बुद्धशान्तिमा बाह्य व्यक्तिको आवागमनसहित समूहमा गरिने व्यवसायमा आजदेखि रोक
Published:
by .बुद्धशान्ति । यहाँको बजार भर्न वा लगाउन गाउँपालिकाको भूगोलभन्दा बाहिरबाट कोही पनि व्यक्तिलाई आवतजावत गर्न बुद्धशान्ति गाउँपालिकाले आजदेखि पूर्णतया निशेध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले मंगलबार सार्वजनिक अपील प्रकाशन गरी कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा संक्रमण बिस्तार हुँदै गरेकाले जनताको जीउ धनको सुरक्षाका लागि यस्तो अप्रिय कदम चाल्न बाध्य हुनुपरेको जनाएका छन् ।
सूचनाअनुसार गाउँपालिका भित्र बिना काम पालिका बाहिरबाट कोही व्यक्ति प्रवेश गर्न नपाउने भएका हुन् । बुद्धशान्ति गाउँपालिका भित्र अतिआवश्यक काम बाहेक अन्य पालिकाका अपरिचित व्यक्तिलाई प्रवेश गर्न रोक लगाएको हो ।
बाहिरबाट आएका व्यक्तिहरुले यहाँ पसलहरु समेत राख्न नपाउने जानकारी दिँदै यहाँका स्थानीय जीम सेन्टर, रेन्टुरेन्ट, सिनेमाहल, सैलुन, व्युटिपार्लर, ट्युसन सेन्टर, डान्स सेन्टर लगायतका व्यवसाय समेत पूर्णरुपमा बन्द हुने अध्यक्ष भूजेलले अपीलमा उल्लेख गरेका छन् ।
पछिल्लो समय गर्मी छल्ने निहुँमा शान्तिनगरका विभिन्न ठाउँहरुमा बाहिरबाट आउने मान्छेको घुइँचो लाग्न थालेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धन भएता पनि कोरोनाको महामारीको समयमा यो कार्य ठिक नभएको भन्दै समुदायमा कोरोना फैलन नदिन गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष भुजेलको भनाई छ ।
पालिकाले जारी गरेको सूचना अवज्ञा गरी त्यस्ता पसल तथा व्यवसायहरु खोलेमा कानून बमोजिम कारवाही हुने अवगत गराउँदै गाउँपालिकाका जनताको सुरक्षाका लागि यस्तो नियम बनाइएको उपाध्यक्ष मीरा भूर्तेलले जानकारी दिएकी छन् ।
Comments