एनएमसी कृषिफर्मले सिकाएको अनुभव र अबको बाटो
Published:
by .नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी)ले तेस्रो व्यवसायको रुपमा एनएमसी कृषि फर्मको शुरुवात गरेको छ । अहिलेसम्ममा करिव १६ विगाहा जमिन खरिद गरेर शुरु गरिएको कृषिकर्मले केही अनुभवहरु दिएको छ । जमिनको खरिदको शुरुवात २०७५ सालबाट भएको थियो । शुरुमा करिव १२ विगाहा जमिन खरिद गरेर काम शुरु गरेका थियौं ।
एनएमसीले कृषिफर्म किन शुरु गरेको हो भन्ने बारेमा यस अघि पनि धेरैवटा सामग्री पस्किइसकेको छु । यद्यपि एक वाक्यमा भन्नु पर्दाः कृषि उत्पादनको बजार छ तर बिक्री हुँदैन, सरकार किसानलाई सहयोग गर्न चाहन्छ तर ठाउँमा पुग्दैन, सोचेको नतिजा आउँदैन, सबै अनुकुलता भएर पनि किन किसानको हित हुन सकेन, किन किसानले उत्पादन गरेका बस्तुले बजार पाएन, के एनएमसीले यो विषयमा काम गरेर सबैका लागि उदाहरण पेश गर्न सक्छ ? यो प्रश्नले हामीलाई कृषिमा अब सहकारीले अझ हामीले नै केही गर्नुपर्छ भनेर काम शुरु गरेका हौं ।
यो लेखमा यो छोटो अवधिमा हामीले यहाँबाट के सिक्यौं ? के हामीले सोचेकोजस्तै हुनसक्छ ? एनएमसीले लिएको उद्देश्य पूरा गर्न यो कृषि फर्मले सहयोग पुर्याउँछ ? यसबारेमा यो अवधिमा हामीले गरेको, सिकेको, भोगेको सिकाईबाट आर्जन गरेको ज्ञान, अनुभव र अनुभूतिका आधारमा अगाडिको बाटो तय गर्न सकिने भएको छ ।
हामी जुन प्रकारको कृषि कर्म गरेर उत्पादन र सिकाईलाई सदस्य एवम् समाजमा चिनाउन चाहान्थ्यौं, त्यसका लागि यो जमिन धेरै उपयुक्त थिएन । तर झण्डै दुईवर्ष अघिदेखिको जमिन खोज्ने कार्यले हामीलाई भनजस्तो जमिन, उपयुक्त स्थान र मूल्यको सन्तुलन मिलाउन सहज भएको थिएन । त्यसैले यो जमिन केही होचो भागमा रहेको र वर्षामा पानीको प्रकोप अलि बढी नै हुने भए पनि लिने निस्कर्षमा पुगेका थियौं । अबको बाटो यो जमिनलाई सकेसम्म सुधार गर्ने र हामीले चाहेको र जमिनले मागेको खेतीलाई अगाडि बढाउनु थियो ।
२०७४ सालको कात्तिकतिरै सो जमिन खरिद गर्ने निर्णयमा पुगे पनि जग्गा पास गरेर स्वामित्व ग्रहण गर्न सरकारी नीतिका कारण केही असजिलो हुन गयो र सबै प्रकृया मिलाएर जग्गा पास गरेर लिन २०७५ असारको अन्त्यसम्मै लाग्यो । वर्षाको मौसमका कारण कार्तिकसम्म यहाँ गएर केही गर्न सकिने अवस्था थिएन । कार्तिकमा साधारण कार्यालय स्थापना गरियो ।
मंसीरबाट जग्गा यकिन गर्ने र घेराबारा लगाउने काम शुरु गरियो । कृषि फर्ममा आन्तरिक बाटो, नाला बनाउने, गाईगोठ निर्माणका लागि बेस बनाउने, अलि गहिरो स्थानमा माछा पोखरी खन्ने र त्यहाँको माटो निकालेर अन्यत्र पुर्ने, दुई कठ्ठा जमिनमा कुरिलो रोप्ने, कुरिलो र करेलाको बेर्ना उत्पादन गरेर बिक्री गर्ने र केही करेला खेतीको काम यो अवधिमा भयो ।
असार लागेपछि गरेका काम अधुरै छोडेर पर्खनु पर्ने अवस्था आयो । पानी पर्न थालेपछि खेतमा पुग्न सकिने अवस्था भएन । साउन, भदौ, असोजसम्म खासै केही काम गर्न सकिएन । वर्षाको पानीले खेत डुबाएको देख्दा बेलाबेला मन खिन्न हुन्थ्यो । कात्तिक–मंसीरमा धान काट्ने सिजन हो । यसमा हामीले धान काटने हाते रिपर किनेर किसानलाई भाडामा दिन शुरु गर्यौं । दक्ष जनशक्तिको अभावमा त्यति राम्रो त गर्न सकिएन । तर गर्दै नगरी सिक्ने सिकाउने कुरै हुँदैनथ्यो । मेसिन चलाउन केही मानिसलाई तयार गर्यौं । जसोतसो काम चल्यो ।
२०७५ जेठमा एउटा माछा पोखरी तयार गरिएको थियो । अर्को खनी नसकी पानी भरिएर अधुरै छाडिएको थियो । कात्तिकमा तयार भएको पोखरीमा माछाका भूरा छाडिए । मंसीरदेखि नै जमिन तयारी गर्ने र हिउँदे तरकारीमा टमाटर, कोवी, बन्दा, काउली, इस्क्वास फर्सी, फर्सी, रायो साग, पोथ्रे बोडी, मिटर बोडी, काँक्रा, करेला, लौका, घिरौंला, झिंगनी, भिण्डी, प्याज, खरबुजा, नेपियर घाँस आदि लगाउने काम गरियो । यो हाम्रो पहिलो सिकाई थियो । खाली भएको जमिनमा मकै खेती गरियो ।
बाली लगाउने कामका लागि अनुभवी मानिस थिएनन् । एकजना युवालाई जेटीए कर्मचारीका रुपमा नियुक्त गरियो । उनीसँगै अरु दुईजना सहयोगी राखियो । अलिपछि एकजना ट्याक्टर चालकको नियुक्ती गरियो । जेटीएको मातहतमा अरु कृषि पढ्दै गरेका तीनजना भाइहरुले काम गरे । अरु ज्यालादारीमा काम गर्ने मानिस लगायौं । प्रशासनिक प्रमुखको जिम्मा एनएमसीका सिनियर कर्मचारी भूपाल गौतमलाई दिइयो । कृषि व्यवसाय समितिको नेतृत्वमा एनएमसीका पूर्व सञ्चालक केशवप्रसाद पोखरेल तथा सदस्यहरुमा चन्द्र सिग्देल र गंगा भूजेल रहेको समिति बन्यो । समितिको बैठकमा आवश्यकता अनुसार म, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, सञ्चालक सदस्य माधव प्याकुरेल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती सहभागी हुने गरेका थियौं ।
बाली बिरुवा र खेतीको कामसँगै तरकारीका बेर्ना बनाउने कामले निरन्तरता पाएको छ । तरकारी उत्पादनसँगै तरकारीका बेर्ना बेच्ने काम निरन्तर चलिरहेको छ । यो समयमा कुरिलोका बेर्ना निकै धेरै बेच्यौं । कुरिलोको बिरुवा बजारमा प्रतिगोटा २० रुपैयाँ थियो र छ । तर एनएमसीले उत्पादन गरेको क्रिलोको बेर्ना प्रतिगोटा १० रुपैयाँमा उपलब्ध गराउँदै आएका छौं । एनएमसीको उद्देश्य तत्कालै नाफा खोज्ने होइन, चलन चलाउने हो । त्यसैले मानिसले बिरुवा लगेर रोपे भने केही त उत्पादन हुन्छ । हराउँदै गरेको तरकारीको उत्पादनलाई घरघरमा फेरि जगाउन सकिन्छ भन्ने हो ।
बाली बिरुवा सँगसँगै जमिनमा बाटो, नाला बनाउने, अधुरो रहेको माछा पोखरीको काम पूरा गर्ने, नयाँ पोखरी खन्ने, गाईगोठको काम पूरा गर्ने, साइलेजका लागि पिट बनाउने, कार्यालय घर र आवासका लागि कोठा निर्माण गर्ने, स्टोर बनाउने, बाटोहरुको स्तरोन्नति गर्ने, स्थायी फलफूलका बिरुवा लगाउने, शौचालयहरुको निर्माण, सिचाईका लागि बोरिङ, ट्युवेल, तरकारीका लागि टनेल बनाउने आदि थुप्रै काम भइरहेको छ । काममा निकै प्रगति भएको छ । गएको वर्ष वर्षाको समयमा जानै नसकिने त्यो ठाउँमा अहिले सबै दिन काम गर्न सकिने अवस्था भएको छ । यो वर्षको काम, सिकाई र अनुभवबाट आगामी दिनमा अभैm धेरै गर्न सकिने भएको छ ।
यसपटक खट्केको कुरा के रह्यो भने हिउँदको समयमा यहाँ तरकारी उत्पादन गर्न कुनै समस्या भएन, देखिएन । तर वर्षाको समयमा तरकारी उत्पादन गर्न लगभग नसकिने देखियो । जति गरे पनि धेरै भागमा पानीको डुवान हुने समस्या देखियो । वर्षामा तरकारी उत्पादन गर्न सकिने र बजार मूल्य पनि उच्च रहने रहेछ । यो अनुभव भयो । त्यसैले यो वर्ष अलि उँचो र पानी नजम्ने, सजिलै पानी कटाउन मिल्ने जमिन भाडामा लिने र हिउँद वर्षै तरकारी उत्पादन गर्न सकिने विश्वास पलाएको छ । यस्तो जमिनको खोजी शुरु गरिएको छ ।
एनएमसी नमूना कृषि फर्मको विशेषता भनेको रसायनिक मल र रसायनिक विषादी प्रयोग नगर्ने बरु थोरै उत्पादन गर्ने, नाफाका लागि धैर्य गर्ने, पर्खने सोचाईमा छौं । त्यसैले प्राङ्गारिक मल बनाउन चाहिने सामग्री जुटाएर यस्तो मल बनाउने र प्रयोग गर्ने गरेका छौं । गाईपालन शुरु भएपछि यस्तो मल बनाउन अरु सहज हुने अनुमान गरेका छौं । गोबर, गहुँत र खेरजाने झारपातलाई प्राङ्गारिक मलको कच्चा स्रोतको रुपमा लिनेछौं ।
कृषि नाफाको व्यापार बन्न सक्छ भन्ने विश्वास बढेको छ । यो वर्ष हामीले यहाँ जति पनि बाली लगायौं, यो पहिलो खेती हो । नयाँ अनुभव हो । अनुभव नै नभएका मानिसबाट गरिएको र गराएको खेती हो । जमिन उपयुक्त थिएन, छैन र बनाउँदै छौं । तर, जति उत्पादन भयो त्यो सोचेभन्दा राम्रो भएको छ । अनुभवले विश्वास बढाएको छ । तरकारी उत्पादन गरेर मज्जाले फाइदा गर्न सकिन्छ । यसका लागि अलिकति सीप र जाँगर चाहिन्छ । उत्पादन भएपछि बिक्रीको व्यवस्था सहज हुनुपर्छ ।
एनएमसीले उत्पादन गरेको तरकारी बेच्न कुनै कठिनाई महसुस गर्नु परेको छैन । यहाँ विषादीको प्रयोग नगरेको थाहा पाउने उपभोक्ता धाएरै कृषिफर्ममा सब्जी लिन आउने गरेका छन् । सोधखोज गर्ने गरेका छन् । जे छ त्यो लिएर जाने गरेका छन् । बजारमा पनि एनएमसीको उत्पादन भनेपछि सदस्यले आफ्नै ठानेर किनिदिने गरेका छन् । एकैपटक धेरै लौका, करेला, काँक्रा फलाएको समयमा भने बजारमा पठाउनु परेको थियो । यो बीचमा कोभिड–१९ का कारण लकडाउन परेकाले पनि बिक्रीमा केही सहज भएको छ । भारतीय तरकारीको आपूर्ति केही कठिन भएकाले स्थानीय उत्पादनले बजार पाउन सहज भएको फाइदा पनि एनएमसी कृषिफर्मलाई भयो ।
सबैभन्दा महत्वपूर्ण सिकाई भनेको थोरैथोरै जमिनमा लगाएको पहिलो तरकारी बालीहरु लगभग सबैले फाइदा दिएका छन् । यस्ता बालीले लगाएको छोटो अवधि (करिव ३ महिना)मा नै बाली उठाएर फाइदा लिन सकिने र पुनः अर्को बाली लगाउन सकिने हुँदा जमिनको सदुपयोग गरे आम्दानी राम्रै हुने विश्वास पलाएको छ । यो कृषिफर्ममा हामीले धेरै फाइदा लिन सकेका छैनौं । यसको कारण भनेको पहिलो सिकाई हो । भने जत्तिकै राम्रो गर्न सकिएको छैन, प्रशासनिक खर्च र ज्याला खर्च अलि बढी नै हुनेहुँदा लागत बढी देखिन्छ । तर जुन किसानले आफैं खेतबारीमा काम गर्छन्, विधि प्रविधि सिकेर काम गर्छन् उनीहरुको खर्च भनेको मल, बिउ लगायतका अरु साधारण खर्च बाहेक आएको सबै आम्दानी हो । यसरी काम गर्ने किसान सधैं फाइदामा हुन्छन् भन्ने विश्वास पलाएको छ ।
किसानलाई व्यवहारिक तालिम, प्रविधिको जानकारी, सिचाईंको व्यवस्था, बाली लगाउन चाहिने आर्थिक सपोर्ट, उपयुक्त बिऊ बिजनको छनोट र सहज आपूर्ति, मलको उपलव्धता, बालीमा लाग्ने रोगको जानकारी र उपचारको विधि, माटोको परीक्षण र उपचार, उत्पादित तरकारी फलफूलको बजारको निश्चिता । यतिभए कुनै किसान घाटामा जाने होइन, थोरै जमिनमा पनि मौषमी बेमौषमी तरकारी र फलफूल लगाएर राम्ररी आम्दानी गर्न सक्छन् भन्ने विश्वास मात्रै होइन, दृढ विश्वास पलाएको छ ।
एनएमसीले यहाँ प्रयोगात्मक खेती गर्ने, सिक्ने, सिकाउने र उत्पादन सँगसगै गर्नेछ । यहाँ सिकेको अनुभव र सीपलाई इच्छुक र जाँगरिला किसान सदस्यलाई हस्तान्तरण गर्ने प्रयास निरन्तर गरिनेछ । त्यस्ता किसानको समूह बनाउने आवश्यक सबै प्रकारको इन्पुट सहयोग गर्ने र यस्ता किसानको उत्पादनलाई खरिद गरेर बजारसम्म पुर्याउने काम एनएमसीले गर्नेछ ।
अहिलेसम्मको अनुभवको आधारमा अब एनएमसीले छिट्टै तरकारी फलफूलको आयु लामो बनाउने गरी उपयुक्त कोल्ड स्टोरको व्यवस्था गर्नुपर्ने देखिएको छ । यस्तो कोल्डरुमको व्यवस्था भएपछि एनएमसीले प्रवर्धन गरेका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल नियमित खरिद गरी स्टोर गर्न र बजारको माग अनुसार उपलव्ध गराउन सहज हुनेछ । बजारमा गुणस्तर र स्थानीय उत्पादनको भन्दा नाफाको खोजी धेरै हुने चरित्र भएकाले एनएमसीले आफ्ना बिक्री कक्षहरुको स्थापना गर्ने र यस्तो संख्या बढाउदै लैजानु पर्छ । सदस्य र उपभोक्तालाई यस्ता उत्पादन प्रति आकर्षण गर्न अभियान नै चलाउनु पर्छ । यो काम निरन्तर गरिनेछ ।
Comments