Sajhamanch Archive

सहकारीले ऋण तिर्न तागेता गर्दा भद्रपुरमा पक्षघातका बिरामी मानसिक तनावमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, by .

भद्रपुर । उच्च रक्तचापका कारण अपाङ्ग भई ओछ्यान परेका झापाको भद्रपुर नगरपालिका वडा नं. ९ घोडामाराका ४६ वर्षीय दीपक राजवंशी रोगले भन्दा ऋणको बोझले अत्यत्न पिरोलिएका छन् ।

गत २०७६ माघ २२ गते बिहान ११ बजेतिर खाना खाँदैगर्दा उच्च रक्तचापका कारण लडेर उनलाई ‘प्यारालाइसिस’ (पक्षघात) भएको छ । त्यस पछि उनी आफ्नो घरको वरण्डाभन्दा बाहिर जान नसकेको ६ महिना पार भइसकेको छ ।

कोरोना संक्रमणको त्रास अझै उच्च छ, बन्दाबन्दीको समय चलिरहेको छ । तर कतिपय सहकारी संस्थाहरु राज्यको निर्देशन समेतको बेवास्ता गर्दै ऋणि सदस्यलाई कर्जा बुझाउन ताकेता गरिरहेका छन् । तिनैमध्येका दिपक पनि एक ऋणि हुन्, जसलाई भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्थाबाट लिएको ऋणले पिरोलिरहेको छ ।

उनले श्रीमती शुशिलाको नाममा २०७५ साल साउन १ गते एक लाख रुपैयाँ ऋण लिएका थिए । राजवंशी आफू स्वस्थ रहुन्जेल उक्त ऋणको सावाँ ब्याजको मासिक किस्ता नियमित बुझाउने गरेको बताउँछन् । आफू बिरामी हुनुभन्दा अघि नियमित सावाँ बुझाएको उनको भनाई छ । सहकारी संस्थाले गत असार मसान्तसम्म ५४ हजार ५७५ रुपैयाँ साँवाँ तथा सोको ब्याज ११ हजार ४६० रुपैयाँ पाकेको ताकेता पत्र राजवंशीलाई पठाएको छ ।

पक्षघातले थला परेका राजवंशीको परिवारबाट साना किसान सहकारीको ६६ हजार रुपैयाँ तिर्न नसक्ता पटक पटकको तागेताको पीडाले थप मर्माहत बनाएको हो । जिम्मेवार सहकारी संस्थाले कर्जा सुरक्षण बीमा गरेर यस्तो समस्याबाट गुज्रिएका सदस्यहरुको कर्जा मिनाहा गर्नेसम्मको उत्तरदायित्व निर्वाह गरेका छन् तर साना किसान सहकारीबाट यस्तो सुविधा राजवंशीले पाउन सकेनन् ।

भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर गोविन्द कडेलको गाडी चलाएर परिवारको भरण पोषण गर्दै आएका दिपक प्यारालाइसिस भएपछि परिवारमा बिहान बेलुका छाक टार्न मुस्किल छ । नून तेल खानसमेत समस्या भएपछि श्रीमतीले केही महिनादेखि नजिकै रहेको चिया बगानमा हरियो चियापत्ती टिप्न थालेकी छन् । श्रीमती काममा गएका दिन ४०० जति ज्याला आउँछ, अनि सामान्य खर्च चलेको छ ।

तर रकम अभावमा पक्षघातको नियमित उपचार गर्न नसकेकोमा उनले दुखेसो सुनाए । आफन्त साथीभाइले केही रकम सहयोग गरेर भारतको खरैयामा उपचार गरी औषधी खाँदै आएकोमा लकडाउनका कारण त्यहाँ पनि जान नसकेको उनले सुनाए । उनले काम गरिरहेका डा. कँडेलले पहिलो चरणको उपचार तथा स्वास्थ्य परीषण सिटी स्क्यान गरिदिएको उनले सुनाए । तर नियमति औषधी खान नपाउँदा आराम नभएको उनको भनाई छ ।

यो समाचारका लागि सामग्री संकलन गर्न उनको निवासमा पुग्दा सावाँ व्याज भुक्तानीका लागि सहकारीले पठाएको १५ दिने म्यादको पूर्जी देखाउँदै उनी फेरि भक्कानिए । उनले बिरामी हुनुभन्दा अघि समयमा नै सावाँ व्याज तिर्दै आइरहेको तर बिरामी परेपछि आम्दानीको कुनै उपाय नभएर व्याज समेत तिर्न ढिलाइ भएको यथार्थ सुनाए ।

थप उपचारका लागि खर्च अभावका कारण हिजोआज ओछ्यानमा नै रोएर दिनरात बिताइरहेका उनले स्थानीय जनप्रतिनिधि र सरकारले हालसम्म चासो नराखेकोमा दुखेसो पोखे । चुनावताका पटकपटक धाउँने उम्मेदवार चुनाव जितेर जनप्रतिनिधि भएपछि मतदाताको पीडामा वास्ता नगर्नुले उनलाई थप पिरोलेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका राजवंशीलाई बाबुको सम्पत्तिबाट आमाले ७ धुर जग्गा दिएको र सोही जग्गामा टीनको छानो हालेर सानो छाप्रोमा मृत्यु कुरिरहेको उनले बताए । घर बाहेक आफ्नो परिवारको केही नभएको उनी बताउँछन् ।

साधारण लेखपढ मात्र भएकोले अन्य कुनै उपाय नभएको उनले सुनाए । दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँचजनाको परिवार छ । ‘मैले सहकारीबाट ऋण लिएको हँु, तिर्छु पनि तर यस्तो बेलामा आएर भाका पूर्जी दिएकोमा थप पीडा परेको उनले गुनासो गरे ।’ साना किसान सहकारीले कर्मचारी परिचालन गरेर आफूलाई मानसिक तनाव दिएको उनले जिकिर गरे ।

के वास्तवमै साना किसान सहकारीले ऋणि सदस्यलाई मानसिक तनाव हुने गरी कर्जा ताकेता गरिरहेको हो भनी संस्थाका सल्लाहकार संयोजक काशीनाथ घिमिरेलाई प्रश्न राख्दा उनले सहकारीमा ऋण भाखा सकिँदै र ब्याज रकम बढ्दै गएपछि जानकारीका लागि उहाँहरुलाई पत्र पठाइएको स्वीकार गरे । सरकारले घोषणा गरेको २ प्रतिशत व्याज घटाएर पत्र पठाइएको भएपनि पत्रमा कुनै दबाव नदिएको उनको भनाई छ । ऋण मात्र लाने तर सावाँ व्याज नतिरेका कारण सहकारी डुब्ने अवस्थामा भएकोले यस्तो गर्नु परेको उनको प्रष्टीकरण थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *