Sajhamanch Archive

मेचीपारिका नेपालीको सकस घट्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । वर्षातमा नेपाल आउन सकस खपिरहेका भद्रपुर ३ मेचीपारी गाउँका बासिन्दालाई यसवर्षबाट आवत जावतमा केही सहजता हुन थालेको छ । दशकौंको प्रतिक्षापछि मेची नदीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पूलले आफ्नै देशका गाउँ बस्ती आवत जावतमा केही सहजता भएको हो ।

तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत दुई करोड ८५ लाख ९८ हजार २५९ रुपैयाँमा २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी निर्माण थालिएको पूल निर्माण सम्पन्न हुन ५ वर्ष पर्खनु परेको थियो । २८० मिटर लाम्बाई र लठ्ठा सहितको दूरी नाप्दा १३ मिटर चौडाइ भएको झोलुङ्गे पूलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी काम थालिएको भए पनि निर्माण कम्पनीले तोकिएभन्दा ४ वर्ष पछाडि काम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मेची नदीको झोलुङ्गे पूलको निर्माण पहल गरी शिलान्याससमेत गराएका थिए । नेता सिटौलाले २०७२ असोज ११ गते पूलको शिलान्यास गर्दै पूल बनेपछि मेचीपारिका नेपाली बस्तीको दीर्घकालीन समस्या सँधैका लागि समाधान हुने विश्वास व्यक्त गरेका थिए । तर पूल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयलाई दुःख बिरामी पर्दा पूलको औचित्य माथि नै प्रश्न उठ्ने अवस्था पो आएको छ ।

स्थानीय धिरेन राजवंशीका भनाइमा विरामीलाई लिन एम्बुलेन्स आउनु परे पूलको उपयोग हुन सक्दैन । मोटरसाइकल समेत सजिलै वारपार गर्न सक्ने अवस्था छैन । तर पनि भारतीय सीमावर्ती बजारमा निर्भर मेचीपारिका नेपाली जनता झोलुङ्गे पूल बनेपछि आर्थिक विकासको पाटो खुल्दै जानेछ भन्नेमा आशावादी छन् ।

बर्खाको तीन महिना भद्रपुर नगरपालिकाको कार्यालय, आफ्नो वडा कार्यालय वा अन्य कुनै सरकारी कार्यालयबाट सेवा सुविधा लिनुपर्दा, छोराछोरीलाई विद्यालय तथा कलेज पढ्न पठाउँदा डुंगा चढेर ज्यान जोखिम मोलेर जानुपर्ने बाध्यता भने अब पूर्णरूपमा हटेको स्थानीयको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *