रोटरी क्लवद्वारा बिर्तामोड नगरपालिका र इप्रकालाई डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान
Published: (Updated: )
by .बिर्तामोड । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला रोटरी क्लव अफ बिर्तामोडले संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान गरेको छ ।
आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान स्प्रे मेसिन प्रदान गरिएको हो ।
बिर्तामोड नगरपालिका प्रमुख ध्रवकुमार शिवाकोटी, स्वास्थ्य शाखाका ओम खड्का र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई क्लबका अध्यक्ष निर्मल भट्टराई, सर्भिस डाइरेक्टर विनोद बस्नेत, रोट्रयाक क्लबका अध्यक्ष प्रभाष थापा मगर लगायतले मेसिन हस्तान्तरण गरेका हुन् ।
मेसिन ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले महामारी रोक्न नगरको एक्लो प्रयासभन्दा सबैको साथ र सहयोग आवश्यक परेको अवस्थामा रोटरी क्लवले देखाएको सदासयता आफैंमा प्रशसनीय रहेको बताए । रोटरी क्लबले स्थापनाकालदेखि नै विश्वभर स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको र महामारीको यो समयमा समेत मानव हितका क्षेत्रमा रोटरी क्लबले गरेको काम आफैंमा उदाहरणीय भएको बताए ।
त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि रोटरी क्लवले उपलब्ध गराएको मेसिन प्रभावकरी हुने भन्दै त्यसलाई सही सदुपयोग गरेर सुरक्षामा खटिने प्रहरीलाई संक्रमण मुक्त राख्ने बताए ।
रोट्रयाक क्लवका अध्यक्ष थापाले आफूहरुको सानो प्रयासले समाजलाई सुरक्षित राख्न सहयोग पुग्न सकोस् भन्दै रोटरी क्लव अफ बिर्तामोडसंगको सहकार्यमा डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान गरिएको सुनाए ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापनसहित रोटरी क्लवका अध्यक्ष भट्टराईले विश्वभर पोलियो उन्मुलनका क्षेत्रमा रोटरी क्लवले शुरुका दिनमा कदम चालेको र त्यसपछि शिक्षाको विकास र मानवहितका क्षेत्रमा काम गर्दै आएकाले क्लवले स्थानीय स्तरमा रहेर महामारीबाट बचाउन नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान गरेको बताए ।
अध्यक्ष भट्टराईले बिर्तामोड नगरपालिकामा १५ शैयाको अश्पताल बन्ने भएसँगै ५ थान डायलसिस मेसिनसमेत प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए । रोटरी क्लवका महासचिव सञ्जिव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लव र रोट्रयाक क्लव बिर्तामोडका पदाधिकारीहरु सहभागी थिए ।
Comments