Sajhamanch Archive

कोभिड–१९ : डर, मृत्यु र पुनर्जागरण

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by .

“धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सिधै लागें घाटतिर ।”

फिक्सन डिजाइनर अर्थात् लेखक कुमार नगरकोटीको ‘अक्षरगञ्ज’ पुस्तकबाट लिइएको यो अंशले मानिस र प्रकृतिबीचको एक अलौकिक सम्बन्धलाई उजागर गर्छ । वास्तवमा मानिस प्राकृतिक मूल्य, मान्यता र हाम्रा मौलिक तथा सांस्कृतिक धरोहरहरुबाट टाढा हुँदै गएको परिस्थितिमा लेखक आफ्नो अतितमार्फत समाजका परिवर्तित दृश्यहरु कागजका पानाहरुमा निकै मार्मिक ढंगले केलाउँछन् ।

आज विश्व कोरोना महामारीको समुन्द्रमा चुर्लुम्म डुबिरहेको छ । यस्तो बेला आधुनिक तथा कृत्रिम मानव बस्तीहरुमा अनगिन्ती समस्याहरु तैरिरहेका देखिन्छन् । महामारीले ठूला वा साना भूगोल, धनी वा गरिब मानिस तथा अर्थतन्त्र छुट्याएको छैन । शक्तिशाली वा कमजोर आणविक हातहतियार कोही कसैलाई मित्र वा शत्रु नछुट्याउने यस महामारीले भूमण्डलमा निकै ठूलो बज्रपात ल्याइदिएको छ । रकेटिय गतिमा चल्दै गरेका विकासका खुड्किला र मानव जीवनका इच्छा आकांक्षाका रफ्तारहरुलाई नाटकीय ढङ्गले बे्रक लगाइदिएको छ ।

विश्वका २१३ वटाभन्दा बढी देशहरुमा आगो सल्किए झैं संक्रमितको संख्या दन्दन् बलिरहेको अवस्था छ । विकसित देशहरुको तुलनामा अति अल्प विकसित देशहरुमा भने जोखिमको मात्रा निकै कम देखिएको छ । त्यसैको एक उदाहरणको रुपमा नेपाललाई लिन सकिन्छ । उत्तरतिरको भौगोलिक अवस्थितिले चीनतर्फ आवगमन नहुनु, वैदेशिक या शैक्षिक यात्रा कम छ । अन्य विकसित देशका मानिसहरु जस्तो पर्यटक भएर धेरै मात्रामा र धेरै समयसम्म यात्रामा वा घुम्न नजानुले पनि कोभिड–१९ को इपिसेन्टर चीनबाट नेपालमा संक्रमण आएन । थोरै नेपाली जनसंख्या, छिमेकी देशमा संक्रमित नबढ्दै सरकारको चलाखिपन वा अन्य विविध कारणबाट देशमा संकट आइहाल्ने स्थिति बन्न सकेन ।

दक्षिणी छिमेकी देश भारतमा बसोबास गर्न वा श्रम बेच्न कामदारको रुपमा गएका नेपाली फर्किने क्रममा वैधानिक मार्गको साटो लुकिछिपी नेपाल प्रवेश गर्नु, जाँच रिपोर्टबाट कोरोना संक्रमित बढ्दै जानु, अव्यवस्थित क्वारिटन र पिसिआर जाँच प्रणालीको अभावको कारण हामीले आज निकै समस्या झेल्नु परिरहेको हो । हवाइजहाज चढेर तेस्रो देशबाट आउने अत्यन्त थोरै मानिसमात्र कोरोना संक्रमित पाइएको थियो । उनीहरुले समाजमा संक्रमण फैलन नदिन राज्यले अपनाएको सावधानीलाई आत्मसाथ गरे । क्वारेन्टिन, आइसोलेसन जहाँ रहे पनि राज्यका तर्फबाट पनि सबै किसिमका सुविधाहरु प्रवाह गरिएको थियो । र, संक्रमण परिवारका एकाधमा बाहेक समुदायमा सर्नबाट रोक्न सफल भए ।

तर भारतबाट नेपाल छिरेकाहरुले यी सबै पूर्व सावधानीलाई बरकरार राख्न सकेनन् । अचानक विश्वभर भएको लकडाउनले श्रमिकहरुमा भोकमरीको अवस्था उत्पन्न हुँदै गर्दा भारतमा रेल तथा आन्तरिक यातायात खोलिएको थियो । नेपाल–भारत खुल्ला सीमानाका कारण लुकिछिपी वा रेकर्डेड भएर स्वदेश फर्कन सकिन्छ भनेर उनीहरु नेपाल आएका थिए । तर संक्रमण रोक्न उच्च सतर्कता अपनाउन नसक्दा, उनीहरुलाई राख्न बनाइएका क्वारेन्टिन व्यवस्थित नहुँदा अनि संक्रमितहरुको पिसिआर परीक्षण ढिलो हुनु अनि फेरि रिपोर्ट पनि ढिलै आउनुले संक्रमण फैलिएको पाइन्छ । यो आलेख तयार गर्दा असार ४ गते बिहानसम्म नेपालमा सात हजार १७७ जना संक्रमित पुष्टि भइसकेको छ । तिनीहरुमध्ये एक हजार १६७ जना उपचार पछि घर फर्किएका छन् भने २० जनाले मृत्युवरण गर्नुपरेको अवस्था छ । कोरोना संक्रमणले मृत्यु भएका भनिएकाहरु अधिकांशको मृत्यु पछिमात्र स्वाब परीक्षण गरी कोरोना पुष्टि गरिएको छ । यदि तिनको पनि मृत्यु अघि नै रोग पहिचान गरी सही उपचार भएको हुन्थ्यो भने पक्कै मृत्यु संख्या कम हुन्थ्यो भन्ने आंकलन गर्न सकिन्छ ।

डर र मृत्यूः

एकपटक एकजना व्यक्तिलाई उसको घरमा मुसाहरुले साह्रै दुःख दिएछन् । धेरै दिनसम्म उसले सबै मुसा मार्न खोज्यो तर एउटा दुईटाभन्दा बढी मार्न सकेनछ । तर उसका लुगाफाटाहरु मुसाले भने दिनैपिच्छे खाइरहने गर्दथ्यो । कति प्रयास गर्दा पनि मुसालाई मार्न नसकेपछि उसले एउटा जुक्ति निकालेछ र सबै मुसाहरु मरोस् भनेर आफ्नो घर नै आगो लगाइदिएछ । त्यसपछि उसको केही बाँकी नरहेपछि उसले आत्महत्या गरेछ ।

यो अंशले डरबाट मृत्यू पैदा हुँदोरहेछ भन्ने देखाउँछ । वास्तवमा कोरोनाले डर वा मृत्यू के उत्पादन गर्दैछ त ? कि हामीलाई आधुनिक जीवनशैलीबाट हाम्रो पुरानै जीवन पद्घतिमा फर्काउने कोशिसमा छ ! के हाम्रो सामाजिक डर कोरोनाभन्दा अर्कै त होइन ? दिनदिनै बढ्दै गएको संक्रमितको संख्या सुनेर हामी डराइरहेका छौं ? बिहानैपिच्छे एक– एक क्षणमा कोरोना समाचार र सूचनाले हाम्रो दिमाग घुमाइदिएको छ कि ! टिभी, रेडियो, फेसबुक र युट्युवका बेग्रल्ती कोरोना जिवाणुहरुले हाम्रो मानसिक अवस्थालाई झन्झन् कमजोर बनाउँदै त लगेको छैन !?

कसैकसैले त सामाजिक सञ्जालका भित्ताहरुमा यसरी कोरोना अपडेट रङ्गयाउँछन् मानौं कि विश्वकप फुटबल चल्दैछ । अलिक अगाडि त औषधी किन्न जाँदा पनि प्रहरीको कुटाई खानुपर्ने डर थियो । बेरोजगारी, भोकमारी, हजारौंं इन्ड्रस्ट्रिज, प्राइभेट संस्थानहरु बन्द हुनु, होटल र पर्यटन व्यवसाय बन्द भएका छन् । शिक्षक र विद्यार्थीहरुको मानसिक अवस्था बिग्रँदै गएको छ । हाम्रा सांसद, मन्त्री, उच्चपदस्थ र सरकारी जागिर खानेहरुलाई त हाइसञ्चो होला लकडाउनले ! तर लाखौं र करोडौं ऋण लिएर व्यवसाय गर्नेहरुको सपना डरमा परिणत भएको छ ।
हामीलाई संक्रमितको संख्या बढ्दा डर बढिरहेको लाग्छ तर त्यो गलत बुझाई हुन जान्छ । किनकी जतिबेला परीक्षणको दायरा बढ्छ स्वभाविक रुपमा संक्रमित संख्या बढ्न जान्छ । तर यसमा मानिसको मृत्यूदर कति हो भन्ने चाहिँ महत्वपूर्ण पाटो हो । रिपोर्ट अनुसार भारतबाट आएका ८५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । तर संक्रमित भए जति सबै मर्ने भन्ने होइन । ७० प्रतिशत आफैं जाति हुने र अन्य पनि उपचार पछि निको हुने भन्ने रहेछ ।

अहिले जम्मा जम्मी ७ हजारको हाराहारीमा संक्रमित देखिँदा २० जनाको मात्रै मृत्यु हुनु (०.००३ प्रतिशत) अत्यन्तै कम जोखिम हो । यही अनुपातमा १४ हजारको संक्रमित देखिएमा मृत्यु ३८ वा ४० मात्रै पुग्ने देखिन्छ । तसर्थ टेस्ट बढ्दै जाँदा संक्रमित पनि स्वतः बढ्छ तर यसको अर्थ मृत्यु हुने भन्ने त होइन । त्यसैले हामी किन अझ डरलाई बढावा दिइरहेका छौं । किनकि कोरोनाले भन्दा धेरै मानिस त वर्षेनि सवारी दूर्घटनामा मर्छन् । सयांै गुणा बढी डिप्रेशनको सिकार भई आत्महत्याबाट मरिरहेका छन् । यसको जिम्मेवार को हुने ? अनि सामाजिक सन्तुलन कायम गर्नुपर्नेमा राज्य आफैं विभिन्न माध्यमबाट डर पैदा गरिरहन्छ ।

आखिर लकडाउन नै मृत्यूबाट बच्ने अन्तिम अस्त्र हो भने लकडाउनलाई जीवनभर स्थायी बनाउँ । मृत्यूदर बढ्ने छैन न त रोडमा, न त अस्पतालमा ! मात्र भोकमारी र आत्महत्या झन् विकराल हुँदै जानेछन् । तसर्थ लकडाउन नै अन्तिम विकल्प होइन । लकडाउन अहिले केही खुकुलो हुँदै गएता पनि आम मानिसका रोजगारी, उत्पादन, व्यापार व्यवसाय तङ्ग्रिन र पहिलेको जस्तै अवस्थामा फर्कन वर्षदिन नै लाग्ने देखिन्छ । देशको सम्पूर्ण क्षेत्रको क्षतिको विवरण त अझै सतहमा आएकै छैन ।

पुनर्जागरणः

कोरोना हाम्रा लागि अब अभिशाप होइन केही क्षणको लागि वरदान सावित भएर आएको छ । उत्तर आधुनिकवाद तिर ढल्कँदै गरेको विश्व समाजलाई फेरि एकपटक प्रकृतितर्फ फर्किन झल्याँस्स ब्युँझ्याएको छ । मानिस यति धेरै व्यस्त थियो मानौं कि उसको समय नै छैन जस्तो भान हुन्थ्यो । तर कोरोना समय हाम्रा लागि निकै लाभदायक बन्यो । गाउँघरमा मानिसहरु कृषिमा तल्लिन छन् । शहरबाट गाउँ गएका विद्यार्थीहरु आफ्ना बाआमालाई सघाउँदै घर र खेतबारीको काममा व्यस्त छन् । शहरका प्रायः विद्यार्थी र शिक्षकहरु अनलाइनबाटै प्रविधिको उच्चतम प्रयोग गरी कक्षा लिइरहेकाछन् ।

धेरै मानिसहरु फुर्सदिला भएता पनि सृजनात्मक काममा लागेका छन् । ऐतिहासिक, धार्मिक, साहित्यिक, राजनीतिक र आफूलाई मन परेका अन्य पुस्तकहरु पढ्ने बानीको विकास गर्ने समय पाएका छन् । मानसिक रोगलाई आउन नदिन योग, ध्यान र प्राणायामलाई दैनिक जीवनमा अङ्गालेका छन् । लेख, कविता, गीत, संगीत र नृत्यमा रमाउनेहरुले आफ्नो कला तिखार्न पाएका छन् । बालबालिकाले पनि लामो समयसम्म परिवारको साथमा बसेर धेरै कुरा सिक्ने मौका पाएका छन् । तसर्थ रोग, चिन्ता र भयमा रहने बेला यो होइन । आफैंले आफैंलाई चिन्ने र आफूमा भएको सीप, कला र क्षमताको पुनर्जागरण गर्ने समय हो । इण्डियन टाटा कम्पनीका मालिक रतन टाटा भन्छन्– यो समय नाफा र घाटाको हिसाब गर्ने बेला होइन, यो त आफनो जीवन सुरक्षित गर्ने समय हो ।

(लेखक भट्टराई ब्रिटिस ल्याङ्गवेज एण्ड आईटी इन्स्टिच्यूटका सञ्चालक र समाजशास्त्र तथा अंग्रेजी साहित्यका विधार्थी हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *