झापामा सहकारी एकीकरणको प्रयास गर्दा अपचलित ५० लाख रुपैयाँ उठ्यो
Published: (Updated: )
by .गौरादह । गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरास्थित एउटा सहकारी संस्थामा लामो समयदेखि बेहिसाब अपचलन भएको ५० लाख रुपैयाँ फछ्र्यौट भएको छ ।
सदस्यहरुबाट बचतका नाममा जम्मा भएको सानो सानो रकम संस्थाका ब्यवस्थापकले मनमौजी खर्चगरी बैगुनधुरा चोकमा भवन बनाएर भाडा खाँदै गर्दा पनि सञ्चालक समिति तथा लेखा समिति बेखबर जस्तै थियो । ती व्यवस्थापकले अपचलित रकमबाट विभिन्न स्थानमा जमिन पनि जोडेको स्थानीयको बुझाई छ ।
हालैमात्र मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)सँग एकीकरणको लागि आन्तरिक लेखा परीक्षण गर्दा उक्त हिसाब नमिलेपछि बचत अपचलन भएको खुलेको हो । बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र एनएमसीबीच संस्था एकीकरणको लागि अन्तिम तयारी भइरहेको हो ।
दुई संस्थाबीच एकीकरण गर्ने सहमति भएपछि एनएमसीले गत असार मसान्तसम्मको सम्पूर्ण कारोबारको लेखा परीक्षणमा आफ्ना प्रतिनिधि खटाएको थियो । यसरी एकीकरणका लागि जाँच गर्दा ५० लाख रुपैयाँभन्दा बढी अपचलन भएको हिसाब फेला परेको हो ।
बैगुनधुरा साकोसका अध्यक्ष प्रकाश खरेलले बेरुजु देखिएको ५० लाख रुपैयाँ संस्थाको खातामा जम्मा भइसकेको जनाएका छन् । ‘संस्थाको सम्पूर्ण वित्तीय कारोबार ब्यवस्थापक ऋषिकुमार उप्रेतीले हेर्नुहुन्छ’ अध्यक्ष खरेलले साझामञ्चसँग भने ‘गतवर्षको लेखा परीक्षणमा २० लाख रुपैयाँ देखिएको थियो, अहिले ५० लाख पुगेको रहेछ । उहाँबाट असुल गरेर संस्थाको खातामा जम्मा भइसकेको छ ।’
अध्यक्ष खरेलले थपे, विगतका वर्षहरुमा संस्थाले रसायनिक मल, मोवाइलको रिचार्ज कार्ड आदि वस्तुहरु खरिद बिक्री गथ्र्यो । उक्त कारोबार गर्दा उपभोक्ता एवम् व्यवसायीहरुसँग लिनुपर्ने २२ लाख रुपैयाँ पनि संकलन गरेर व्यवस्थापकले हिसाब मिलाउनु भएको छ ।
यसैबीच, नेपाली कांग्रेस गौरादह नगरपालिका ९ नं. वडा समितिले हालै विज्ञप्ती निकालेर कर्मचारीबाट रकम असुल गरेपनि ब्याज नलिएकोप्रति आपत्ती जनाएको छ । वडासभापति बाबुराम बस्नेतले जारी गरेको प्रेस विज्ञप्तीमा सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तको ख्याल नगरी ठूलो आर्थिक अनियमितिता हुँदासमेत सञ्चालक समिति, लेखा समितिहरुले अनदेखा गर्नु रहस्यमय रहेको उल्लेख छ ।
व्यक्ति विशेषले लाखौं रकम वर्षौंदेखि व्यक्तिगत प्रयोजनमा लगाउनु तर जिम्मेवार समितिहरुले ध्यान नदिनु दुखद् रहेको जिकिर गर्दै कांग्रेसले अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै उक्त रकमको ब्याज हर्जाना अशुल्न, विषय विज्ञ रहेको छानबिन समिति गठन गर्न भनेको छ ।
‘विज्ञप्तीका बारेमा कांग्रेसका जिम्मेवार नेताहरु स्वयम्ले जान्दैनौं कसले किन निकाल्यो भनिरहेका छन्’ संस्थाका अध्यक्ष खरेलले भने, ‘हस्ताक्षरकर्ता भनिएका बाबुरामजी यसै संस्थामा कुनै बचतको कारोबार नरहेका तर ५००० रुपैयाँका शेयरधनी हुन् । एकीकरण नगरियोस् भन्ने आग्रह पूर्वाग्रह साँधेको हुनसक्छ, तर हामी संयुक्त कारोबारको स्थितिमा पुगिसक्यौं एकीकरण अवश्यै हुन्छ ।’
सानो देश नेपालमा प्रारम्भिक सहकारी संस्थाहरुको संख्या ३५ हजार हाराहारी भएपछि यसको नियमन गर्न असहज बन्दै गएकाले सहकारी एकीकरणका लागि राज्यले ऐन नियममा व्यवस्था गरेको हो । एकीकरणको अभ्यासले संस्थामा शक्ति आर्जन हुनेमात्र नभई वर्षौंदेखि अपचलित ठूलो रकम पनि पछ्र्यौट भएको छ ।
Comments