Sajhamanch Archive

७,६१५ घनमिटर ढुङ्गा हराएको होइन मेचीनगर नगरपालिकाले लिलाम गरेको

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बनाउँदा एकपटक आधिकारिक व्यक्तिहरुसँग बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । नगरपालिकाका बारेमा आएका झुठा समाचारले नगरमा क्षति पुग्ने र नगरबासीमा समेत नकारात्मक असर पर्ने भएकाले नगरपालिकासँग सम्बन्धित समाचार लेख्नु अघि नगरप्रमुख वा कसैसँग धारणा लिन उनको आग्रह छ ।

आज मंगलबार आफ्नै सभाकक्षमा पत्रकार सम्मेलन गरी पछिल्लोपटक ढुङ्गाका विषयमा अनेक कोणबाट समाचार आइरहेकोले यसमा नगरपालिकाको ध्यानाकर्षण भएपछि प्रष्ट पार्न पत्रकार भेटको आयोजना गरिएको उनको भनाई छ । नगरप्रमुख आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले पत्रकार सम्मेलनमा नगरपालिकाको संरक्षणमा रहेको ढुङ्गाका विषयमा प्रकाशित प्रसारित समाचारमा नगरपालिकाको धारणा सार्वजनिक गरेका छन् ।

मेचीनगर १ स्थित मेची नदीको तिरिङ पाटापुर क्षेत्रमा रहेका ७ हजार ६१५ घन मिटर ढुङ्गा हराएको भन्ने समाचारमा कुनै सत्यता नभएको र उक्त ढुङ्गा लिलामी सूचनाका आधारमा नगरपालिकामा राजस्व जम्मा भई बिक्री भएको उनीहरुले प्रष्ट्याएका हुन् । नगरपालिकाको जिम्मामा रहेको ढुङ्गा नहराएको बरु लिलामी गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

वर्षाका कारण खोलामा बाढी आउँदा संकलित ढुङ्गा पुरिने र बगाउने सम्भावना देखाउँदै संकलन गरिएका ढुङ्गा अन्यत्र स्थानान्तरणका लागि स्थानीय ट्याक्टर व्यवसायीहरुले जेठ ७ गते वडानम्बर १ को कार्यालयमा निवेदन दर्ता गराएका थिए । वडाध्यक्ष पासाङ्ग तामाङ्गको अध्यक्षतामा जेठ ९ गते बसेको बैठकले स्टक ढुङ्गा व्यवस्थापनका बारेमा छलफल गरी नगरकार्यपालिका र स्थानीय प्रहरीलाई जानकारी गराउने निर्णय भएको थियो ।

वडा कार्यालयसमेतको अग्रसरतामा उक्त ढुंगा खोलाले बगाउनबाट जोगाएर बिक्रीका लागि नगरपालिकाले पटक–पटक लिलाम सम्बन्धी सूचना प्रकाशित गरेको र सोहीअनुसार साउन २० गते नगरपालिकाको निर्णय अनुसार स्वीकृत भएको नगरप्रमुख आचार्यले प्रष्ट पारेका छन् । नगर कार्यपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेर विधिसम्मत लिलाम गरेको विषय जानकारी नै नभएका पत्रकारहरुले हल्लाको भरमा उक्त परिणामको ढुङ्गा हराएको भनी समाचार बनाउनु दुखद् रहेको नगरप्रमुख आचार्यको गुनासो छ ।

नगरप्रमुख आचार्यका अनुसार नगरपालिकाले कानूनी प्रक्रिया अनुसार नै ढुंगा बिक्री गरेको र विगतमा पनि ठेक्का लगाएर राजश्व असुली गरेको स्मरण गराए । नगरप्रमुख आचार्यले सो क्षेत्रमा बर्षेनी मेची नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी लुकाई छिपाई राजश्व नतिरी बिक्री हुने गरेकोमा यो वर्षदेखि नगरपालिकाले प्रक्रिया पूरा गरेर करको दायरामा ल्याएको प्रष्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *