झापाको धौलागिरी पारिजात सहकारी : सेवा केन्द्र थप्दै, सहकारी पसल खोल्दै
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हालसालै दुई ठाउँमा सेवा केन्द्र विस्तार गरेको छ ।
बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाको बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकामा कार्यक्षेत्र रहेको संस्था २०६४ सालमा स्थापना भएको हो । २०७२ सालमा धौलागिरी साकोस र पारिजात सहकारी संस्था लि. साविक गोलधाप ४ झापाबीच एकीकरण गरिए पछि संस्था थप क्षमतावान बनेको थियो ।
सो संस्थाले हालै बुद्धशान्ति गाउँपालिकाको बुधबारे र अर्जुनधारा नगरपालिका ६ लक्ष्मीपुरमा सेवा केन्द्र विस्तार गरेको हो । यसअघि संस्थाले बुद्धशान्ति गाउँपालिकाको जयपुरमा आफ्नै पहलमा सेवा केन्द्र सुरु गरेको थियो भने गोलधापमा पारिजातसँग एकीकरण गरी सेवा केन्द्र थप गरेको थियो ।
जिल्लाको उत्कृष्ट सहकारी संस्थाको सूचिमा रहेको धौलागिरी पारिजातले कोभिड–१९ को संक्रमणका त्रासले भइरहेको लामो लकडाउनका बीचमा सदस्यहरुलाई थप सेवा प्रवाह गर्न दुई ठाउँमा शाखा विस्तार गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिएका छन् । अहिले दुवै सेवा केन्द्रबाट सम्पूर्ण वित्तीय कारोबार भइरहेको छ ।
संस्थाका व्यवस्थापक राजेश दाहालले बताएअनुसार लक्ष्मीपुर सेवा केन्द्रको नेतृत्व कोपिला चौहान पौडेलले र बुधबारे सेवा केन्द्रको नेतृत्व गायत्री भट्टराईले गर्नेछन् । अब संस्थाका ४ स्थानमा सेवा केन्द्र र बिर्तामोड मुख्य कार्यालयबाट सदस्य सेवा प्रवाह हुनेछ ।
संस्थाले यसै आर्थिक वर्षदेखि बिर्तामोड, जयपुर, गोलधाप लगायत पायक पर्ने स्थानमा सहकारी पसल सञ्चालन गर्ने महत्वाकांक्षी लक्ष्य बनाएको अध्यक्ष पौडेलले बताएका छन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज ढकालका अनुसार संस्थाले गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तमा २३ करोड ३९ लाख ८५ हजार ४२० रुपैयाँको वासलात बनाएको छ । संस्थामा चार हजार ८१४ जना शेयर सदस्यहरु रहेका छन् भने २ करोड ९० लाख ९८ हजार ८०० रुपैयाँ शेयरपूँजी संकलन भएको छ ।
संस्थाले सदस्यहरुसँगको वित्तीय कारोबार गर्दा १३ करोड ७९ लाख २९ हजार ९२३ रुपैयाँ निक्षेप जम्मा भएको छ र सदस्यहरुमाझ १५ करोड ३४ लाख ३२ हजार ६४४ रुपैयाँ कर्जा लगानी गरिएको सिइओ ढकालले बताएका छन् । संस्थामा एक करोड ३७ लाख २७ हजार ५०३ रुपैयाँको कोष बनाइएको छ । गत आर्थिक वर्षमा धौलागिरी बहुउद्देश्यीय सहकारीले २५ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत तथ्याङ्क छ ।
Comments