवालयको पनि व्यवस्थापन हुनेछ ।

पहिलो तलामा सभाहल र सचिवालय एवम् दोस्रो तलामा सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने प्रयोजनले निर्माणाधीन भवन लकडाउनका कारण प्रभावित छ । यद्यपी कामदारहरु बीचमा सामाजिक दूरी कायम राख्दै निर्माणकार्य अघि बढाइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिएका छन् ।

भवन निर्माणका लागि १ नं प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ भने संघीय कृषि मन्त्रालयले पनि भवन निर्माणमा सहयोग गरेको छ । तीनतले सो भवनको लागत स्टिमेट दुई करोड रहेकोमा हालसम्म ८० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । भवन निर्माणमा अलैंची व्यवसायीहरुले पनि आर्थिक सहयोग गरेको उनले बताए ।

व्यवस्थित र प्रविधिसम्पन्न सूचना केन्द्र सञ्चालन गर्ने उद्देश्यले निर्माण शुरु भएको भवनलाई अलैंचीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नसमेत मन्त्रालयले सुझाव दिएको र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन आफूहरुले पाएको भट्टराईले बताए ।

नेपालमा वार्षिक लगभग पाँच हजार मेट्रिकटन अलैंची उत्पादन र पाँच अर्ब बराबरको वैदेशिक मुद्रा आर्जन हुने गरेको छ । तर, यो वर्ष विश्वव्यापी कोरोना भाइरस महामारीका लागि निर्यात घट्नसक्ने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *