सब्जीको बजारभाउ आकाशियो, कसले ल्याउने सन्तुलनमा !
Published:
by .झापा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइसरले विश्वमा लाखौंको ज्यान लिइसकेको छ । नेपालमा पनि तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
यस्तो माहामारीको बेलामा सबैको आम्दानी खुम्चिइरहेको छ । यस्तो सँकटको घडीमा महंगीले झनै समस्या पारिरहेको छ । एकातिर कोरोना अर्काेतिर महँगीको सास्ती । अझ दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिले हरेक परिवारको भान्सा प्रभावित भएको छ ।
आर्थिक अवस्था राम्रो भएकाहरुलाई त के महँगो, के सस्तो ! केही फरक नपर्ला । जसले दैनिक ज्याला मजदूरी गरेर आफ्नो दैनिकी गुजारिरहेको छ, उसलाई जति पीडा सायद अरुलाई थाहा नहोला । त्यसमाथि कोरोना कहरका कारण रोजगारी गुमाउनुको पीडा, परिवार पाल्नु पर्ने जिम्मेवारी पनि छँदैछ ।
अरु बेलाभन्दा वर्षात्को समयमा दैनिक प्रयोग हुने उपभोग्य वस्तुको मूल्य वर्षेनी बढेकै हुन्छ । यसवर्ष कोरोना कहरका कारण छिमेकी देशबाट आयातमा कमी आउँदा अझ छोइनसक्ने गरी भाउ बढेको हो । बिचौलियाका कारण उत्पादकले कहिले तरकारीको उचित मूल्य पाउँदैन । तर उपभोक्ताको भान्सा दिनहुँजस्तै गरी महंगिएको छ । आवश्यकता अनुसार उत्पादन नभएपछि तरकारीको मूल्य आकासिएको बिक्रेताहरुको दाबी छ ।
लकडाउन खुलेपछि तरकारीको भाउ ह्वातै बढेको अर्जुनधारा ६ का तरकारी व्यपारी यादव निरौलाले बताएका छन् । उत्पादनमा कमी हुनुका साथै सीमानाका बन्द गरिएकाले भारतबाट पनि आउन सकेको छैन । पानी झरीले उत्पादन गर्न नसक्नु, किसानले समयमा नै रसायनिक मल तथा उन्नत जातको बिऊ विजन नपाउनुजस्ता समस्याका कारणले पनि अहिले बजार भाउ आकाशिएको जानकारहरु बताउँछन् ।
अघिल्लो वर्षको यो सिजनमा सिम्ला मिर्ची सामान्यतया ३० देखि ४० रुपैयाँमा २५० ग्राम पाइन्थ्यो भने अहिले १०० रुपैयाँ पर्दछ । तरकारीमा अभिन्न रहने आलुको भाउ बजारमा १०० रुपैयाँ केजी पुगेको छ भने हरियो इस्कुस ८० रुपैयाँ प्रतिकेजी छ । अघिल्लो वर्ष आलु ५० कटेको थिइन भने इस्कुस ३० रुपैयाँमा पाइन्थ्यो । तरकारी व्यवसायी निरौला भन्छन्, ‘आउँदो दशैँ तिहारसम्म केही केहीमा बाहेक सबै तरकारीको मूल्य यस्तै रहन्छ । त्यसपछि मात्र भाउ घट्दै जाने सम्भावना छ ।’
मेचीनगरको काँकरभिट्टाका तरकारी व्यपारी सुरेश कार्की नेपालमा उत्पादनमा कमी भएका कारण भाउ आकासिएको बताउँछन् । भारतबाट लुकाई छिपाई तरकारी आइरहेको छ । तरकारीको भाउ बढ्नाले आफूहरुको व्यपारमा पनि ठूलो असर परेको कार्कीको भनाई छ ।
‘उपभोक्तताहरु आउनु हुन्छ, भाउ सोध्नु हुन्छ । पहिले तीन चार केजी लैजानेहरु पनि एक केजीमात्र किन्नु हुन्छ । कतिपय त भाउ सुनेरै यसै जानु हुन्छ । अनि त महंगोमा किनेको तरकारी बिक्री हुनाको साटो यसै रहन्छ र बिग्रिन्छ’ व्यवसायी कार्कीले प्रष्ट पारे ।
तरकारीको भाउ अचाक्ली बढ्नुमा बिर्तामोडकी व्यापारी भावना भट्टराईको तर्क अर्कै छ । ‘पानी बेलैदेखि पर्यो, धरान र पहाडी क्षेत्रबाट आउनुपर्ने तरकारी भनेजति आउन पाएन अनि भाउ बढेको हो’ भट्टराई सुनाउँछिन् । तरकारीको गाडी भएका मान्छेहरुले मात्र बजार ल्याएर बेच्ने अवस्था आयो । गाडी बन्द भएकाले गाउँमा थारैथारै उत्पादन भएका तरकारीहरु बजार ल्याएर बेच्ने सुविधा नभएको कारण पनि बजार महंगिएको उनको भनाई छ ।
भावना भन्छिन्, ‘यसपालि प्याजको भाउ मात्रै यथावत छ । महंगीले व्यापारमा असर परेको छ, पहिला खर्च कटाएर दिनको एक हजार बच्थ्यो, अहिले भाडा र खाजा खर्च पुर्याउनै मस्किल छ ।’ हरेक परिवारका भान्सामा दैनिक प्रयोग हुने सागसब्जी, तरकारी र फलफूलको मूल्य वृद्धि भएपछि उपभोक्तलाई धेरै नै सताएको छ । बजारमा उपलब्ध भएका अधिकांश तरकारीको भाउ किलोको सय रुपैँयाभन्दा बढी नै छ ।
झोला बोकेर कृषिथोक बजार पुगेकी बिर्तामोड ६ की कल्पना रिजाल भन्छिन् ‘अलि सस्तो पाइन्छ कि भनेर सबैतिर घुमिसके उस्तै छ । आम्दानी छैन । काम गर्ने ठाउँमा पैसा बढ्दैन तरकारीको भाउ छोइनसक्नुको छ ।’ ‘पहिला ५ सय रुपैयाँको सागसब्जीले हाम्रो परिवारलाई लगभग एक हप्ता पुग्थ्यो, अहिले ३ दिन पनि पुग्दैन । थोरै आय भएका हामीजस्तो परिवारलाई किनेर खान र बाँच्न नै गाह्रो भएको छ’ अर्की गृहिणी बिर्तामोडकी रचना मगरले गुनासो पोखिन् ।
अर्की गृहिणी अर्जुधाराकी रविना सिटौलाको भनाई यस्तो छः तरकारीको भाउ बढेको बढ्यै छ । हामी उपभोक्तलाई मात्र होइन वास्तविक किसानलाई गाह्रो छ । हामीले खान पाएका छैनौं, उनीहरुले उब्जनी बेच्न पाएका छैनन् । बिचौलिया ब्यापारीहरुलाई मालामाल छ, अभावको बहानामा मूल्य बढाएर बेच्न पाएका छन् ।’
देशभर स्थानीय तहले सरकार चलाउन थालेपछि तिनका कृषि शाखाले किसानको लागि केही रचनात्मक काम गर्लान् भन्ने सबैको अपेक्षा थियो । किसानलाई कृषि प्राविधिक सेवा दिने, उत्पादनका लागि तालिम र सीप प्रवाह गर्ने अपेक्षा थियो । उन्नत जातको विऊ विजन पाउने, मलखादको उचित प्रबन्ध होला भन्ठानेका थिए, तर सबै उल्टो भएको छ ।
लकडाउनको अवधिमा किसानले उत्पादन गरेका सागसब्जी बिक्री गर्ने अवसर नपाएर करोडौंको क्षति भयो । प्रदेश १ सरकारले ती पिडीत किसानका लागि राहत दिने घोषणा गर्यो तर अबदेखि कृषि उपज किन्ने व्यवस्थापनका लागि आजसम्म पहल गरेको छैन । बजार भाऊ आकासिएको छ । किसानका बारीमा उब्जिएको बस्तु बजार लैजान पाइन्न, के नमिलेर हो, यहाँको उत्पादनले बजार पाउँदैन । तर बजारमा सब्जीको हाहाकार नै हुन्छ किन ? यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।
Comments