सहारा नेपाललाई सामुदायिक उत्तरदायित्व बहन पुरस्कार
Published:
by .झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून)ले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा झापाको सहारा नेपाल साकोसलाई सामुदायिक उत्तरदायित्व बहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा गरिएको स्थापना दिवस कार्यक्रममा उक्त घोषणा गरिएको हो । सहारा नेपालले विगत लामो समयदेखि समुदायमा आधारित अनेकन सेवा कार्यहरु गर्दै आएको छ ।
यो वर्ष कोरोना महामारी फैलन नदिन सरकारले गरेको लामो लकडाउनका कारण श्रमजीवी वर्गले भोकै बस्नुपर्ने अवस्था आउन नदिन संस्थाले ‘एकका लागि एक अभियान’ जस्तो रचनात्मक कार्य गरेको थियो । सोही अभियान अन्तरगत १७ सयभन्दा धेरै परिवारलाई दैनिक उपभोग्य वस्तु, करिब १० हजार जनालाई तयारी खाना, क्वारेन्टिनमा बसेका ५ हजार भन्दा बढी मानिसलाई खाना, खाजा, पानी खुवाएको थियो ।
यसैगरी कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने किट, सुरक्षाकर्मीहरुका लागि खाद्यान्न, पिपिई सेट, अस्थायी छाप्रो बनाउन सहयोग गरेको थियो । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको अवधारणा अनुसार झापामा नै पहिलो पटक समुदाय स्तरबाट रकम संकलन गरी कोरोना परीक्षण गर्ने ल्याब पनि स्थापना गरिएको छ ।
उपरोक्त तमाम कार्यहरुले सो संस्थाले प्राप्त गर्ने सामुदायिक उत्तरदायित्व बहन पुरस्कारले सामाजिक न्याय समेत गरेको बताइएको छ । नेफ्स्कुनले यो वर्ष प्रदेश १ बाट उत्कृष्ट साकोसका रुपमा झापाको दमकस्थित डाँफे साकोसलाई प्रदान गर्ने पनि घोषणा भएको छ ।
Comments