दूधेमा सार्वजनिक शौचालयको माग गर्दै लियो क्लब अफ शिवसताक्षी
Published:
by .शिवसताक्षी । ठूलै तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि शिवसताक्षी नगरपालिकाको प्रमुख बजार दूधेमा सार्वजनिक शौचालय छैन ।
शौचालयको अभावमा बजार भर्न आउने जो कोहीले घण्टौंसम्म दिसापिसाव च्यापेर बस्नुको विकल्प छैन । या त यसो झाडी जंगलतिर लुकेर शौच नगरे बाँच्नै कठिन । अनि खुल्ला ठाउँमा दिसा पिसाव गरे पछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा कागजमा मात्रै सिमित बन्दै गएको छ ।
सार्वजनिक जमिन प्रसस्त भएको शहरी क्षेत्रमा नगरपालिकाले चाहेमा तत्कालै बजेट विनियोजन गरेर भौतिक संरचनाहरु निर्माण गर्न सक्तछ । तर तेस्रो वर्षको बजेट सार्वजनिक गर्दा पनि यसतर्फ ध्यान नदिइए पछि दूधेका युवा सार्वजनिक शौचालयको आवश्यकता दर्शाउँदै नगरपालिकालाई झक्झक्याउन पुगेका छन् ।
लियो क्लब अफ शिवसताक्षीद्वारा दूधेमा शौचालयको माग गर्दै नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । झापाको दूधेबजार नगरको मुटु जत्तिकै ठाउँ हो तर बाहिरबाट आउने आगन्तुकहरुको लागि अति आवश्यक पर्ने सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन ।
लियो क्लब अफ शिवसताक्षीका अध्यक्ष सुजन भण्डारी र सचिव दिप्सन घिमिरेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र मंगलबार नगरप्रमुख शेर्मालाई बुझाइएको हो । ‘नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने जमिन उपलब्ध गराओस्, बजेट विनियोजन गरोस्, हामी युवा त्यसको हेरदेख गरेर निर्माण गर्छौं र सञ्चालन पनि गर्न मद्धत गर्छौं’ क्लबले बुझाएको पत्रमा उल्लेख छ ।
युवाको मागका विषयमा नगरप्रमुख शेर्माले रुचिपूर्वक सुनेर आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्, अध्यक्ष भण्डारीले साझामञ्चलाई बताए ।
Comments