सहकारीलाई आरएमडिसीको थोक कर्जा : ८ दशमलव ७५ प्रतिशत ब्याज दर
Published:
by .सुनसरी । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ नामको सहुलियत ऋणको सुरुवात गरेको छ । मुलतः सहकारी संघ–संस्थामा विद्यमान तरलता अभावलाई सम्बोधन गर्ने गरी वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा थोक कर्जा प्रवाह गर्न लागिएको हो ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. इटहरी शाखाका प्रबन्धक गोविन्दप्रसाद पौडेलले जारी गरेको सूचनामा कोभिड–१९ का कारण लघुवित्त तथा सहकारी संस्थाहरुमा आवद्ध ग्राहक र सदस्यहरुलाई सहजता प्रदान गर्न वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याज दरमा थोक कर्जा प्रवाह गरिने उल्लेख छ ।
ऋणको भुक्तानी अवधि ३ वर्ष भएको तथा शुरुका ६ महिनासम्म ब्याजमात्र भुक्तानी गर्न मिल्ने र बाँकी ३० महिनामा साँवा र ब्याज त्रैमासिक किस्तामा भुक्तानी गर्न सक्नेगरी नयाँ प्रोडक्ट ल्याइएको शाखा प्रबन्धक पौडेलले जनाएका छन् ।
थोक सहुलियत ऋण लिन शून्य दशमलव ५० प्रतिशतमात्र एकपटक सेवाशुल्क लिइनेछ । आरएमडीसी लघुवित्त वित्तीय संस्था राष्ट्र बैंकबाट इजाजत प्राप्त “घ” वर्गको थोककर्जा प्रदायक संस्था हो ।
विगत २२ वर्षदेखि सो संस्थाले लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई थोककर्जा उपलब्ध गराउनुका साथै संस्थागत विकासका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ ।
Comments