संक्रमण आशंकित क्षेत्रमा शिवसताक्षी नगरपालिकाले गर्यो सेनिटाइज
Published: (Updated: )
by .शिवसताक्षी । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारका घरहरुमा ‘सेनिटाइज’ गरिएको छ । होम आइसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितको घर र उनीहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते देखि वडाले बजार क्षेत्र सिल गरेको थियो । बुधबार संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि शिवगञ्ज बजारको जनजीवन सामान्य बनेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको खवर शिवगञ्ज बजारमा एकै छिनमा सनसनी भएको थियो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना संक्रमित क्षेत्रका स्थानीयसँग भेट गरेर वस्तुस्थिति बुझेका थिए । नगरप्रमुख शेर्माले उनीहरुलाई नआत्तिन सल्लाह दिएका थिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का सदस्य लक्ष्मी गुरागाईले भने ‘मेयरसाब बिहान आउनु भयो र दिउँसो संक्रमितहरुको घरमा सेनिटाइज गर्ने निर्णय भएको हो ।’
दुःखीलाई राहत
नगरप्रमुख शेर्माले शिवगञ्ज बजार क्षेत्रका संक्रमित र अति विपन्न वर्गका स्थानीयसँग भेट गरेपछि दिउँसो शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, प्रवक्ता नविन ईजम, क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठ, नगर सदस्य राम नरेश शर्मा, वडा नम्बर ६ का सदस्य लक्ष्मी गुरागाई, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली, दूधे आयुर्वेद औषधालयका प्रमुख शिवसताक्षी उध्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली र नगरका स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरी नेतृत्वका टोली र नेकपाका स्थानीय नेता सिताराम भेटवालले विपन्नलाई राहत दिएका थिए । २० किलोग्राम चामल, १ किलोग्राम नून, १ किलोग्राम दाल, १ लिटर खानेतेल र हातधुने साबुन राहत प्रदान गरेका हुन् ।
संक्रमित सुत्केरीलाई घ्यू
शिवसताक्षी नगरका उपप्रमुख भोजकुमारी नेपालले कोरोना संक्रमित एक सुत्केरी महिलालाई घ्यू र हर्लिक्स प्रदान गरेकी छन् । वडा नम्बर ५ स्थित संक्रमित महिलाको घरैमा पुगेर उपप्रमुख नेपाल लगायत क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठले संक्रमित सुत्केरीलाई भेटेर सुत्केरी पोषणयुक्त सामग्री प्रदान गरेका हुन् ।
उनीहरुले संक्रमित महिलालाई बेचैन नहुन र आत्मबल दह्रो बनाउन सुझाए । सुत्केरी महिलाका अनुसार कोरोनाको कुनै लक्षण नभएकोले रिपोर्टमा शंका लागेको उपप्रमुख नेपाललाई प्रतिक्रिया दिइन् । सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्य सामग्री वितरण
कोरोना संक्रमित र उनका एकाघर परिवारका सदस्यलाई नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । दूधेस्थित आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोख्रेल र शिवसताक्षी नगरको स्वास्थ्य शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीका अनुसार संक्रमित र उनका परिवारलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने अश्वगन्धा पाउडर, माइरोजील सिरप, माक्स, सेनिटाइजर, गुर्जो र ग्लोब्स वितरण गरिएको हो ।
Comments