Sajhamanch Archive

लकडाउन अवधिमा वीर अमरसिंह माविको रुप फेरियोः छात्रालाई सेनिटरी प्याड फेर्न छुट्टै कक्ष निर्माण

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by .

बिर्तामोड । स्थानीय सरकार गठन भएपछि सामुदायिक विद्यालयहरुको स्वरूप परिवर्तन हुन थालेको छ । गरीब, निमुखा जनताका छोराछोरी अध्ययन गर्ने विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान जानु तथा शिक्षकको जिम्मेवारीपनले शिक्षा क्षेत्रमा केही सुधारका आशा गर्न थालिएको छ।

यही आशाको एउटा दियो बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालय पनि बनेको छ । जसको भौतिक र ब्यवस्थापनमा देखिएको परिवर्तनले बालबालिका र अभिभावकमा उत्साह थपिएको छ ।

गत वर्षसम्म स्कूलको खेल मैदान गौचरण थियो । कम्पाउण्ड वाल नभएकाले कक्षा सञ्चालन भइरहेको समयमा स्थानीयले गाई बस्तु चराउने, बाहिरी मानिसहरु चौरबाटै अवतजावत गर्ने, गाडी, मोटरसाइकल कुदाउने तथा छुटट्टीको समयमा सिक्नेजस्ता गतिविधि हुन्थे । जसले बालबालिकालाई खेल्ने र मनोरञ्जन गर्ने ठाउँको अभाव थियो ।

लकडाउनको समयलाई विद्यालय प्रशासनले सदुपयोग गर्दै एक बिगाहा क्षेत्रफलमा रहेको खेलमैदान घेराबारा गरिएको छ । वडा कार्यालय मार्फत नगरपालिकाले १४ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएपछि मूल गेटसहित चारवटा गेट निर्माण सम्पन्न भएको हो ।

‘घेराबारा नहुँदा चौरीमा मधु, चाउचाउ, चक्लेटका खोल भेटिन्थे । त्यहाँ हिंड्न र कुनै गतिविधि गर्न गाह्रो थियो । गाइबस्तुका गोबरमा बालबालिका चिप्लिएर लड्ने गर्थे । अहिले घाँस उम्रिएको छ, स्थानीयले काटेर पनि लौजनु हुन्छ, वातावरणमा हरियालीपन छाएको छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेल बताउँछन् । अस्तिसम्म बालबालिका असुरक्षित थिए, अहिले ब्यवस्थापन गर्न पाएकोले केही सुरक्षित हुने महसुस भएको अध्यक्ष पौडेलको विश्वास छ ।

सो विद्यालयमा बिर्तामोड नगरपालिकाको १६ लाख र आन्तरिक स्रोतबाट ८ लाख रुपैयाँको लागतमा २ कोठे आधुनिक भवन पनि निर्माण सम्पन्न भएको छ । उक्त भवनमा फराकिलो एवम् सुविधा सम्पन्न शौचालय बनाइएकाले सरसफाईमा अब थप सहज हुने विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताएका छन् ।

४०/४५ मिनेटको टिफिन समयमा एक हजारभन्दा बढी विद्यार्थीलाई सानो शौचालय प्रयोगमा समस्या हुने गरेकाले नयाँ निर्माण गरिएको प्रधानाध्यापक अधिकारीको भनाई छ । उनका अनुसार रजस्वला भएको समयमा छात्राहरुलाई सेनेटरी प्याड फेर्न समेत गाह्रो थियो, अब उनीहरुका लागि विशेष कक्ष निर्माणको कार्य भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेल भन्छन् ‘बालबालिका पढ्ने विद्यालय बालमैत्री हुनुपर्छ, त्यस्तो बनाउने अभियानमा हामी लागेका छौँ ।’ प्रत्येक कक्षा कोठाको पहुँचमा खानेपानीको धारा, पंखा र आवश्यक बस्तु राख्ने व्यवस्था मिलाइएकोले विद्यालय क्षेत्रलाई राजनीतिभन्दा टादा राखेर सबैले एकजुट भएमा शैक्षिक गुणस्तर कायम गर्न सकिने उनको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *