Sajhamanch Archive

गोरु काट्ने मुख्य आरोपी ‘जमानी’मा छुटे

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । नेपालको कानूनले गाई–गोरु काट्न निषेध गरेको छ । तर हिजो गोरु काटेको अभियोगमा पक्राउ गरिएका झापा गाउँपालिका कत्लामारीका अब्दुल सलाम र ताहबुल हकलाई आज बिहानै प्रहरीले छाडिदिएको छ ।

प्रहरीले उनीहरुलाई बुधबार साँझ नियन्त्रणमा लिएर सदुरमुकाम आउँदै थिए । मुस्लिम समुदायका ती पुरुषहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयतर्फ लैजाँदै गर्दा कामाटोलीमा स्थानीयबासीले अवरोध गरे । प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भयो । सशस्त्र प्रहरीले १० राउण्ड फायर गर्यो । सोमध्ये दुईवटा गोली लागेर एकजना निर्दोषको ज्यान गयो ।

सुरक्षाकर्मी र स्थानियबीच झापा गाउँपालिका–३ कामाटोलीमा झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ३८ वर्षीय रफिकुल आलमको मृत्यु भएको हो । दिनभर सुरुङ्गामा ज्याला मजदुरी गरेर घर फर्कंदै गरेका गौहत्यामा असंलग्न झापा गाउँपालिका–३ बस्ने रसिकुलले अनाहकमा ज्यान गुमाए । झडप साम्य पार्न सशस्त्र प्रहरीले १० राउण्ड गोली चलायो ।

गोरु काट्नेलाई राति जिल्ला प्रहरी कार्यालय झापामा ल्याइयो । तर, बिहान झिसमिसेमा नै अब्दुल र ताजबुललाई जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले रिहा गर्ने आदेश दिए ।

‘झापा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधिको जिम्मा जमानीमा अभियुक्तलाई छाडेका छौं’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले भनेका छन्– ‘शान्ति, सुरक्षाको माहौल बिग्रन नदिनको लागि अहिले आरोपीलाई रिहा गरेका हौं ।’ आरोपीलाई जनप्रतिनिधिको जिम्मा जमानीमा रिहा गरे पनि कानूनी प्रक्रिया जारी रहने प्रहरीले दावी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *