Sajhamanch Archive

मेचीनगरका आधा दर्जन कोरोना मुक्त

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिकाका ६ जना संक्रमित नोवल कोरोना भाइरस (कोभिड–१९) उपचार पछि निको भएर घर फर्किएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत दर्ता गरेका हुन् ।

स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार २२ असारसम्ममा नगरपालिका र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीहरुको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम क्वारेण्टिन र होल्डिङ सेन्टरमा बसेका कूल २ हजार ७६३ जनामा कोरोनाको संक्रमण परीक्षण गरेको थियो ।

संयोजक राईका अनुसार १ हजार ३७५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र विधिबाट परीक्षण गरिएको थियो भने १ हजार ३८८ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर)का लागि थ्रोड स्वावको नमूना संकलन गरी प्रदेश प्रादेशिक प्रयोगशाला विराटनगर तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

पीसीआर विधिबाट परीक्षण गरिएका एक हजार ३८८ जनामध्ये ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएकालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर गोठगाउँ मोरङमा रेफर गरिएको थियो । तीमध्ये ६ जना निको भएर घर फर्किएका हुन् ।

कोरोना माथि जीत दर्ता गर्नेहरु मेचीनगर वडा नम्बर १, ३, ४ र ६ का एक/ एकजना र ५ का दुईजना रहेका छन् । पीसीआरको परिणाम नेगेटिभ आए तत्कालै घर फर्काइने गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *