कोरोनाको कहरले छेकेन चुलाचुलीको विकास निर्माणलाई
Published:
by .चुलाचुली (इलाम) । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देशैभर विकास निर्माणको कार्य ठप्प भएको बताइए पनि इलामको चुलाचुली गाउँपालिकामा भने खासै प्रभाव परेको छैन । दक्षिणी इलामको चुलाचुलीमा विकास निर्माण कार्यले निरन्तरता पाएको छ ।
सानामसिना योजना सञ्चालन गर्नुभन्दा ठूला योजना मात्र सञ्चालन गर्ने भनेर पाँचौं गाउँसभाबाट पारित भएका योजनाहरु अहिले लगभग सम्पन्न हुने अवस्थामा पुगेका छन् । विश्वमा नै महामारीका रुपमा फैलिरहेको कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर निर्माण कार्य सञ्चालन गरिएको दाबी गरिएको छ ।
गाउँपालिका कै मेघा प्रोजेक्टका रुपमा रहेको गाउँपालिकाको प्रशासनिक भवन २०७७ कात्तिक मसन्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए तापनि आउँदो असार मसान्तमा नै सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले जानकारी दिएका छन् ।
गाउँपालिकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी १५ वटा भवन निर्माणको कार्य सुरु गरेको छ । जस अन्तरगत वडा नम्वर १ मा ७६ लाख ८५ हजारको लागतमा वडा कार्यलयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्वर ३ मा ७४ लाख ६९ हजार रुपैयाँको लागतमा कार्यालय भवन निर्माण हुँदैछ । यस्तै वडा नम्वर ४ मा ८१ लाख १५ हजार र वडा नम्वर ५ मा ७५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताएका छन् ।
वडा कार्यालयहरु बाहेक १० लाख ७७ हजार रुपैयाँको लागतमा वडा नम्वर ३ मा मिलन क्लवको संयोजनमा बनाउँदै गरिएको सामुदायिक भवन, वडा नम्वर ६ मा १६ लाख रुपैयाँको लागतमा सगरमाथा आधारभूत विद्यालयको भवन र वडा नम्वर १ मा १६ लाख रुपैयाँको लागतमा बालज्योति माध्यमिक विद्यालयको भवन निर्माण कार्य धमाधम भइरहेको छ । यस्तै वडा नम्वर १ र २ को बीचमा पर्ने बाघद्वारा खोलामा पूल निर्माणको कार्यसमेत धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ ।
Comments