Sajhamanch Archive

भद्रपुरमा सम्झिइए द्रोणाचार्य

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by .

भद्रपुर । कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूँजीवादी प्रबृत्ति हावी भएको आज एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
झापाली वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणप्रसाद आचार्यको २७ औं स्मृति दिवसको अवसरमा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जनपक्षीय कार्य बिर्सेर बिलासी जीवनमा कम्युनिस्ट नेतृत्व अल्मलिँदा समाज पूँजीवादको भूमरीमा हराउँदै गएको भनी चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेकपा नेता, पूर्व सांसद पुष्पराज पोखरेलले द्रोणाचार्यले बाँचुञ्जेल आफ्नो व्यक्तिगत घर नबनाई जनताको घरबारका लागि राजनीतिक त्याग गरेको जिकिर गरे । ‘तर उनका अनुयायीहरु महलको ऐस आराममा अल्मलिएर कम्युनिस्टभित्र पूँजीवाद बढाइरहेका छन्’ पोखरेलले आक्रोस पोखे ।

जनपक्षीय नेता स्वर्गीय द्रोणाचार्य क्षेत्री

नेता पोखरेलले द्रोणाचार्य क्षेत्रीले निरंकुश पञ्चायतका बिरूद्ध लड्न काँग्रेस र कम्युनिस्ट मिलेर अगाडि बढ्ने नीति लिएको स्मरण गर्दै देश र जनताको भलाइका लागि सदनदेखि सडकसम्म गरेको संघर्षले जनपक्षीय नेता बनाएको सुनाए ।

द्रोणाचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्रमुख टिका प्याकुरेल, नेकपा भद्रपुर नगर सहइञ्चार्ज नरेश सञ्जेल, नेपाली काँग्रेसका जिल्ला सदस्य तोया गड्तौला लगायतले मन्तव्य राख्दै आचार्य जनताका असल सेवक भएको स्मरण गरेका थिए ।

उनीहरूले जनताका पक्षमा उभिन नसक्ने जनप्रतिनिधि जनपक्षीय हुन नसक्ने भन्दै राजनीतिमा निष्ठा र इमान हराउँदै गएकोमा चिन्तासमेत व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *