Sajhamanch Archive

नेपाल भारत सीमाना सुनसरीको देवानगञ्जमा तस्कर र प्रहरीबीच गोली हानाहान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज by .

इटहरी । सुनसरी जिल्लाको भारतसँग सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ मा पर्ने पानीट्याङ्की नजिक आज राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा दुईजना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा देवानगन्ज– २ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताएका छन् । घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरी उपरीक्षक थापाले जनाएका छन्।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जाँच गर्ने क्रममा गोली हानाहान भएको थियो । प्रहरी उपरीक्षक थापाले भने, ‘हतियार लिएर आइरहेको जानकारी आएपछि खानतलासी गरी प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको थियो ।’

प्रहरी उपरीक्षक थापाका अनुसार सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको हो । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुईवटा म्याग्जिन बरामद गरेको छ।

तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *