Sajhamanch Archive

प्रचण्डको भाषण संग्रह ‘गणतन्त्रको पहिलो दशक’ छापियो

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, साहित्य by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का एकजना अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ नामक पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विभिन्न ४२ शीर्षकमा विचारहरु समेटिएका छन् ।

संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने व्यक्तिको खोजी गर्न पुस्तकमा थुप्रै अवसरहरु छन् । जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्ने काम तथा नयाँ संविधानको ‘कोरियोग्राफर’को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको पुस्तक आफैंमा एउटा ऐतिहासिक दस्तावेज बनेको प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको बुझाई छ ।

२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको जनाइएको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगैलिएर हिड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार एवम् समय र परिस्थितिको तत्काल बोध गर्नसक्ने नेताको रुपमा खेलिएको भूमिकाबारे पुस्तकमा ब्याख्या गरिएको छ । विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *