कमल गाउँपालिकाको ताजा निर्णयः ८ देखि ४ बजेसम्ममात्र बजार खोल्न पाइने
Published:
by .कमल । झापाको कमल गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका अन्य व्यवसाय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र गर्न पाइने भएको छ ।
गाउँ कार्यपालिकाको आज बसेको बैठककले व्यवसायीहरुले पनि कार्य व्यापार गर्दा अनिवार्य रुपमा स्वास्थ्य सावधानी अपनाउनु पर्ने बाध्यात्मक व्यवस्थासहित सूचना प्रकाशन गरेको हो ।
कार्यपालिकाको बैठकले स्थानीय उद्योग वाणिज्य संघ, बजार समिति, टोल विकास संस्था तथा स्थानीय संघ–संस्थाहरुको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गरी यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताएका छन् ।
व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा अनिवार्यरुपममा सेनिटाइजर वा हातधुने साबुन पानीको व्यवस्था मिलाउनु पर्नेछ भने भौतिक दूरीको विशेष ख्याल गर्नुपर्नेछ ।
बैठकले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थानीय हाटबजार पूर्णरुपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ भने २५ जनाभन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन, भेला नगर्ने निर्णय गरेको छ । सबै नागरिकले अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
कोभिड १९ को प्रकोप उच्च रहेको बेला सकेसम्म विवाह, ब्रतवन्ध, पूजा लगायतका कुनै पनि कार्य नगर्ने र यदि गर्नैपर्ने अवस्था आएमा २५ जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्थालाई गाउँपालिकामा कडाईका साथ कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताएका छन् ।
सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्ने र एकपटकमा २ जनाभन्दा बढी यात्रु बोक्न नपाइने बैठकको निर्णय छ । अतिआवश्यक काममा बाहेक घर बाहिर हिंडडुल नगर्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिका भित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाले सजगताका साथ स्वास्थ्य प्रोटोकलको पालना गरी नियमितरुपमा सेवा प्रवाह गर्नसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिएका छन् ।
Comments