‘उपभोक्तालाई स्वास्थकर मिल्किङ जुस पियाउने योजनामा छु’ : राजन चिमरिया
Published:
by .झापाको मेचीनगर नगरपालिका वडा नं. १२ माथिल्लो धाइजनका चिमरिया परिवार सुरुका दिनमा साइकलमा दूध संकलन गरेरे गाउँघर सहर बजार डुलाउँदै बिक्री गर्थे । वि. सं. २०६३ सालदेखि ऋतिका डेरी सुरु गरेर व्यवसायिक रुपमा डेरी उद्योगी बनेको चिमरिया परिवार अहिले सफल डेरी व्यवसायीका रुपमा परिचित छ । केही वर्ष पहिले बिर्तामोडको पञ्चामृत डेरी पनि ऋतिकामा गाभिएपछि अहिले पञ्चामृत डेरीको नामले परिचित भइसकेको छ । यसका सञ्चालक मध्येका एक हुन्, राजन चिमरिया । नेपाल डेरी एसोसिएसनका प्रथम केन्द्रीय उपाध्यक्षसमेत रहेका पञ्चामृत डेरीका सञ्चालक चिमरियासँग दुग्ध व्यवसायमा आधारित रहेर साझामञ्चकर्मी उमेश खतिवडाले गरेको कुराकानी ।
दुग्ध व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई आक्रान्त बनाएको छ । नेपालको दुग्ध व्यवसाय समेत तहसनहस बनाएको छ । आफूलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने हिसाबले सरकारको नीति तथा कार्यक्रममा कृषि र पशुलाई समेटिएको छ । केही वस्तुहरुमा चाहिँ नेपाल आफैं आत्मनिर्भर हुनुपर्छ भनेर कार्यक्रम ल्याइराख्दा जनता, किसान तथा श्रमिकहरु निकै उत्साहित थिए ।
बीचैमा कोरोनाको कहर थपियो । जसका कारणले व्यवसाय ३५ प्रतिशत तल झरेको छ । आफूलेमात्र तीन–चार महिनाको अवधिमा करिव ५५ लाख रुपैयाँ घाटा खेप्नु परेको छ । सिङ्गो दुग्ध ब्यवसायको अवस्था स्वयम् मूल्याङ्कन गर्न सकिन्छ । लकडाउनको बेलामा पनि अतिआवश्यक वस्तु तथा सेवा प्रवाह गर्न मिल्ने गरी सरकारले आधारभूत क्षेत्रमा व्यवसाय गर्न दिएको अवस्थाको १५ दिनभित्रै ८० प्रतिशत व्यापार अघि बढेको थियो । नेपालीका मुख्य चाडपर्व नजिकिएका छन् ।
किसानले घरमा उत्पादन हुने दूध लिएर बजारसम्म जाँदा अझै बढी कोरोना आउँछ कि भन्ने डरले गोठदेखि ओठसम्मको सम्बन्धमा असर पुगेको छ । तथापि हामी होसियारी र बुद्धिमानीपूर्वक प्लाष्टिकका पोकामा दूध राखेर प्लाष्टिक फिर्ता नल्याउने शर्तमा ेिवा प्रवाह गरिरहेका छौं । उद्योग सञ्चालन गर्न कठिनाई रहेको छ तर पनि हामी संघर्ष गर्दै अघि बढ्दै गरेको अवस्था हो ।
लकडाउनका कारण दुग्ध व्यवसायमा आएका चुनौतीहरु के कस्ता छन् ?
कर्मचारीहरु पठाएर गाउँमा भएको दूध संकलन गर्न र बजारमा बिक्री वितरण गर्न डराउनु पर्ने अवस्था छ । पछिल्ला केही वर्षदेखि दूध उत्पादन गर्न किसानमा उत्साह थियो । तर अहिले कोरोना संक्रमणको कारण अनि स्थानीय तह पिच्छे फरक फरक मितिमा गरिने लकडाउनका कारणले हामीले गोठमा पुगेर दूध सङ्कलन गर्न सकेका छैनौं । यसले किसानलाई ठूलो मार परेको छ । अनि उत्पादनमा पनि ब्यापक ह्रास आएको छ । बजार बन्द भएकाले हामीले पठाएका दूध र दूधजन्य पदार्थ बिक्री नभएर फ्रिजको फ्रिज रहेकाले सामान बिग्रेर फिर्ता ल्याउनु परेको छ । दुग्ध व्यवसायलाई आगामी दिनमा कसरी निरन्तरता दिने भन्ने चुनौती थपिएको छ । अब चाडपर्वको सिजन आएकाले जसरी पनि हामीले दुग्धजन्य सामग्री बजारमा पुर्याउनु पर्ने हुन्छ । किसानले अस्ति लकडाउनमा दूध बिक्री नभएका कारण निराश भएर उत्पादन कम भएको छ । अब उपभोक्ता माझ कसरी दूध र दुग्ध पदार्थ उत्पादन गरेर पुर्याउने भन्ने अर्को चुनौती पनि थपिएको छ ।
कोरोना सन्त्रास हटेको छैन । कुन सुरक्षा विधि अपनाएर व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ ?
हामीले बजारमा खटिने ड्राइभर तथा कर्मचारीहरुलाई मास्क र पन्जा लगाउन दिएका छौं भने हरेकलाई गोजीमा बोक्न मिल्ने सेनिटाइजरका डब्बा दिएका छौं । ढुवानी गर्ने गाडीमा अनिवार्य सेनिटाइज गरेर मात्र पठाउँछौँ । बजारमा खटिएर आएका गाडीका ड्राइभर र कर्मचारीलाई काम सकेर नुहाएर मात्र कोठामा जान आग्रह गरेका छौँ । दूधको गाडीलाई प्रहरी प्रशासनले पनि खास अवरोध गरेको छैन । उद्योगमा काम गर्ने कर्मचारीहरुलाई अनिवार्य मास्क र पन्जा दिएका छौं । हरेक ३ दिनमा उद्योगमा सेनिटाइजिङ गर्ने गर्छौं । तर पछिल्लो समय समुदायमा पनि संक्रमित देखा परेका कारण हाम्रो सुरक्षा सावधानी अपर्याप्त हो कि भन्ने लागेको छ । यतिको सावधानीले मात्र उद्योग चलाउन नभ्याउने अवस्थाका बारेमा सचेत बन्दै गएका छौं ।
पञ्चामृत डेरीबाट दुग्धजन्य वस्तुहरु के के उत्पादन र बजारीकरण गर्नुहुन्छ ?
पछिल्लो समय दूधलाई जतिसक्दो विविधीकरण गरेका छौँ । सुरु–सुरुका दिनमा दूध, दही, घिउमा सिमित रहेको व्यवसाय हो । केही वर्ष अगाडिदेखि मिठाईका परिकारहरु, आइसक्रिम बनाउने गरेका छौँ । दूधसँगै सम्बन्धित बेकरीहरुको उत्पादन पनि गरिरहेका छौँ । ग्राहकको मागलाई सम्बोधन गरेर पछिल्लो केही समयदेखि क्याफे पनि सञ्चालनमा ल्याएका छौँ ।
आफ्नो व्यवसायलाई बिस्तार गर्ने गरी भावी योजना पनि बनाउनु भएको छ कि ?
बजारमा केमिकल र फ्लेबर मिसाएको चिनी पानीको झोल कोक, फेन्टा, मिरिण्डा, ड्यूको सट्टामा उपभोक्तालाई स्वास्थकर मिल्किङ जुस पियाउने छौं । मिल्किङ जुस बनाउने प्लान्ट एक डेढ वर्षभित्रमा जडान गरी नयाँ पालन्ट स्थापना गर्ने योजना रहेको छ । बोतल मिल्क जुसलाई नयाँ उद्योगका रुपमा स्थापना गरेर त्यसपछि अझ विविधिकरण गरी व्यवसायलाई अघि बढाउने सोच बनाएका छौं । विदेश पलायन हुन लागेका युवालाई नेपाल मै रोजगारीका लागि प्रोत्साहन गर्न डेरी उद्योग बाहेक हामी गाईपालन, माछापालन र बंगुरपालन समेत गर्दछौं ।
डेरी व्यवसाय गरेको यत्तिका वर्ष भयो । यो ब्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
आफ्ना बाबुबाजेले गाई पालेर दूध तताएर पिउन दिनु भएको हिजोजस्तो लाग्छ । त्यसमा पनि सामान्य विधि प्रयोग हुन्थ्यो । पछिल्लो केही समय अघिदेखि त्यही दूधलाई उद्योग खोलेर मेसिनरीको प्रयोग गरेर सकेसम्म स्वच्छ, स्वास्थ्य र गुणस्तरीय दूध र दूधजन्य पदार्थ उपभोक्ता माझ पुर्याउन पाउँदा अत्याधिक खुशी छु ।
लकडाउन कै बीचमा उत्पादन मिति लेख्ने मेसिनमा खराबी आएकाले केही दिन समस्या भयो । मेसिन काठमाडौंमा पाइयो तर लकडाउनका कारण पसल बन्द भएकाले ल्याउन सकिएन । त्यसैले उत्पादन मिति नभाको दूध बजारमा पठाउनु पर्दा मैले ठूलो समस्या खेप्नु पर्यो । सहज असहज परिस्थितिलाई अनदेखा गरी घोच्ने, खेद्ने प्रवृति पनि देखियो । मैले आफ्नो समस्या नढाँटी बताइ रहेँ । डेरीले उत्पादन मिति तथा मूल्य नभएको दूध बेच्न पठायो भनेर तपाइँको साझमञ्चले समेत समाचार प्रकाशन गर्यो । अन्य विभिन्न सञ्चार माध्यमले समाचार बनाए, प्रकाशित प्रसारित भए । तर पछि मेसिनमा खराबी भएको प्रष्ट भयो । दूधमा कुनै कम्प्लेन रहेनछ भन्ने थाहा भएपछि अहिले सहजरुपमा चलिरहेको छ ।
अन्त्यमा केही भन्नु हुन्छ कि !
वैश्विक महामारी कोभिड १९ को कारणले सबैतिर भयावह स्थिति छ । सबै व्यवसायी एवम् नागरिकले संयमता अपनाएर अघि बढेर आफ्नो व्यवसाय सञ्चालन गरौं । विदेशिन लागेका युवालाई म के भन्न चाहन्छु भने सबै चिज विदेश होइन, विदेश जानुपर्छ तर त्यहाँ सिकेको कामलाई नेपालमा आएर गर्नु सबैभन्दा उचित हो । यसो गर्नाले देशमा नै तपाईंको पसिना बग्दछ र सम्मान पनि पाउनु हुन्छ ।
Comments