एनएमसी नमूना कृषि फर्मले जगाएको विश्वास
Published:
by .पृष्ठभूमिः
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले तेस्रो व्यवसायको रुपमा कृषि फर्म सञ्चालनमा ल्याएको छ । संस्थाले यो व्यवसायको लागि आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा १२ विगाहा जग्गा खरिद गरेको थियो । २०७५/०७६ मा थप ४ विगाहा जति जग्गा खरिद गरेर सिमाना मिलाउने, कार्यालय स्थापना गर्ने, जग्गाको घेराबारा गर्नेजस्ता प्राविधिक कामहरु गरिएका थिए । योसँगै करिव २–३ कठ्ठा जमिनमा कुरिलो लगाउने, करेलाको खेती, तरकारीका बेर्नाको उत्पादन र बिक्री, गाई गोठको पूर्वाधार निर्माणको केही काम र माछा पोखरी खन्ने काम भएको थियो । २०७६/०७७ को कात्तिकबाट पुनः कामको गति अगाडि बढाइयो । पोखरी खन्ने काम पूरा गरियो । एउटा पोखरीमा माछाको भुरा लगाइयो । गाई गोठको निर्माणको काम अगाडि बढ्यो । साइलेज घाँसको बंकर १ र २ निर्माण भयो । फर्मको डिजाइन, बाटो, शौचालय, पानीका बोरिङ खन्ने, कर्मचारीको व्यवस्थापन, युटिलिटी भवनको निर्माणजस्ता पूर्वाधारका कामहरु निरन्तर चलिरहेका छन् ।
कात्तिकदेखि नै कुरिलोलगायत तरकारीका विरुवा उत्पादन गरी बिक्री गर्ने, धान काट्ने मेसिन (रिपर) खरिद गरेर किसानलाई भाडामा लगाउनेजस्ता काम भए । किसानलाई चाहिने मेसिन उपकरण सस्तोमा भाडामा दिनेगरी किनेका छौं र भाडामा लगाउने गरिएको छ । यसले पनि केही आम्दानी दिन थालेको छ । हुन त यो अहिलेको हकमा नाफाको काम हुँदै होइन । तर अब किसानको उत्पादन लागत कम गर्न मेसिनको प्रयोगमा बानी पार्नुपर्छ भन्ने उद्देश्य रहेको छ । यस्ताो देखियो पनि । जस्तै मानिस लगाएर धान काट्दाभन्दा मेसिनको प्रयोग गर्दा आधा सस्तो पर्ने रहेछ । ट्याक्टरबाट जोत्ने र थ्रेसरको प्रयोग प्रशस्त हुने गरेको भए पनि अरु मेसिनको प्रयोग बढ्न सकेको छैन । एनएमसी यो बढाउन चाहन्छ । त्यसैले यसको शुरुवात गरिएको छ । आगामी दिनमा व्यवस्थित कस्टम हायरिङ सेन्टर नै सञ्चालन गर्ने तयारी छ ।
सिकाईको चरण सुरुः
तरकारीको खेती शुरु गरियो । शुरुमा तरकारी लगाउँदा कुनै अनुभव थिएन । एकजना जेटिए पढेका फ्रेस युवा टिकारामलाई कृषि प्रमुख बनायौं । फर्मका प्रशासनिक प्रमुख भुपाल गौतमलाई कृषिको कुनै ज्ञान थिएन । समितिका संयोजक केशव पोख्रेलसँग बिउ विजन, मल, विषादि आदि बेचेको अनुभव अर्थात् एग्रोभेट पसल सञ्चालन गरेको अनुभव छ ।
शुरुमा मैले नै समितिको बैठकमा कर्मचारीसमेत सबैलाई राखेर मौषम र सिजन अनुसारको तरकारी खेती लगाउँ, कति फल्छ, बाली बिग्रन्छ कि, कस्तो फल्छ वा फल्दैन परीक्षण गरौं भन्ने प्रस्ताव गरे । नाफा हुन्छ कि हुँदैन भन्ने चिन्ता नलिनु होला भनें । हामी कर्म गरौं फलको बारेमा अहिले नसोचौं । केही भएछ भने ठिकै छ, भएनछ भने पनि चिन्ता नलिउँ । घाटा कति लाग्छ भन्ने नै नसोचौं । सिक्दा पनि पैसा लाग्छ । अलिअलि घाटा भए त्यसलाई धान्न सक्ने एनएमसी छ । त्यसैले ढुक्क भएर काम गरौं भने । यहाँ लगाउने तरकारी बालीमा विषादि प्रयोग नगर्ने, अति जरुरी नपरी रासायनिक मल प्रयोग नगर्ने भन्ने नीति बनायौैं । कुन सिजनमा के लगाउने भन्ने बारेमा समिति संयोजक केशब पोखरेल सरलाई जानकारी थियो । त्यसमा जेटिए टिकारामको सिकाई र मेहनतले काम गर्यो । नजानेको कुरा अरु काम गर्नेहरु मामा भान्जा कृषि फर्मका प्रोपोराइटर निर्मल अधिकारी र डी एण्ड डी का डिल्ली उप्रेतीबाट सिक्यौं ।
मंसीरबाट माटोको तयारी गर्दै पुषबाट बाली लगाउन शुरु गरियो । अनुभव थिएन । कृषिमा अनुभवी र काम गर्ने मानिस पाउनै मुस्किल । कृषि मजदुर पनि काम जानेका हुँदैनन् । यहीँको काममा आश्रित हुँदैनन् । त्यसैले मन परेको दिन र काम अन्त नभएको दिन आउने, करले काम गर्ने, काम गर्नमा कुनै उत्साह नहुने, हप्तामा पैसा थापेपछि एकदुई दिन नआउने, मादक पदार्थको सेवन गरेर रमाइलो गर्ने, यो आम चलन हो । यस्तो लाग्छ केही मानिसका लागि गरिबी आफैं आउँदैन, त्यसलाई घिसारेर ल्याइन्छ र सँगसँगै हिंडाइन्छ । सबैभन्दा धेरै समस्या कामदारको छ । जसोतसो काम अगाडि बढ्यो । दैनिक ज्यालामा काम गर्न आउनेका यस्ता समस्या भएपनि मासिक तलब लिने गरी नियुक्त कर्मचारी भरपर्दा छन् । काममा उत्साह देखाउँछन् । राम्रो गर्न चाहन्छन् । सकेको गरेका छन् । यसैबीचमा अन द जब ट्रेनिङ (ओजेटी) गर्ने तीनजना भाइहरु पनि थपिए । यी भाइहरुको काम पनि निकै राम्रो रहेको छ ।
कुरिलो गतवर्ष नै रोपिएको थियो । यो वर्ष फूलकोपी, बन्दाकोपी, टमाटर, ब्रोकाउली, सिमी, फर्सी, साग, स्क्वास फर्सी, करेला, लौका, घिरौंला, भिण्डी, खरबुजा, प्याज, चिचिण्डो आदिको खेती लगायौं । जग्गा धेरै भएकाले जग्गा ढाक्ने हिसाबले पनि विविधतायुक्त खेती गरियो । अरु बाँझो रहको जमिनमा मकै छर्यौं । लगाएको बालीको राम्ररी स्याहार गर्ने गरी जनशक्तिको व्यवस्थापन गर्नै सकिएन । जता बित्तो हुन्छ त्यतै काम गर्दै गइयो । म फर्ममा बाक्लै जान्छु । अरु समितिका साथीहरु पनि जानुहुन्छ नै । समितिका संयोजक र सदस्य त झन् लाग्ने नै हुनुभयो । जतिखेर पुग्दा पनि आँखा देखुन्जेलसम्म बारीमै काम गरिरहका हुन्थे कर्मचारी र ओजेटीका भाइहरु । दैनिक ज्यालामा काम गर्ने मानिसलाई मात्रै समयको गणना हुने अरुले त साँझ परेको नै थाहा नपाउने अवस्था देखिन्थ्यो । शनिबार, छुट्टी सबै बिर्सिंदै गएकोजस्तो लाग्छ । समितिका साथीहरु र संयोजक केशव सर, चन्द्र सिग्देल त त्यहाँ नपुग्दा के भएन, के गरिएन जस्तो लाग्छ भन्नु हुन्छ ।
२०७६ फागुनदेखि तरकारी उत्पादन शुरु भयो । तरकारी कसरी बेच्ने, कहाँ बेच्ने, मूल्य कसरी निर्धारण गर्ने, घटे बढेको कसरी मिलाउने आदिजस्ता समस्या हुने नै भए । कृषि फर्मको अवलोकन गर्ने मानिसको संख्या बढ्दै जान थालेको छ । एनएमसीका सदस्य, कर्मचारी र समितिको त चासोको विषय भयो नै, अरु पनि धेरैले चासो राखेको पाइयो । त्यहाँ जानेले जे फलेको छ त्यो किन्ने र लाने क्रम निरन्तर जारी छ । फर्म मै पुगेर तरकारी किन्ने मानिस बढ्दै गएका छन् । जो एकपटक गए तिनीहरु दोहोर्याएर गएका छन् । ताजा, रासायनिक मल प्रयोग नभएको, विषादि प्रयोग नभएको र मूल्य बजारको भन्दा महङ्गो नपर्ने कुरा बुझेपछि फर्म मै पुगेर सागसब्जी किन्ने मानिस बढ्दै गएको महशुस भएको छ । उत्पादन भएको सागसब्जी फलफूल बेच्न खासै समस्या भएको छैन । कुनैकुनै अलि धेरै उत्पादन भएको तरकारी त्यहाँबाट बिक्री हुन नसकेको अवस्थामा एनएमसीका कार्यलयबाट अर्डर लिएर कर्मचारीलाई बेच्न थालियो । करेला, लौका, काँक्रा अलि धेरै एकैपटक उत्पादन भएको समयमा केही व्यापारीलाई पनि बिक्री गरियो । सानासाना व्यापारीहरु त्यहीँ गएर भएको समान ल्याउने गरेका छन् । शुरुमा एकदमै अव्यवस्थित भएको बिक्री कक्षलाई अहिले अलि व्यवस्थित बनाउने प्रयास पनि सुरु भएको छ ।
हामीले यो साल खासै आम्दानी नै गरौंला भन्ने लागेको थिएन । यो वर्ष सिकाइमा जान्छ भन्ने मात्रै थियो । तर सिकाईसँगै केही आम्दानी पनि गर्न सकिएको छ । मेसिन भाडामा लगाएर, सागसब्जी र तिनका बेर्ना बेचेर तथा फलफूलबाट कात्तिकमा ३७ हजार, मंसीरमा एक लाख १४ हजार, पुषमा २८ हजार, माघमा ३३ हजार आम्दानी गरिएको छ । यस्तै फागुृनमा ४३ हजार, चैतमा एक एकलाख ३३ हजार र वैशाखमा चार लाख छ हजार आम्दानी गर्न कृषि फर्म सफल भएको छ । जेठमा अभैm राम्रो अवस्था छ । यो आम्दानीले हाम्रो कृषि फर्मको घाटा कम गर्न र अनुभव एवम् सिकाइमा उल्लेख्य विकास भएको छ ।
सबैभन्दा महत्वपूर्ण कुराः
यो फर्म सञ्चालन गरेर एनएमसीले गर्न चाहेको मुख्य उद्देश्य भनेको एनएमसीका सदस्यलाई व्यवसायिक खेतीतर्फ आकर्षण गर्नु, उत्पादन बढाउनु र रोजगारी सिर्जना गर्नु हो । एनएमसीले कृषि फर्म सञ्चालन गर्दा नाफा नहुन पनि सक्छ । नाफा हुने नै भएछ भने पनि त्यसले लामो समय लिन्छ भन्ने कुरामा हामी ढुक्क छौं । किनकि अनुभवको कमी, प्रशासनिक खर्च, श्रमको लागत आदिको कारण नाफा नै लिन सजिलो छ्रैन । नाफा हुँदैन भन्ने पनि होइन । तर नाफामा जान केही समय र अनुभव चाहिन्छ । कृषि फर्ममा लगाएका तरकारीको बिक्रीबाट आएको आम्दानी राम्रो देखिएको छ । थोरै थोरै जमिनमा बिभिन्न भेराइटीका सब्जी र फल लगायौं । त्यसले बाली दिने समय निकै छोटो थियो । धेरै जातका तरकारी रोपेको ९० दिन भित्रमा हुर्की, बढी बाली दिएर अर्को बाली नै लगाउन सकिने रहेछ । यति छोटो अवधिमा नगदे आम्दानी निकै फाइदाको काम रहेछ ।
एकदिन म कृषि फर्म मै भएको समयमा दुईजना मित्र अवलोकनका लागि मोटरसाइकलमा आउनु भयो । यो लकडाउनकै समयावधिको बुरा हो । उहाँहरु किसान परिवारबाटै माथि उठेर आली किसानमा रुपान्तरण भएको अनुमान गर्न सकिन्थ्यो । मैले खेतीको काम राम्रो रहेछ । थोरै समयमा नै आम्दानी लिन सकिने रहेछ भनेर अनुभव सुनाउँदै थिएँ । उहाँले सोध्नुभयो, के यो फर्म नाफामा छ ? तरकारी बेचेर खर्च उठेको छ ? उहाँले आफ्नो अनुभव सुनाउनु भयो, मैले गरेको खेतीमा लागत नै उठ्दैन । त्यसैले खेती गर्न छाडिदिएँ । जग्गा अरुलाई नै दिएको छु ।
एनएमसी कृषि फर्ममा मैले बटुलेको अनुभव यस्तो छ । हामी तीन प्रकारका किसान भएछौं । कागजी किसान, आली किसान र गह्रा किसान । कागजी किसानले खेती गर्दैनन् । तर खेती कसरी गरिन्छ भनेर रिपोर्ट बनाउँछन् । भाषण गर्छन्, कागज मिलाउँछन् र कृषिमा आउने अनुदानको बाली उठाउन अलिअलि काम गर्छन् । आली किसानले पहिलापहिला आफैं खेती गर्थे । अहिले ती खेतबारीको गह्राबाट आलीमा सरेका छन् । सुकिला भएर खेतबारीमा जान्छन्, ज्यालाका मानिसबाट खेती गराउँछन् । यिनले गर्ने खेतीको लागत महङ्गो भएको छ । पहिला सस्तोमा कृषि मजदुर पाइन्थ्यो । मल आफ्नै गोठमा हुन्थ्यो । चाहिने विऊ आफैंले राखिन्थ्यो । रोग किराको उस्तो प्रकोप थिएन । अब त्यो स्थिति रहेन । त्यसैले अब आली किसानको खेती नपोसाउने भएको छ ।
अर्काे समूह हो गह्रा किसान । गह्रा किसान खेतबारीमा आफैं काम गर्छन् । एनएमसी गह्रा किसानसम्म यो प्रविधि र चलन पुर्याउन चाहन्छ । गह्रा किसानसँग धेरै खेतबारी हुँदैन । थोरै जमिनमा यस्ता किसानले आफैं श्रम गर्नुपर्छ, गर्छन् । यस्ता किसानले उत्पादन गरेको बाली बिक्री गरेर आएको पैसामा विऊ, मल र अन्य साधारण खर्च कटाएर आएको सबै किसानको आम्दानी हो । यस हिसाबले हामीले कृषि फर्ममा लगाएको टमाटर, सिमी, फर्सी, बोडी, बन्दा, ब्रोकाउली, काउली, करेला, लौका, साग, भिण्डी, खरबुजा लगायतका तरकारी फलफूलले रोपेको बढीमा ९० दिन भित्रमा बाली उठाएर नगदमा परिणत गर्न सकिने रहेछ । हामीले पहिलोपटक राम्ररी अनुभव नहुँदानहुँदै र दक्ष जनशक्तिको अभावमा पनि हरेक बाली बेचेर जुन पैसा प्राप्त भयो त्यो पैसा गह्रा किसानका लागि कम हुँदै होइन । वर्षभरिमा ३–४ बाली लगाउन सकिन्छ ।
यहाँ गह्रा किसानका लागि सहकारीले नै मल, विऊ, उपकरण, प्रविधि, कृषिज्ञान दिएर उत्पादन गर्न गराउन सकिन्छ । अब यस्ता उत्पादन किसानबाट किनिदिने र बजारको व्यवस्था गर्ने काम पनि सहकारीले नै गर्नुपर्छ । एनएमसी यो काम गर्न तयार छ । एनएमसीले यो कृषि फर्ममा प्रयोगात्मक उत्पादन गरेको हो, अर्थात नमूना उत्पादन गरेको हो । यसले एनएमसी परिवारको विश्वास बढाएको छ । हामी यही बाटोबाट सदस्यलाई आत्मनिर्भर, व्यवसायिक, स्वरोजगार बनाउँदै समृद्धिको यात्रामा सहभागी हुनेछौं ।
(लेखक उप्रेती एनएमसी एकीकृत नमूना कृषि फर्मको मातृसंस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।)
Comments