नेल्टाको अनलाइन तालिममा चार पालिकाका १२ सय शिक्षक लाभान्वित
Published:
by .झापा । अंग्रेजी शिक्षकहरूको स्वयंसेवी संगठन नेल्टा झापा शाखाले लकडाउनको अवधिमा झापाका संस्थागत तथा सामुदायिक विद्यालयका करिब एक हजार दुई सयभन्दा बढी शिक्षकहरुलाई अनलाइन तालिम दिएको छ।
विद्यालयको शैक्षिक गतिविधि ठप्प भएको अवस्थामा नेल्टाले शैक्षिक गतिविधिलाई तीव्रता दिएको हो। विश्वभर नै अबको शैक्षिक गतिविधि अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने बाध्यता आएको परिवेशमा नेपालमा पनि सरकारले अनलाइन शिक्षणलाई आधिकारिक रूपमा स्वीकृति प्रदान गरिसकेको छ ।
स्थानीय तह र शिक्षा सरोकारवालाहरु मौन रहेको अवस्थामा नेल्टाले आफ्नै पहलमा झापाका चारवटा पालिकामा अनलाइन तालिम सञ्चालन गरेर शिक्षकहरुलाई प्रविधि मैत्री बनाएको अध्यक्ष धर्मेन्द्र भट्टराइले बताएका छन् । विधिलाई प्रविधिमा समायोजन गर्ने र नयाँ तरिकाले शैक्षिक गतिविधि अघि बढाउन सहयोग पुर्याउने उद्देश्यले शिक्षकलाई सबैभन्दा पहिले अनलाइन सम्बन्धी ज्ञानको प्रशिक्षण गराउने थालिएको अध्यक्ष भट्टराईको भनाई छ ।
अनलाइन तालिम मार्फत सिकेका कुराहरुलेआगमी शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। झापाको बिर्तामोड नगरपालिका, बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका र कनकाई नगरपालिकाका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएको उनले बताए ।
तालिम अत्यन्त प्रभावकारी र उपयोगी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले प्रतिक्रिया छ । तालिमले शिक्षकहरुलाई नयाँपनको अनुभूति गराएको र आगमी दिनमा आफूले पनि सोही अनुसारको शिक्षण विधि अपनाउन तयारी गरेको बिर्तामोडका नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको कथन छ ।
यस्तै झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकाल़ले अनलाइन तालिमले शिक्षकहरुलाई अबको नयाँ बाटो देखाएको जिकिर गरेका छन् । बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले चाहिँ शैक्षिक गतिविधिहरु ठप्प प्रायः रहेको अवस्थामा नेल्टाले अघि बढाएको शैक्षिक अभियानले शिक्षकहरुलाई जागरुक बनाउनुका साथै नयाँ प्रविधिसँग साक्षात्कार गराउन सफल भएको बताएका छन् ।
अंग्रेजी शिक्षकहरूको संस्था नेल्टाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई एउटै ठाउँमा एकै प्रकृतिको तालिम संचालन गरेर महत्वपूर्ण अवसर प्रदान गरेकोकोमा झापा अध्यक्ष भट्टराईले खुशी ब्यक्त गरेका छन् । शिक्षकहरूलाई प्रविधि मैत्री बनाउन सहयोग गर्नु र गुणस्तरीय शिक्षामा योगदान पुर्याउने उद्देश्यले अनलाइन तालिम सञ्चालन गरेको भट्टराईको भनाई छ।
Comments