Sajhamanch Archive

सडकभर भीड, प्रहरी रमिते, भारू बेच्न तानातान

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापामा समुदायस्तरमा कोभिड–१९ संक्रमण सुरू भएयता महामारी नियन्त्रणका लागि सरकारका विभिन्न तहले प्रहरी प्रशासनलाई सीमामा कडाइदेखि हाट, बजार तथा चौकचौकमा हुने भीड नियन्त्रणको जिम्मेवारी दिएका छन् ।

प्रदेश १ को भारतबाट नेपाल आउने पहिलो प्रवेशद्वार काँकडभिट्टा नाकामा भारतीय सीमा क्षेत्रसम्म सहज आवागमन तथा चौकचौकमा खुलेआम भारू तथा नेरूको सटही हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीकै अगाडि दर्जनभन्दा बढी महिला र केही पुरुष सडकमा नै बसेर नेपालबाट भारत जाने भारतीय नागरिक र विषेश कामले पानीट्याङ्की चेकपोष्टसम्म जाने नेपालीहरूलाई तानातान गरेर रकम साट्ने गरेको पाइएको हो । कानूनअनुसार सडकमा बसेर बिना इजाजत विदेशी मुद्रा खरिद गर्ने काम अवैध भए पनि प्रहरी प्रशासनले कारवाही गर्न नसकेको दृष्यले देखाउँथ्यो ।

नेपाल तर्फबाट निर्माणाधीन मेची पूल जोड्ने ६ लेन सडकको छेउमा पुगेका जो सुकै नागरिकलाई भारू नेरू कारोबारीहरूले घेरा हालेर खरिद बिक्री गर्दै आएका छन् । यस्ता नियम विपरित कारोबार गर्ने कारोबारीको गतिविधि प्रत्यक्षरूपमा प्रहरीले देखे पनि कुनै अवरोध गर्ने गरेको पाइएन ।

नेपालमै रहेका भारतीय तथा भारतमा काम गर्ने नेपालीहरू पानीट्यांकी नाकाबाट भारत प्रवेश गर्ने गरेका छन् । नेपाली कामदारले भारत जाँदा पिसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि नेपालका विभिन्न स्थानबाट काँकडभिट्टा नाकाको प्रयोग गरी भारत जान पाउने व्यवस्था रहेको भए पनि भारतीयको सवालमा उनीहरूको देशको परिचय पत्र भए भारत जान पाउने व्यवस्था छ । यस्ता व्यक्तिहरूले भारतीय रुपैयाँ लिने गरेका छन् । सो स्थानमा सामान्य स्वास्थ्य मापदण्डसमेत नअपनाई पैसाको कारोबार गर्ने गरेको पाइएको छ । स्वास्थ्य सावधानी बिर्सिएर कारोबारीहरू रकमको लेनदेनमा मात्र व्यस्त देखिने गरेका छन् ।

दैनिक सयभन्दा बढी मानिसको आवत जावत हुने गरेको चेकजाँचमा मेची पूलमा खटिएका सुरक्षाकर्मी असई यादव सुवेदीले बताए । औषधी लिन मेची पूलबाट भारतीय चेकपोष्टसम्म जाने र भारतबाट सामान भारतको पोष्टसम्म आउने गरेकोले कुनै पनि एउटै व्यक्ति वारपार गर्न नपाइने सुवेदीको भनाई छ ।

विषेश गरी नेपालीका लागि औषधी खरिद गर्न भारू रकम चाहिने भएकोले भिडभाड बढेको ट्राभल्स सङघ झापाका अध्यक्ष निरबहादुर कार्कीले बताए । नियम विपरीत भए पनि व्यवहारिकतामा यस्तो काम हुँदै आएको उनले जनाए । कार्कीले भिडभाडका कारण कोरोना सङ्क्रमण हुनसक्ने भन्दै सचेत भएर कारोबार गर्नुपर्ने प्रष्ट्याउँछन् ।

वर्षौदेखि झोले व्यापारीका कारण सटही काउण्टर मारमा परेको मुद्रा सटही काउण्टर व्यवसायी सङ्घका पूर्व अध्यक्ष मनोज पौडेलले बताए । प्रहरी प्रशासन, स्थानीय तह, वाणिज्य संघ, नेपाल बैङ्कलगायत निकायलाई पटक–पटक जानकारी गराउँदासमेत नियन्त्रण नभएको उनको भनाई छ । सडकमा नै रकम साट्ने भएपछि काउण्टरमा ग्राहक नआएको उनले बताए । वर्षौ देखिको यो धन्दा लकडाउनको समयमा झनै बढेर गएको उनको दाबी छ । गाडी रोकिएको स्थानमा नै रकम साट्न पाएपछि ग्राहक काउण्टरसम्म नआएको उनले बताए ।

कानून विपरीत भएपनि झोलामा बोकेर रकम साट्नु कुन अपराध अन्र्तगतको कसुर गरेको भन्ने यकिन नभएको बताउँदै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले अबैध काम गरेको पाएमा रोक्ने आश्वासन दिन्छन् । सडकमा त्यस्ता गतिविधि हुन नदिन तत्काल प्रहरी खटाएर कार्यालयमा उपस्थित गराई कारोबारीलाई क्वारेन्टिन पठाउने डिएसपी पोखरेलको भनाई छ ।

नेपालको प्रचलित कानुन अनुसार इजाजतबिना लाखौं भारतीय रूपैयाँ झोलामा बोकेर खरिद बिक्री गर्नु दण्डनीय अपराध भए पनि सरकारी संयन्त्रले नियन्त्रण गर्न नसकेको स्थानीयको भनाई छ । जानकारहरुको भनाइमा बैंकले सोझै झोले ब्यापारीलाई भारतीय रुपैयाँ दिने र कमिशन खाने गरेको तर बैंकमा जाँदा दुई हजार भन्दा बढी रकम नै नदिने वेथिति काँकरभिट्टामा मौलाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *