Sajhamanch Archive

सडक नामाकरणको विवादः हल्दिबारीको गाउँसभा तोडफोडमा परिणत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा आज सञ्चालन गरिएको गाउँसभामा सडक नामाकरणका विषयमा मतभेद हुँदा गाउँपालिका कार्यकक्ष तोडफोड गरिएको छ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डेढ–दुईसय जना हाराहारी कार्यकर्ताहरूले गाउँसभा चलिरहेको समयमा कार्यपालिका तोडफोड गरेको आरोप छ ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा सञ्चालित गाउँसभामा उपाध्यक्ष डम्बरबहादुर गिरीले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजै बजेट, नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूचि बिहान बसेको कार्यपालिका बैठकले पास गरेको पनि थियो । सोही अनुरुप छलफल सुरु गरिएकोमा गाउँसभा स्थगित गर्न अध्यक्ष लिङ्देनले पटक पटक दबाव दिएका थिए ।

तर उनी टेवल ठोक्दै केही नभनी जुरुक्क उठेर बाहिरिए पछि एक्कासी पालिका बाहिर भेला भएका काँग्रेस–राप्रपा कार्यकर्ताले कार्यालय तोडफेड गरेका थिए । दिउँसो साढे २ बजे हाराहारी गाउँसभा चलिरहेको समयमा ठूलो हुलहुज्जतसँगै पालिका तोडफोड गरिएको पालिकाका प्रवक्ता सागर पोर्तेलले साझामञ्चलाई बताएका छन् ।

तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । पार्टेशनहरु तोडफोड गरिएको छ ।गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनसमेत तोडफोडमा संलग्न रहेका प्रतक्ष्यदर्शी बताउँछन् । सोक्रममा तीनजना घाइते भएको बताइएको छ । पालिकाका कर्मचारी राजन न्यौपाने, नेपाली काँग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाई र राप्रपा वडा नम्बर २ का अध्यक्ष भिमराज फ्याक घाइते भएको बताइएको छ । उनीहरूको मेची अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटना हुनुको पृष्ठभूमि

साविक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडानम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा दलहरूबीच विवाद भइरहेको थियो । गाउँपालिका उपाध्यक्षसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)–बाट निर्वाचित जनप्रतिनिधिहरुले दोणाचार्य पर्यटकीय सडक नामाकरण गर्न कार्यक्रम बनाएका थिए । अर्कोतर्फ नेपाली काँग्रेस र राप्रपाले केशवकुमार कन्दङवा राख्नु पर्ने अडान लिएका थिए ।

दोणचार्य सोही क्षेत्रबाट २०४८ सालमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्य थिए । कन्दङवा तात्कालिन जलथल गाउँ पञ्चायतका प्रधानपञ्च थिए । सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि गत जेठ ८ गते गाउँ कार्यपालिकाको बैठकले गाउँसभाबाटै नामकरण टुङ्गो लगाउनु पर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुत सकिएपछि काँग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रविन्द्र लिङदेनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङदेनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामाकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए ।

ज्ञापनपत्र नलिएको भन्दै नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरूले सभा बिथोल्दै एक्कासी तोडफोड उत्रिएका थिए । गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहोल शान्त बनाएका थिए ।

अध्यक्षसहित ६ जनाद्वारा सभा बहिष्कार

बैठक चलिरहेका बेला निस्किएका गाउँपालिकाका अध्यक्ष लिङ्देनसहित ६ जना जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँसभा बहिष्कार गरेर हिँडेका हुन् ।

अध्यक्ष लिङदेनसहित वडा नम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडाध्यक्ष होमप्रसाद चुँडाल र अन्य तीनजना वडासदस्य रहेका छन् । राप्रपाका पाँचजना र काँग्रेसका एकजना जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

गाउँपालिकाका उपाध्यक्षसहित गाउँसभाका सभासद्हरुले सामुहिक विज्ञप्ती प्रकाशन गरेर अध्यक्ष लिङ्देन आफैँले सभा छाडेर गएको दाबी गरेका छन् । अध्यक्ष लिङदेन आफैँले सभा भइरहेको समयमा अमर्यादित ढङ्गले प्रस्तुत भएको र टेबल फुटाएको उपाध्यक्ष गिरीसहितको विज्ञप्तीमा उल्लेख छ । अमर्यादित ढङ्गले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्दा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेको उपाध्यक्ष गिरीको भनाई छ ।

सोही अनुसार आजै जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा मुद्धा दर्ता गराउन आफूहरु गइरहेको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् । यस विषयमा गाउँपालिका अध्यक्ष लिङ्देनसँग टेलिफोन सम्पर्क गर्दा आफू भिडभाडमा रहेकोले पछि कुरा गर्ने बताएर फोन राखिदिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *