Sajhamanch Archive

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, सहकारी by .

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थाहरुले सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिम सम्पन्न गरेका छन् ।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम सम्पन्न गरेका हुन् ।

मन्त्रालयको उक्त बजेटबाट सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई अचार बनाउने, च्याउ खेती गर्ने, ढाका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु दिएका हुन् । मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु समेत मौरीपालक किसानलाई प्रदान गरिएको छ ।

आफ्नो मन्त्रालयबाट निकासा गरिएको बजेटले सहकारी संस्थाका सदस्यले आत्मनिर्भरता उन्मुख उद्यमशीलता तालिम पाएकोमा भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुशी महसुस गरेको बताएकी छन् । आज मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु हस्तान्तरण कार्यक्रममा भिडियो संवाद गर्दै उनले सहभागी सदस्यहरुको व्यवसायिक सफलताको कामना गरेकी हुन् ।

हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमुखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ति आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ’ मन्त्री अर्यालको आश्वासन थियो ।

‘एक घर–एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं । अब हरेक व्यक्ति ज्ञान र सीपसहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगार र लघु उद्यमी बन्नुपर्छ । यसका लागि भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट काम शुरु भइसकेको छ’ मन्त्री अर्यालले प्रष्ट पारेकी छन् ।

स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक तालिम सम्पन्न गरिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *