Sajhamanch Archive

तस्करीमा संलग्नलाई कचनकवलका वडाध्यक्षको संरक्षण, भन्छन्ः यी कामदारमात्र हुन्, परिवार पाल्न सामान ओसारे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई स्थानीयबासीले ३ पोका कपडासहित ३ जना व्यक्ति जिम्मा लगाए पनि संलग्नलाई बिना कारबाही छोडिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. ५ स्थित पाठामारीबाट गएराति भारतबाट अवैध कपडासहित स्थानीयले पक्राउ गरी तस्करीमा संलग्न व्यक्तिहरु सशस्त्र प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले सामानजति राखेर तस्करीमा संलग्न मानिसलाई बिना कारबाही छाडिदिएको घटना बाहिर आएको हो । बन्दाबन्दी सुरूभए यता कचनकवल ५ स्थित पाठामारी नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको सामान नेपाल भित्रिन थालेपछि केही स्थानीयले चासो देखाएर प्रहरी प्रशासनलाई सहयोग गर्न थालेका हुन् । सो क्षेत्रका केही कारोबारीको अवैध गतिविधिको बारेमा स्थानीयले प्रहरीलाई घटनास्थाल र तस्करी बारे जानकारी गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय नेतृत्वले सुनवाई नगर्दा तस्कर समूह निर्वाध काम गर्न सफल भइरहेका छन् ।

केही दिन अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिएपछि तस्कर विरूद्ध प्रहरी आक्रमक बन्ने संकेत पाएर स्थानीयले जानकारी गराउने क्रम सुरू भए पश्चात स्थानीयले भारतबाट नेपाल छिर्ने पाठामारी नाकमा गोप्यरूपमा सामान समाउन बसिरहेको अवस्थामा गए राति साढे १२ बजे तीन जनाले टाउकोमा बोकेर तीन पोका कपडा ल्याउँदै गरेको अवस्थामा हो–हल्ला गरेर नियन्त्रणमा लिएका हुन् ।

पाठामारीमा रहेको सशस्त्रको फर्वाड बेस र प्रहरी चौकीबाट गएको प्रहरीलाई कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादव र च्यारु यादवलाई प्रहरीको जिम्मा लगाए भने भारतीय कारोबारी अर्जुन हलुवाइ भारततर्फ भागेका थिए । यादवद्वय सोही स्थानका बासिन्दा हुन् भने उनीहरू गोसखुवा उपनामले चिनिने राप्रपाका स्थानीय नेता मार्फत कारोबारमा संलग्न व्यपारी भएको स्थानीयको भनाई छ ।

घट्नापछि स्थानीय केही युवाहरूले हामी नआएसम्म मानिस नछाडने भन्दै प्रहरीलाई जिम्मा लगाएका थिए । कपडासहित मानिसलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट केचना पठाएका थिए । तर उनीहरूलाई वडा नम्बर ५ का वडाध्यक्ष महेशलाल गणेशको रोहवरमा छाडिएको थियो ।

प्रहरीबाट छुटेका उनीहरूले राति नै गाउँमा गएर सामान समाउने तिमीहरू को हौ भन्दै २०÷२५ जनाको समूहले धम्काएको पीडितको भनाई छ । सो नाकामा मुख्य कारोबारी ‘गोसखुवा’ भन्ने महमद्ददिन मियाँले चौपाया, युरिया मल, पैसा लिएर मानिस ओसार पसार गर्ने लगायतमा संलग्न हुने गरेको स्थानीयको दाबी छ ।

ती व्यक्ति रातभर घरमा नहुने गरेको उनीहरूले बताए । तस्करीमा सहयोग पुर्याएको भन्दै पाठामारीमा कार्यरत जनपथका सई सुमेन्द्र विश्वकर्मा र शसस्त्रका इन्सपेक्टर आनबहादुर गुरुङ्लाई केही दिन अघि जिल्लाले फिर्ता बोलाएको थियो ।

सो नाकामा नयाँ जिम्मेवारी पाएका सशस्त्रका सई श्याम लिम्बू र जनपथका असई अर्जुन सापकोटासँग तस्करी भइरहेको विषयमा स्थानीयले पुनः छलफल गरेर तस्करी रोक्न सहयोगको प्रतिबद्धता जनाएका थिए । स्थानीयले साथ दिएमा अबैध कारोवार तथा सामान ओसारपोसार बन्द गर्ने प्रहरीले जनाएका थिए । छलफल पश्चात् अवैध गतिविधि रोक्न स्थानीय केही युवा अबैध कारोबारीको बिरुद्धमा लागेपछि सामान बरामद गर्ने क्रम तीब्र हुन थालेको थियो ।

त्यसैगरी किसानको नाम लिएर पाठामारीका केही अबैध कारोबारीले युरिया मलको तस्करी गरिरहेका छन् । भारतमा ३०० प्रतिबोरा मर्ने मल पाठामारीमा एक हजार ५०० मा झापाका विभिन्न व्यपारी मार्फत बिक्री हुने गरेको छ । व्यपारिक समूहले अन्य बजारमा प्रतिबोरा दुई हजार ५०० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको छ ।

किसानका लागि हो भने किन अन्य नाकाभन्दा पाठामारीबाट मात्र हरेक रात एक हजार बोरासम्म युरिया मल छिर्छ त ? उनीहरूले प्रतिप्रश्न गरे । तस्करीका विषयमा उच्च प्रहरीदेखि सादा पोशाकका घुमुवा प्रहरीलाई समेत जानकारी गराउँदा वास्ता नगरेको स्थानीयको गुनासो छ ।

अबैध कपडा काण्डमा समातिएका व्यक्ति मजदुरी गर्ने मानिस भएकोले उनीहरूलाई मेरो जिम्मामा छुटाएको वडाध्यक्ष गणेशले बताए । आर्थिक अवस्था न्यून भएका कारण परिवारको बिचल्लीलाई ध्यानमा राखेर छुटाइएको उनको जिकिर छ ।

स्थानीयले दुईजना तस्करसहित तीनपोका कपडा प्रहरीलाई बुझाएकोमा कपडामात्र बरामद भएको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्तबहादुर थापाले जिकिर गरेका छन् । तीनवटा पोकामा रहेको ३९ हजार ५५० रुपैयाँ मूल्याङकन गरी सोमबार भद्रपुर भन्सार बुझाइएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *