Sajhamanch Archive

सार्वजनिक यातायात चलाउन सरकारले यस्तो नियम बनायो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने खतिवडाले बताए ।

सरकारको निर्णयअनुसार काठमाडौंको हकमा तीन जिल्लामा सवारीसाधन चल्न पाउनेछन् भने बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

सरकारको निर्णयअनुसार ट्याक्सीहरू तत्कालै चल्न सक्नेछन् भने सार्वजनिक यातायातको हकमा भने समय लाग्न सक्छ । ट्याक्सीमा चालक बाहेक २ जनामात्र चढ्न पाउनेछन् ।

 

यी मापदण्ड पालनापछि मात्रै चल्न पाउँछन् सार्वजनिक यातायात

लकडाउनका कारण ११ चैतदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन पाइने भएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय सरकराले गरेको हो ।

कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका सरकारका प्रवक्ता डा. खतिवडाले एक पङ्क्तिको १ सिटमा १ जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने बताए । सवारी, चालक र सहचालकले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निःसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उनले बताए ।

सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन् ।

यसअघि चालकबाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक १ परिवारका ५ वर्षमुनिका अरू सदस्यसमेत ट्याक्सीमा सवार हुन पाउनेछन् । भाडादर भने पुरानै कायम छ ।

ट्याक्सीहरू तत्कालैबाट सञ्चालन भए पनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रबन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *