Sajhamanch Archive

सहरा नेपालका पाँच ऋणि सदस्यको कर्जा मिनाहा

Published: in लोकप्रिय, समाज, सहकारी by .

बिर्तामोड । सहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले ऋणि सदस्य तथा तिनका अभिभावकको देहावसानका कारण पीडा भोगिरहेका पाँच जना सदस्यको सात लाख १९ हजार रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।

संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रमका पाँचवटा महिला समूहमा आवद्ध सदस्य वा तिनका अभिभावकको मृत्युका कारण कर्जा बुझाउन नसकिरहेको विश्लेषण गर्दै कर्जा मिनाहा गरिदिएको हो । सहारा साकोसले सदस्यलाई लगानी गरेको रकममा लघुबीमा गरिदिने र ऋणि सदस्य वा उनको अभिभावकको मृत्यु भएमा ६ लाख रुपैयाँसम्म कर्जा छुट गर्ने नीति बनाएको छ ।

सहारा साकोस बिर्तामोड सेवा केन्द्रले आज अर्जुनधारा नगरपालिका ११ गोमादेवी गुरुङलाई ७० हजार रुपैयाँ, बिर्तामोड १ का धिरज भार्गवलाई एक लाख १९ हजार रुपैयाँ कर्जा मिनाहा गरिदिएको कार्यालय प्रमुख घनश्याम रायाले बताएका छन् ।

यस्तै, बिर्तामोड ५ का कमला सेलिङको मृत्युमा उनका पति विषण सेलिङलाई दुई लाख ३५ हजार रुपैयाँ, बिर्तामोड ४ का सिता ताम्रकारका पति बद्री ताम्रकारको मृत्युमा एक लाख ५० हजार र बिर्तामोड ५ का सकुन्तला लिम्बूको नाममा रहेको कर्जा एक लाख ४५ हजार १० रुपैयाँ संस्थाले मिनाहा गरिदिएको छ ।

सेवा केन्द्र प्रमुख रायाका अनुसार ती सबै कर्जाको संस्थाले लघुबीमा गराएको थियो । मेटलाइफ र एलआसी नेपालले कर्जाबीमा वापतको रकम प्रदान गरेपछि संस्थाले सदस्य र तिनका परिवारलाई हस्तान्तरण गरेको हो ।

बिर्तामोड सेवा केन्द्रमा आज बिर्तामोड नगरपालिका वडा नं. ५ का सदस्य डिआर कडरियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सदस्य तथा तिनका परिवारलाई कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । सो कार्यक्रममा बोल्दै कडरियाले सहारा नेपालले सदस्यहरुको सुविधाका लागि अनेकन कार्यक्रमहरु ल्याएकोमा सराहना व्यक्त गरेका छन् ।

बिर्तामोड नगरपालिकाले पनि सहारासँग मिलेर विपन्न आवास कार्यक्रम, भकारो सुधार कार्यक्रमहरु सञ्चालन गरिरहेको अवगत गराउँदै कडरियाले मानवीय सेवाका लागि सहारा नेपाल सहकारीको रोलमोडल भएको बताए । सहारा नेपालले ऋणि सदस्य वा उनको अभिभावकको मृत्युमा कर्जा मिनाहा लगायतका विभिन्न रचनात्मक कार्यक्रम गरेर आफ्ना पिडीत सदस्यको घाउमा मल्हमपट्टी गर्दै गरेको पाउँदा संस्थालाई सदस्य मैत्री भन्नसकिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *